चितवन। चितवन जिल्लामा पहिलो पटक केरामा ‘पानामा रोग’ ‘टिआर फोर’ को नयाँ भेरिएन्ट देखा परेको छ । पश्चिम चितवनका किसानले गरेका केरा खेतीमध्ये करिब पाँच बिघा क्षेत्रमा यो घातक रोगको सङ्क्रमण पुष्टि भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख महेश रेग्मीले जानकारी दिए ।

जिल्लामा करिब ५५ बिघामा फैलिएको केराखेतीमध्ये पाँच बिघामा ‘टिआर फोर’ सङ्क्रमणका कारण केरा थाममै विकृत भएर गुवो निकाल्न थाल्ने समस्या देखिएको छ । नवलपरासीबाट ल्याइएका बिरुवाबाट रोग फैलिएको आशंका गरिएको छ । समस्या देखिएपछि नमुना परीक्षणका लागि काठमाडौँस्थित विधि विज्ञान प्रयोगशाला तथा कृषि अनुसन्धान परिषद् (नार्क) पठाइएको रेग्मीले बताए ।

कृषक यज्ञ सुवेदीले नवलपरासीबाट ल्याइएका बिरुवामा रोग देखिएपछि संक्रमित क्षेत्र जोतेर नष्ट गरिएको र रोग फैलिन नदिने उपाय अवलम्बन गरिएका बताए । पानामा ‘टिआर फोर’ रोगको उपचार नभएकाले संक्रमित फार्ममा प्रयोग भएका औजार, सवारीसाधन र सामग्रीलाई पूर्णरूपमा निर्जलीकरण नगरी अन्यत्र लैजान नहुने कृषि कार्यालयले आग्रह गरेको छ ।

चितवनमा अहिले करिब २,८०० हेक्टर क्षेत्रमा केरा खेती हुने गर्छ, जसमा २,२०० हेक्टर क्षेत्रफल ‘केराजोन’भित्र पर्दछ। जिल्लामा वार्षिक ४३ हजार मेट्रिकटनभन्दा बढी केरा उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

फोटो : सामाजिक संजाल