नेपालमा परापूर्व कालदेखि परम्परागत मौरीपालन गरीँदै आएको र हालसम्म पनि स्थानीय एपिस सेराना जातको घरपालुवा मौरीलाई प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रूपमा परम्परागत मुढे घार एवं खोपे घारमा राखी मह उत्पादन गर्ने प्रचलन नेपालको प्रायः सबै क्षेत्रहरूमा यथावत रहेको पाइन्छ । नेपालमा एपिस मेलिफेरा मौरी भित्रिएपछि परम्परागत मौरीपालन पद्धतिमा क्रमशः परिवर्तन आई व्यावसायिक रूपमा मौरीपालन सुरुवात भएको छ । यसबाट मौरीपालक कृषकहरूको रोजगारीमा वृद्धि हुनुको साथै मौरीपालनबाट बालीबिरुवाहरूको परागसेचनमा प्रभावकारिता आई बालीबिरुवाहरूको उत्पादनमा गुणात्मक एवं परिमाणात्मक वृद्धि हुनुको साथै वातावरण संरक्षणमा समेत सहयोग पुगिरहेको छ । नेपालको भौगोलिक बनोट तथा यसमा भएको प्राकृतिक स्रोत जसमा मौरीलाई उपयुक्त हुने बोटबिरुवाको बाहुल्यता छ । साथै समयसमयमा लाग्ने बालीनाली मौरीचरनको रूपमा अति नै उपयुक्त हुने गर्दछ । वनजङ्गलमा भएका वनस्पतिहरू पनि चरनको रूपमा प्रयोग भई मौरीपालनमा सघाउ पुग्न सक्दछ । नेपालको विद्यमान वन जङ्गल, खेतीप्रणाली र चरनक्षमतालाई समेत हेर्दा लगभग १० लाखसम्म मौरीगोला पालन गर्न सकिने अनुमान गरीएको छ ।

नेपालको तराई, पहाड र हिमाली जिल्लाहरूमा आय र रोजगारी सिर्जना गर्ने क्षमता भएको प्रमुख उद्यम हो मौरीपालन। मौरी, विशेष गरी एपिस मेलिफेरा जातको मौरीलाई एक ठाउँबाट अर्को ठाउँमा, एक जिल्लाबाट अर्को जिल्लामा चरनको लागि लैजाने चलन छ। चितवनका मौरी पालक किसानहरुले असोज, कार्तिक महिनाको समयमा दाङ, भैरहवा, पिउठान, रुकुम लगायत मधेश प्रदेशका केहि जिल्लामा मौरी चरनको लागि लैजाने गरेको पाइन्छ । फरक–फरक क्षेत्रमा फरक समयमा फुल फुल्ने भएकाले एक स्थानका मौरीपालकहरुले अर्को स्थानमा मौरी चरनमा लाने गरेका छन् । साथै यस जिल्लामा पनि अन्य जिल्लाका मौरीपालकहरुले मौरी चरनको लागि ल्याउने गरेको पाइन्छ । पश्चिम चितवनको तुलनामा पूर्वी क्षेत्रमा बढी मौरी पालन व्यवसाय रहेको छ । हालको समयमा चितवन लगायत विभिन्न जिल्लामf चिउरी फुल्ने समय हो ।चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको जंगल रहेको छ । मौरीपालन गर्ने अधिकांश मौरीपालकहरुले चिउरीको मह उत्पादन गर्ने चितवन जिल्लाको कालिका नगरपालिकाको पहाडी भुभागमा आफ्नो मौरी चरनको लागि लैजाने गर्दछन ।

