ललितपुर। ललितपुरको जावलाखेल मैदानमा जारी १८औं गोदावरी पुष्प मेला अवलोकनकर्ताको भीड बढ्दै गएको छ। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा असोज २९ गतेदेखि सुरु भएको मेलामा पहिलो दुई दिनमै करिब १४ हजार ७ सय जनाले अवलोकन गरेका छन् भने ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।

फ्यानका अनुसार पहिलो दिन ७ हजार २ सय अवलोकनकर्ताबाट १९ लाख ७५ हजार रुपैयाँ बराबरको बिक्री भएको थियो। दोस्रो दिन अवलोकन संख्या ७ हजार ५ सय पुग्दा कारोबार २४ लाख ७५ हजार रुपैयाँ पुगेको हो ।

पाँच दिनसम्म चल्ने मेलामा करिब ४० हजारभन्दा बढीले अवलोकन गर्ने र कुल कारोबार एक करोड ३० लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ । तिहार र छठ पर्वलाई लक्षित गर्दै आयोजना गरिएको मेला पुष्प व्यवसाय प्रवर्द्धन र गुणस्तरीय उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हो ।

यस वर्ष मेलामा ९० वटा प्रदर्शनी स्टल रहेका छन्। तीमध्ये ८० व्यवसायिक, ५ अफिसियल, १ प्लान्ट क्लिनिक, २ प्रतियोगितात्मक र २ फोटोरसेल्फी स्टल रहेका छन् । गोदावरी फूलका मिनियचर, रिफ्लेक्स, स्पाइडर र ईनकर्भ गरी चार विधामा प्रतियोगिता समेत आयोजना गरिएको छ ।

फूल खेती अहिले नेपालमा सौख होइन, व्यवसायिक क्षेत्रको रूपमा विस्तार हुँदै गएको छ। फ्यानका अनुसार देशभर ५२ जिल्लामा करिब २७० हेक्टरमा पुष्प खेती भइरहेको छ । हाल १,२३५ भन्दा बढी व्यवसायी यस क्षेत्रमा संलग्न छन् र करिब ५३ हजारभन्दा बढी जनशक्ति प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रोजगारमा छन् ।

पुष्प व्यवसायमा करिब ८ अर्ब ८३ करोड रुपैयाँ लगानी भएको अनुमान छ। वार्षिक कारोबार ३ अर्ब ३७ करोड रुपैयाँ पुगेको फ्यानले जनाएको छ ।

भन्सार विभागका तथ्यांकअनुसार, आर्थिक वर्ष ०८१/८२ मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात कारोबार अघिल्लो वर्षको तुलनामा १०९ प्रतिशतले बढेर २ करोड १३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सोही अवधिमा आयात कारोबार ५४ प्रतिशतले घटेर १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ ।

आयोजकका अनुसार पुष्प बजारमा हरेक वर्ष १० देखि १५ प्रतिशतले माग बढ्दै गएको छ, जसले नेपालमा फूल खेतीको उज्ज्वल भविष्य देखाएको छ ।