
कृषि प्रधान देश नेपालमा यस वर्षको धान दिवस (असार १५) नयाँ उत्साहसाथ आधुनिक कृषि प्रविधि अपनाउँदै मनाइँदैछ। परम्परागत खेतालाई यान्त्रिकरण, स्मार्ट सिँचाइ प्रणाली, उन्नत जातका बीउ, र डिजिटल कृषिको प्रयोगमार्फत सुधार गर्दै, यो दिवस कृषिमा नवप्रवर्तन र आत्मनिर्भरता हासिल गर्ने दिशामा एक महत्वपूर्ण पाइला बन्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय धान दिवसको संक्षिप्त परिचयः
नेपाल कृषि प्रधान देश हो र यहाँको जीवनशैली, संस्कार र संस्कृति धान खेतीसँग गहिरो सम्बन्ध राख्छ। असार १५ गते प्रत्येक वर्ष राष्ट्रिय धान दिवस मनाइन्छ, जुन दिन किसानहरूले परम्परागत रूपमा धान रोपाइँ गर्ने दिन हो। यस दिनलाई रोपाइँ महोत्सव पनि भनिन्छ, जहाँ किसान, जनप्रतिनिधि, विद्यार्थी र सर्वसाधारण सबै मिलेर खेतमा धान रोप्ने, हिलो खेल्ने र दही- चिउरा खाने परम्परा रहेको देखिन्छ।
राष्ट्रिय धान दिवस २०८२ मनाउने उद्देश्यहरू :
१. धानको महत्व सम्झाउने :
नेपाली समाज, संस्कार र जीविकोपार्जनमा धानको ऐतिहासिक, सांस्कृतिक र आर्थिक महत्व रहेको छ। यो दिवसले त्यसको पुनः स्मरण गराउँछ।
२. कृषकप्रति सम्मान प्रकट गर्ने :
कृषकहरूको परिश्रम बिना खाद्य सुरक्षा सम्भव छैन। यो दिवसले उनीहरूको योगदानलाई कदर गर्छ।
३. धान उत्पादनमा आत्मनिर्भरता प्रोत्साहन गर्ने :
नेपालमा चामलको आयात बढ्दै गएको पृष्ठभूमिमा, स्वदेशी उत्पादन वृद्धि गरि आत्मनिर्भर बन्ने उद्देश्य।
४. कृषिमा आधुनिक प्रविधि र नवप्रवर्तनलाई जोड दिने :
वैज्ञानिक विधि, जलवायु-स्मार्ट खेती, उन्नत बीउ प्रयोगजस्ता विधिहरूको प्रचार।
५. नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्ने :
कृषि अब परम्परागत मात्र नभई व्यवसायिक र प्राविधिक सम्भावना बोकेको क्षेत्र हो भन्ने सन्देश फैलाउने।
६. जलवायु परिवर्तन र धान खेतीबीचको सम्बन्ध बुझाउने :
मौसम, पानी, माटो र तापमानका परिवर्तनले धान उत्पादनमा पर्ने प्रभाव र समाधान खोज्ने अवसर।
७. असार १५ लाई कृषि पर्यटन र संस्कृति प्रवर्द्धनसँग जोड्ने :
रोपाइँ, दही-चिउरा, लोकसंस्कृति र हिलो खेल मार्फत आन्तरिक पर्यटनलाई बढावा दिने।
८. स्थानिय तहदेखि संघीय सरकारसम्म समन्वयमा कृषिक योजनाहरू कार्यान्वयन गर्ने संकल्प दोहोर्याउने।
परम्परा र आधुनिकता :
असार १५ को दिन परम्परागत रूपले मनाइने भए तापनि, पछिल्लो समय यो दिवस नयाँ सोच र प्रविधि समावेश गर्दै अगाडि बढेको छ। अहिले कृषि व्यवसाय, कृषि पर्यटन, जैविक उत्पादन, जलवायु स्मार्ट खेती आदिलाई जोडेर मनाइन्छ।
ध्यान दिनु पर्ने कार्यहरू :
विद्यालय तथा क्याम्पसहरूमा जनचेतनामूलक कार्यक्रम।
खेतमा सामूहिक धान रोपाइँ।
कृषक सम्मान कार्यक्रम।
मिडिया, सामाजिक सञ्जालमा धान दिवसको प्रचार।
