ललितपुर। नेपाल सरकारले हालै ‘खुमल–१८’ नामक धानको नयाँ उन्नत जातलाई बीउ बिजन ऐन, २०४५ अन्तर्गत सूचित बीउ बिजनका रूपमा राजपत्रमा समावेश गरेको छ । यसलाई नेपालकै प्रथम ऐतिहासिक बायोफोर्टिफाइड धानका रूपमा दाबी गरिएको छ । जसमा फलाम (आइरन) को मात्रा अत्यधिक रहेको छ । ललितपुरको खुमलटारस्थित राष्ट्रिय धान बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत (टि-६) तथा वैज्ञानिक डा. उज्ज्वल कुमार सिंह कुशवाहले १३ वर्षभन्दा लामो अनुसन्धानपछि यो धानको जात विकास गरेका हुन् ।

‘खुमल–१८’ धान के हो ?
कृषि मन्त्रालयका अनुसार ‘खुमल–१८’ एक खुल्ला सेचित जात (ओपन पोलिनेटेड भेराइटी) हो । जसलाई वर्षे धानका लागि सिफारिस गरिएको छ । यो विशेषगरी समुद्री सतहबाट ७ सय ५० मिटरदेखि १ हजार ५ सय मिटर उचाइका मध्य पहाडी क्षेत्रका सिञ्चित भू -भागका लागि उपयुक्त मानिएको छ । डा. कुशवाहका अनुसार यसले मध्य पहाडी क्षेत्रमा वर्षाको भरमा गरिने खेती (रेनफेड फार्मिंग) र सिञ्चित दुवै जग्गामा राम्रो उत्पादन दिन्छ । ‘खुमल–१८’ को मुख्य विशेषता यसको बायोफोर्टिफाइड गुण हो । यो नेपालको पहिलो बायोफोर्टिफाइड धान हो, जसमा फलामको मात्रा धेरै पाइन्छ । साथै, जिंकलगायतका अन्य पोषक तत्त्व पनि भरपुर हुन्छन् । यसले कुपोषण, विशेषगरी आइरनको कमीबाट हुने समस्या समाधानमा मद्दत पुर्‍याउने विश्वास गरिएको छ । यस जातको उत्पादकत्व प्रतिहेक्टर ५.५ देखि ७.५ मेट्रिक टनसम्म रहेको छ, जबकि सामान्य अवस्थामा यसको उत्पादकत्व प्रतिहेक्टर ५.२० मेट्रिक टन तोकिएको छ । ‘खुमल–१८’ पाक्न १ सय ४५ दिन लाग्छ र यसको चामल मसिनो खालको हुन्छ । यसको बाला लामो हुने र सजिलै नढल्ने यसको अर्को महत्त्वपूर्ण विशेषता हो । यो धान मध्यपहाडी क्षेत्रको हावा – पानीमा राम्रोसँग फस्टाउँछ ।

अनुसन्धान र विकासको पृष्ठभूमि :
राष्ट्रिय धान बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा वैज्ञानिक डा. उज्ज्वल कुमार सिंह कुशवाहले ‘खुमल–१८’ को विकासमा १३ वर्षभन्दा बढी समय खर्चेका छन् । यो धान अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्रबाट ल्याइएको आइ आर ६४ जात र स्थानीय जात ‘पातले’ बिच क्रस गराएर विकसित गरिएको हो । यसको परीक्षण देशका विभिन्न भागहरूमा जस्तैस् दोलखा, दैलेख, धनकुटाको पाख्रिबास, जुम्ला, डोटीलगायतका स्थानहरूमा १० वर्षभन्दा बढी समयसम्म गरिएको थियो । डा. कुशवाह स्वयं आनुवंशिकी तथा बाली प्रजनन (जेनेटिक्स एन्ड प्लान्ट ब्रीडिङ) विषयका विशेषज्ञ हुन् र कुशवाहले धानको नयाँ जात विकास गर्ने क्षेत्रमा विद्यावारिधि गरेका छन् । डा. कुशवाहले विगतमा ‘खुमल–१२’, ‘खुमल–१४’, ‘खुमल बासमती–१६’ लगायतका धानका जातहरू पनि विकास गरिसकेका छन् ।