
ललितपुर। नेपाल डेरी एसोसिएसनको आयोजनामा खीर खाने कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल डेरी एशोसिएशनले राजधानीमा गरेको खिर प्रवर्धन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा दुग्धजन्य वस्तुहरू विदेशबाट आयात भैरहेकोले त्यसलाई प्रतिस्थापन गर्ने गरी उत्पादन बढाउन जरुरी रहेको बताएका छन् ।
कृषि प्रवद्र्धन गरेर ग्रामीण अर्थतन्त्र उकास्न सकिने उल्लेख गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको कृषि तथा पशुपालन व्यवसायमा लगानी बढाउनु पर्ने बताए । महासंघको अगुवाइमा सरकारले निजी क्षेत्र – मैत्री कानुन निर्माण गरेको जनाउँदै कतिपय कानुन कार्यान्वयन हुन नसक्दा निजी क्षेत्रले खुलेर व्यवसाय गर्न नसकेको गुनासो गरे ।
यस्तै, उक्त कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह – सचिव डा. पशुपति ढुङ्गानाले कृषि तथा पशुपालक किसानहरुका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
त्यसैगरी, नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले साना, मझौला र ठूला डेरी उद्योगका हकहितका बारेमा संस्थाले काम गर्दै आएको बताए । साउन १५ गते खीर खाने दिन देशभर करिब ८० लाख लिटर दूध खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने एसोसिएशनको अनुमान छ ।
नेपाल डेरी एसोसिएसनले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। यसबाट दुग्धजन्य उत्पादनको उपभोग बढ्ने, किसानलाई प्रत्यक्ष लाभ पुग्ने र नेपाली संस्कृति संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।