राष्ट्रिय धान दिवस २०८२ सालको नारा “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” नेपालको मुख्य पेसा नै कृषि हो।नेपालको कृषीमा संलग्न जनसंख्या ६२५ रहेको छ।यहाँको भौगोलिक र सांस्कृतिक संरचनाले धानलाई विशेष महत्व दिएको छ। हरेक वर्ष असार १५ मा मनाइने धान दिवस केवल खेतमा रमाइलो गर्ने चाड मात्र होइन, यसले नेपालको खाद्य संस्कृति, आर्थिक अवस्था, र आत्मनिर्भरताको भावनालाई पनि उजागर गर्छ।
धान केवल अन्न होइन, हाम्रो संस्कृति, अस्तित्व र आत्मसम्मान हो।
सघनता भनेको अधिक मेहनत होइन, सीप र प्रविधिबाट धेरै उत्पादन गर्नु हो।
खाद्य सुरक्षा भनेको, प्रत्येक नेपालीले पेटभर खान पाउने सुनिश्चितता हो।
आत्मनिर्भरता भनेको, विदेशको चामल होइन, आफ्नै खेतको उत्पादनमा गर्व गर्ने अवस्था हो।
आजको दिन हामी सबैले सम्झनुपर्छ –
किसान बिना हाम्रो भान्सामा अन्न आउँदैन।
माटो बिना जीवन टिक्दैन।
कृषि बिना राष्ट्र आत्मनिर्भर बन्दैन।
दही-चिउरा र परम्परा :
असार १५ आउँदा सबैको मनमा एउटै कुरा आउँछ – दही–चिउरा खाने परम्परा। यो हाम्रो कृषिसँग जोडिएको मौलिक चाड हो, जुन वर्षौंदेखि मनाइँदै आएको छ। दही–चिउरा केवल खाने कुरा होइन, यो हाम्रो संस्कृति, मेहनत र किसानप्रतिको सम्मानको प्रतीक हो।
परम्परा जहाँ पसिना मिसिएको छ :
असार महिनामा पानी पर्छ, खेतमा धान रोपिन्छ। त्यही दिन किसानको मेहनतलाई सम्झेर उनीहरूलाई धन्यवाद दिनु, रमाइलो गर्नु र स्वास्थ्यप्रद खाना खुवाउनु हाम्रो सामाजिक संस्कार हो। दही किसानको घरमै बन्ने शुद्ध दूधबाट बनाइएको हुन्छ। चिउरा भनेको धान काटेर, कुटेर, फलामको ओखलमा पेलेर बनाइने परिश्रमको फल हो। दही–चिउरास् स्वाद मात्र होइन, सन्देश पनि हो। यो खाना शुद्ध, शक्तिशाली र परम्परागत छ। खेतमा काम गर्नेहरूलाई ताकत दिन्छ, गर्मी मौसममा शीतलता दिन्छ। सामूहिक भोजन गर्दा आपसी भाइचारा बढ्छ, गाउँ समाजमा मेलमिलाप हुन्छ।
नयाँ पुस्ता, नयाँ सोच स् असार १५ को नयाँ अर्थ :
असार १५ आयो भने हामी सबैको मनमा दही–चिउरा खाने चलन सम्झिन्छौँ। खेतमा हिलो खेल्ने रमाइलो सम्झिन्छौँ। तर अब समय फेरिएको छ। असार १५ अब केवल परम्परा मनाउने दिन मात्रै होइन, यो दिन कृषिमा सम्मान, आधुनिक सोच, र आत्मनिर्भरताको संकल्प गर्ने समय हो।
अबको असार १५:
नयाँ पुस्ताले खेतको मूल्य बुझ्नुपर्छ। कृषिलाई केवल जोत्न होइन, व्यवस्थित र प्राविधिक बनाउने कुरा हो। धान रोप्नु भनेको भोलिको खाना, रोजगारी र देशको समृद्धिको बीउ रोप्नु हो।
अब कृषि भनेको :
बुबा-आमाले गरेका पुराना तरिकाको काम मात्रै होइन, यो अब प्रविधिको प्रयोग गर्ने, उन्नत बीउ छान्ने, सिंचाइ, मल, मेसिन र बजारलाई मिलाएर योजना बनाउने काम हो।
निष्कर्ष :
धान केवल अन्न मात्र होइन, यो हाम्रो संस्कृति, पहिचान, र अस्तित्व हो। सघन खेती प्रणाली, प्रविधिको प्रयोग, र किसानमैत्री नीतिबाट हामी खाद्य सुरक्षालाई बलियो बनाउँदै चामलमा आत्मनिर्भर नेपाल बनाउन सक्छौं। यस असार १५ मा केवल खेतमा रमाउने मात्र होइन, धान बालीको मूल्य र भविष्यको सम्भावनालाई सम्झिने दिन बनाऔं।