ललितपुर। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले ‘१८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२’ आयोजना गर्ने भएको छ । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ फ्यानले १८ औं सस्कंरणको रूपमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्न लागेको हो ।

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म (पाँच दिन) ललितपुरको जावलाखेल खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

फ्यानले पुष्प व्यवसायको व्यवसायीक विकास विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले बि.स. २०५१ सालदेखि पुष्प मेलारप्रदर्शनीको आयोजना गर्दै आएको छ।

नेपालीहरुको महान चाड तिहार पर्व नजिकीदैँ गर्दा घर आँगन बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुऱ्याउनका लागि यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने गरेको जनाएको छ ।

आयोजकका अनुसार नेपालको एक मात्र गोदावरी फूल प्रदर्शनी रहेको यस मेलमा ८० व्यवसायिक स्टल, १ प्लान्ट क्लिनिक स्टल, ५ अफिसियल स्टल, २ प्रतियोगितात्मक स्टल र २ फोटो सेल्फी स्टल गरी ९० वटा प्रदर्शनी कक्षहरु रहने छन् ।

यस प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिने भएको छ।

यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरीरफर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ र गोदावरीको कट फ्लावर प्रजाती रहने छ। साथै मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ठ स्टल तर्फ पनि प्रतिस्पर्धा गराइने जनाइएको छ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ठ हुने नर्सरीरफर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ।

यस मेलामा नेपालमा व्यवसायीक रुपमा उत्पादन हुदै आएको बिबिध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस बर्ष भित्रिएका नयाँ गोदावरी फूलको केहि प्रजातीका फूल बिरुवाहरुको सहित ४५० भन्दा बढी प्रकारको फूल बिरुवाहरू यस मेलामा प्रदर्शीत तथा विक्री बितरण हुने उल्लेख गरिएको छ ।

यसका साथै यस सिजनमा उपलब्ध हुने वा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूलहरुका साथै आलंकारिक बोट बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश तथा विक्री वितरण हुने छन् ।

पाँच दिनसम्म संचालन हुने यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड तीस लाख भन्दा बढिको व्यवसायिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ।