ललितपुर।  फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले कात्तिक ८ देखि १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ । प्रदर्शनी जावलाखेलस्थित मैदानमा ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा ६८ व्यावसायिक स्टल, २ प्रतियोगितात्मक स्टल, ४ अफिसियल स्टल र सेल्फी स्टल १ गरी ७५ वटा प्रदर्शनी कक्ष रहने छन् ।

प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने फ्यानले जनाएको छ । यस्तै प्रदर्शनीमा सहभागी नर्सरीरफर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने छ ।

४ दिने प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्नुका साथै एक करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिस्पर्धामा गोदावरीको मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर प्रजाति रहने छन् । साथै मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने भएको छ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरीरफर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ ।

फ्यानले पुष्प व्यवसायको व्यवसायीक विकास विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०५१ देखि लगातार पुष्प मेलारप्रदर्शनीको आयोजना गर्दै आएको छ ।