सिन्धुली। सिन्धुलीको गोलञ्जोर गाउँपालिका -४, तिनकन्यामा यस वर्ष पनि ३ दिने ‘जुनार प्रवर्द्धन मेला’ आयोजना हुने भएको छ । ‘जुनारको राजधानी’ को रूपमा परिचित सिन्धुली जिल्लाका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउने उद्देश्यसहित मंसिर २३, २४ र २५ गते मेला सञ्चालन गरिने भएको हो । माझकुभिण्डे क्षेत्रलाई मेलास्थलका रूपमा चयन गरेर तयारी तीव्र पारिएको गोलञ्जोर गाउँपालिकाले जनाएको छ । मेलालाई केवल उत्सवमा सीमित नराखी, किसानहरुको सीप अभिवृद्धि, व्यावसायिक उत्पादन, प्रविधि हस्तान्तरण र बजार विस्तारसँग जोड्ने लक्ष्य राखिएको छ ।

गोलञ्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालका अनुसार, सिन्धुलीको पहिचान बनेको जुनारलाई गुणस्तरीय तथा व्यवस्थित उत्पादनतर्फ उन्मुख गराउन यो मेला महत्वपूर्ण कदम हो । उक्त मेलामा जुनार खेतीमा देखिँदै आएका रोग तथा किराको समस्या माथि विशेष चर्चा र समाधानका उपाय प्रस्तुत गरिने छ । पछिल्ला वर्षहरूमा जुनारमा देखिएको रोग र किराको प्रकोपले किसानहरुलाई चिन्तित बनाउँदै आएको छ । यहीँ समस्यालाई केन्द्रमा राखी विज्ञसँग अन्तरक्रिया, प्राविधिक कक्षा र प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिने तयारी गरिएको आयोजकको भनाइ छ ।

जुनार उत्पादनलाई केवल कृषिमा सीमित नराखी स्थानीय अर्थतन्त्रको आधार बनाउने प्रयास मेलाको अर्को मुख्य उद्देश्य हो । मेलाबाट किसानहरु र व्यापारीहरुबीच प्रत्यक्ष सम्पर्क बढ्ने, बजारको पहुँच विस्तार हुने र उत्पादनको उचित मूल्य सुनिश्चिततामा सहयोग पुग्ने विश्वास गरिएको छ । उक्त मेलामा सरकारी निकाय, निजी क्षेत्र र सहकारीको सहभागिता रहने छ, जसले कृषिमा त्रिपक्षीय सहकार्यको बाटो अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

गोलञ्जोर गाउँपालिकाले मेलाको सफलताका लागि सम्बन्धित सरकारी तथा गैर – सरकारी निकायसँग समन्वय गरिरहेको जनाएको छ । तयारी तीव्र गतिमा अघि बढाइएको र मेलालाई व्यवस्थित र परिणाममुखी बनाउन सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ । तिनकन्यामा हुने यो ३ दिने ‘जुनार प्रवर्द्धन मेला’ सिन्धुलीको पहिचानलाई अझ मजबुत बनाउने माध्यम सावित हुने आयोजकको विश्वास छ ।