ललितपुर। कर्णालीमा उत्पादित स्याउलाई ब्रान्डिङ गरी सहज रुपमा राजधानी काठमाडौंका उपभोक्ताहरुलाई स्वाद चखाउने उदेश्यले पहिलोपटक काठमाडौंमा ‘ कर्णाली स्याउ उत्सव ’ हुने भएको छ । भदौ २० देखि २२ गतेसम्म काठमाडौंको शंखमुलस्थित कला घरमा दैनिक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म स्याउ उत्सव आयोजना हुने कर्णाली घरले जनाएको छ ।

कला घरको आयोजना र कर्णाली घरको सह -आयोजनामा कर्णालीमा फल्ने स्याउ र स्याउबाट उत्पादित वस्तुहरुको प्रदर्शनी हुने भएको हो । उक्त उत्सवमा कर्णालीमा उत्पादन हुने डेलिसियस, रोयल, गोल्डेन, गाला, फुजीलगायत दर्जन बढी प्रकारका स्याउहरु प्रदर्शनीमा राखिने छन् । त्यस्तै, स्याउबाट बनेका सुकाएको चाना, साइडर, सिरका, ब्रान्डीलगायतका परिकार पनि प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ । स्याउ प्रदर्शनी मात्र नभइ उक्त उत्सवमा गएर उपभोक्ताहरुले आवश्यकताअनुसार स्याउ खरिद गरी लैजान पनि गर्न सक्ने छन् ।

कर्णालीको स्याउ स्वादका दृष्टिले यसअघि नै परिचित भए पनि यसको बजारमा खपत बढाउनका लागि पहिलोपटक औपचारिक रुपमै उत्सवको आयोजना गर्न लागिएको हो । यसैगरी, कर्णालीको मौलिक संस्कृति पनि उत्सवको मुख्य आकर्षण हुने छ । उक्त कार्यक्रममा धामी नाच, हुड्के नाच, मागललगायतका प्रस्तुतिहरू हुने छ । उत्सव अवलोकन गर्नको लागि निस्शुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।