
ललितपुर। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार देखि जारी २६ औँ फ्लोरा एक्स्पोको आज चौथो तथा अन्तिम दिन अवलोकनकर्ता थप बढ्ने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।
मेलाको ६० हजार बढीले अवलोकन गर्ने र एक करोड रुपैँयाभन्दा बढीको कारोबार गर्ने लक्ष्य आयोजकको छ । मेलाको तेस्रो दिन मात्र ३० लाख ७० हजार रुपैँयाको कारोबार भएको छ भने १७ हजार भन्दा धेरैले अवलोकन गरेको फ्यानले जनाएको छ ।
मेलाको तेस्रो दिन फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा लायन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरको सहआयोजनामा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको थियो ।
मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुइ र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा स्टल रहेका छन् । मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय पचास र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रबेश शुल्क तोकिएको र जेष्ठ नागरिकहरुलाई भने निशुल्क प्रवेशको व्यवस्था गरिएको मेला संयोजक राम बहादुर तामाङ (सुनिल) लेबताए ।
एक्स्पोमा आलंकारिक बोटबिरुवा, सिजनल फूल बिरुवाहरु, सुनखरीका फूल बिरुवाहरु, फलफूलका बोटबिरुवाहरुको कारोबार भइरहेको फ्लोरिकल्चर एसोसिएसन नेपालका कोषाध्यक्ष राजकृष्ण बजगाईले जानकारी दिए । मेलामा फूलप्रेमी तथा अबलोकनकर्ताको भीड बाक्लो भएका कारण सोचेअनुरुपनै कारोबार हुनेमा आफू विश्वस्त रहेको बजगाईले बताए ।
उपभोक्ता पनि अन्तिम अबस्थामा आउने भएका कारण मेलाको अन्तिम दिन यसअघिको भन्दा धेरै कारोबार हुने अपेक्षा फ्यानको रहेको छ । फ्यानका महासचिव हिरामणी शर्माले भने, “यो वर्षको एक्स्पोमा हामीले अवलोकनकर्ताको उपस्थिति अनुमान गरिएभन्दा उल्लेख्य बढी पाएका छौँ, सम्पूर्ण फ्यान परिवार यसका लागि आभार व्यक्त गर्दछौँ । ”
नेपालमा बि.सं. २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसायको सुरु भएको इतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको र बि.सं. २०४९ साल ताकासम्म लगभग सिमीत संख्यामा मात्रै पुष्प नर्सरी व्यवसायीहरु रहेको थियो ।
हाल नेपालमा ५२ जिल्लामा २६० हेक्टर भन्दा बढि क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको, १ हजार १७४ भन्दाबढी पुष्प व्यवसायीहरू संलग्न रहि व्यवसाय गरिरहेको, अनुमानित लगानी रु. ८ अर्व ८३ करोड भन्दाबढी रहेको, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरि ५१ हजार ५०० भन्दाबढी जनशक्तिहरू रोजगार रहेका छ। पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक कारोबार ३ अर्ब ६८ करोड भन्दाबढी रहेको छ ।