ललितपुर। सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलका अनुसार उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय भएको छ ।

गत वर्ष सरकारले कटौती गरेको उखुको प्रतिक्विन्टल ३५ रुपैयाँ भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म किसानले त्यो रकम पाउन सकेका छैनन् । किसानले ६ सय ५५ रुपैयाँ लागतमा उखु खेती गर्दा ६ सय २० रुपैयाँ प्रतिक्विन्टल मूल्य पाएको गुनासो गर्दै आएका थिए । तर, सरकारले अहिले पनि पुरानै भाउ निर्धारण गरेको छ ।

९ मंसिरमा कृषिमन्त्री डा. मदन परियारलाई किसानले १३ मंसिरभित्र उखुको मूल्य तोक्न अल्टिमेटम दिएका थिए । सोही अल्टिमेटम लगत्तै किसान र मन्त्रालयबीच वार्ता भएको थियो ।

विगतमा सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले उखु खेतीमा अनुदान दिँदै आएको थियो । तर, खर्च अभाव कारण देखाउँदै सरकारले दिँदै आएको अनुदानमा ५० प्रतिशतले कटौती गरेको थियो । किसानले कटौती गरिएको उक्त अनुदान रकम उपलब्ध गराउनुपर्ने माग राख्दै निरन्तर आन्दोलन गर्दै आएका छन् ।

सरकारले उखुको समर्थन मूल्य २०८०–८१ मा ६ सय ३५, २०७९–८० मा ६ सय १०, २०७८–७९ मा ५ सय ९० रुपैयाँ तोकेको थियो । कृषि मन्त्रालयका अनुसार देशका आठ जिल्लामा ६१ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३२ लाख १७६ मेट्रिक टन उखु उत्पादन हुने गरेको छ