ललितपुर। नेपालका युवा आशीर्वाद राज झा लाई संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) अन्तर्गत आयोजना हुने विश्व खाद्य मञ्च (डब्लुएफएफ) २०२५ मा सहभागी हुन नेपालबाट एकमात्र आधिकारिक निमन्त्रणा प्राप्त भएको छ ।

नेपालबाट प्रतिनिधित्व गर्नका लागि एकमात्र आधिकारिक निमन्त्रणा प्राप्त भएका काठमाडौं वन विज्ञान कलेजका स्नातक तहमा पढ्ने विद्यार्थी आशीर्वाद राज झा कार्यक्रममा सहभागी भएको उहाँको साथी अभिनम थापाले जानकारी गराउनु भएको छ ।

थापाले जानकारी दिँदै भन्नुभयो, यसअघि पनि आशीर्वादले नेतृत्वको “इको ग्रब” समूहले नेदरल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वका नौ देशका अठार टोलीमध्ये दोस्रो स्थान प्राप्त गरेको थियो ।

आशीर्वादको नेतृत्वमा रहेको ‘इको ग्रब’ समूहले कालो सिपाही झिँगा (ब्ल्याक सोल्जर फ्लाई) मा आधारित नवप्रवर्तनशील समाधान प्रस्तुत गर्दै दोस्रो स्थान हासिल गरिसकेको छ ।”
उक्त अनुसन्धानले फोहोर व्यवस्थापन र पोषक तत्व पुनःप्राप्तिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। कालो सिपाही झिँगाको प्रयोगले पर्यावरण संरक्षण र कृषि उत्पादनमा दिगोपनाको नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको थापाले जानकारी दिनुभयो ।

नेदरल्याण्डमा प्राप्त सफलतापछि, “इको ग्रब” बाट अहिले विश्व खाद्य मञ्च २०२५ मा झाले आफ्नो परियोजना विश्वव्यापी रूपमा प्रस्तुत र कार्यान्वयन गर्ने अवसर पाएका छन् । नेपालका लागि यो उपलब्धि युवाहरूको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो क्षमता, अनुसन्धान र नवप्रवर्तनशील सोचको उज्ज्वल उदाहरण बनेको थापाले भन्नुभयो ।

यो प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रम सन् २०२५ को अक्टोबर १० देखि १८ सम्म इटालीको रोमस्थित एफएओ मुख्यालयमा आयोजना भएको छ । यस वर्षको मञ्चको मुख्य विषय “हातमा हात, उत्तम भोजन र उज्ज्वल भविष्यका लागि” रहनेछ, जसले विश्वभरका युवाहरू, वैज्ञानिकहरू, नवप्रवर्तनकर्ताहरू र नीतिनिर्माताहरूलाई एक मञ्चमा ल्याई दिगो, समान र सुदृढ कृषि–खाद्य प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ ।

सरकारका प्रतिनिधि, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र, विश्वविद्यालय, किसान सङ्घ, नागरिक समाज र संयुक्त राष्ट्रका विभिन्न निकायहरूसँग सहकार्य गर्दै दिगो विकास लक्ष्यहरू (एसडीजीहरू) हासिल गर्नका लागि नवप्रवर्तनशील विचार र योजना प्रस्तुत गर्ने अवसर पाएका छन् ।

यस वर्षको फोरममा विश्व युवा मञ्च, विज्ञान तथा नवप्रवर्तन मञ्च र हातमा हात लगानी मञ्च लगायतका प्रमुख सत्रहरू हुनेछन्। साथै, “बीउदेखि भोजनसम्म” शीर्षकको पहिलो विश्व प्रदर्शनी, एफएओको ८०औँ वार्षिकोत्सव, विश्व खाद्य दिवस २०२५ समारोह, रोम जल संवाद र आदिवासी जनताको मञ्च पनि यसै क्रममा आयोजना गरिनेछ।

एफएओको युवा तथा महिला कार्यालयका निर्देशक काजुकी किताओकाले पठाएको निमन्त्रण पत्रमा आशीर्वाद झालाई सक्रिय सहभागिताका लागि हार्दिक स्वागत गरिएको उल्लेख गरिएको छ ।