पतेरो धानबालीमा लाग्ने एक महत्वपूर्ण किरा हो । मुख्य गरी धानबालीमा लाग्ने यो कीराको बच्चा तथा वयस्क दुबै अवस्थाले धान नपसाउँदा सम्म बिरुवाको अन्य भागबाट यिनीहरुले रस चुस्दछन् तर बाला लागेपछि सबै कीराहरू बालामा आकर्षित हुन्छन् । वयस्क पतेरो खैरोमा हरियो मिसिएको हुन्छ भने बच्चा हरियो रंगको हुन्छ। वयस्क पतेरो करीब १९ मि.मी. लम्बाइको हुन्छ । यसलाई समातेर विस्तारै थिच्दा नराम्रो गन्ध छोड़छ । एउटा पोथीले २०০ देखि ३०০ वटा सम्म सेता अण्डा माथिल्लो पट्टी मूल नशा नजिकै १ वा २ लहरमा मिसाएर पार्छ । अण्डा पारेको ५ देखि ८ दिनमा हरिया बच्चा पतेराहरु निस्किन्छन्। पाँच पटक काँचुली फेरेर २५ देखि ३० दिनमा वयस्कमा परिणत हुन्छन् । एक वर्षमा यसका ४ पुस्ता सम्म निस्कन्छन् ।

यस किराको क्षतिको लक्षण यस प्रकारको छ :-
पातमा बढी आक्रमण भएमा बोट नै पहेलिने हुन्छ । भर्खर पसाउन लागेको बालाबाट रस चुसेमा दाना भित्र दुध भरिन पाउँदैन र दाना फोस्रो हुन्छ । यो अवस्थामा पतेरो लागेको दानाहरु पछि टुक्रिएर कनिका बन्दछ । धानका दानामा पतेरोले चुसेको ठाउँमा काला-खैरा दागहरु देखिन्छन् र अत्याधिक आक्रमण भएको खेतको धानबात बनेको भातमा समेत पतेरोको गन्ध आउन सक्छ ।
यस किराको व्यवस्थापन निम्न विधि अपनाएर गर्न सकिन्छ :-
१. खेत भित्र तथा वरपरको झारपात गोडमेल गरी किराको वैकल्पिक आश्रय स्थललाई नष्ट गर्ने ।
२. एकै समयमा पाक्ने धानका जातहरु छनौट गरी लगाउने ।
३. यो कीरा बत्तीमा आकर्षित हुने हुनाले पसाउन लागेको धान खेतमा बत्ती राखेेर त्यसमा आकर्षित गर्ने र नष्ट गर्ने ।
४. डर्टी ट्रयापको प्रयोग गर्ने । यसको लागि गाई भैंसीको ताजा पिसाबमा कपड़ा वा जुटको बोरालाई भिजाएर घोचोमा बाँधी धान खेतको बीचबीचमा लगेर गाड़नु पर्दछ। ट्रयापमा आकर्षित भएका पतेरोलाई बाहिर पट्टिबाट प्लास्टिकको झोलाले छोपी संकलन गरी मार्ने ।
५. यो कीराको प्राकृतिक शत्रु बाघे खपटे कीराको संरक्षण गर्ने ।
६. अत्याधिक आक्रमण भएको अवस्थामा मालाथियन ५०% इसि विषादी २ मिलि प्रति लिटर पानीका दरले वा साइपरमेथ्रीन २५% इसि वा फेनभेलरेट २०০ % इसि ०.५ मिलि प्रतिलिटरपानीका दरले बिरुवा राम्रोसँग भिज्ने गरी छर्ने ।