चिउरी एक बहु बर्षिय विरुवा हो। चिउरीको वोट र चेपाङ्ग जाति विच गहिरो सम्वन्ध रहेको पाइन्छ । चिउरीको वोट उनिहरुको जीवनचर्यासँग गजबले गाँसिएको पाइन्छ।नेपालमा चिउरीका जातलाई असारे, साउने र भदौरे चिउरी भन्ने गरेको पाइन्छ। पूर्वी, मध्य नेपाल देखि पश्चिम नेपाल सम्म चिउरीका वोटहरु पाइन्छ। चिउरी समुद्र सतहबाट २०० देखि १५०० मिटरको उँचाइमा हुने विरुवा हो । हल्का पहेलो रंगको फूल हुने चिउरी असोज, कार्तिक देखि माघ सम्म फुल्छ । अनि फागुन देखि असार सम्म फल लाग्छ ।  चिउरी मानिसका लागि मात्र उपयोगी वनस्पति होइन। यसको फुलमा मौरी असाध्यै झुम्मिन्छ। त्यसैले चिउरीलाई मह उत्पादनको महत्वपूर्ण स्रोत मानिन्छ। मौरीपालकहरू मौरीका घार चिउरी पाइने जंगलमा सार्ने गर्छन्। यति धेरै महत्वपुर्ण वोट हुदाँ हुदै हालको समयमा चिउरी विरुवा तथा रुखहरुको संरक्षणमा भने उचित ध्यान पुराउन नसकिएको देखिन्छ । चितवनमा करिव १७ हजार माथि एपिस मेलिफेरा जातको मौरीको गोलाहरु रहेका छन् ।  एपिस मेलिफेरा जातको मौरीपालनको महत्वपुर्ण केन्द्र विन्दु वनेको चितवन जिल्लाका पहाडी भुभागमा रहेका चिउरी विरुवा संरक्षण तथा वृक्षारोपणको आवश्यकता रहेको देखिन्छ ।प्रत्येक बर्ष मौरीगोलाको संख्यामा वृद्धि हुदै जादाँ त्यसलाई चाहिने चरन क्षेत्रको विकास तथा विस्तार हुन पनि जरुरी देखिन्छ जसले गर्दा मौरीपालकहरुले मौरीपालनवाट अधिकत फाइदा लिन सक्छन ।

तसर्थ चिउरीवाट मह उत्पादन गर्न होस वा चिउरीको विरुवा संरक्षण तथा विस्तार गर्न तपिशलका कार्य हुन आवश्यक देखिन्छः

  • मौरी चरन क्षेत्रको क्षमता आंकलन गरि मौरी गोला व्यवस्थापन गर्नुपर्ने ।
  • चरन क्षेत्रको सम्भावना अध्ययन गरि थप चरन क्षेत्र विस्तारको योजना बनाई स्थानिय तथा प्रदेशस्तरवाट कार्यान्वयन गरिनुपर्ने ।
  • समुदाय तथा स्थानियस्तरवाट नै मौरी चरन क्षेत्र सम्वन्धी निति वनाई चिउरी विरुवा संरक्षण हुनुपर्ने ।
  • चरन क्षेत्रको महत्वबारे स्थानिय स्तरमा जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्नुपर्ने ।
  • मौरीले बाली तथा अन्य विरुवामा पुराउने फाइदाको बारेमा स्थनियस्तरमा रहेका मौरीपालक तथा मौरी पालन नगर्ने समेतमा जनचेतना मुलक कार्यक्रम संचालन गर्नुपर्ने ।
  • सामुदायिक वनले सम्भावना भएका ठाँउहरुमा चरन क्षेत्र विस्तारको लागि चिउरी विरुवा रोपण तथा संरक्षण गर्नुपर्ने ।
  • दिगो मौरीपालन व्यवसायको लागि मौरीपालक महासंघ चितवन, सरकारी तथा अन्य संस्थाहरुको समन्वय र सहकार्यमा व्यवस्थित र दिर्धकालिन मौरी चरनको लागि आवश्यक कार्ययोजना बनाई चरन क्षेत्रको विकास गर्नुपर्ने ।
  • मौरीपालन गर्नेले मात्र नभई मौरीपालन नगर्ने व्यक्तिहरुले पनि मौरी पालनलाई आवश्यक पर्ने विरुवा लगाई, बालीनालीमा प्रयोग गरिने विषादीको प्रयोग कम गरि मौरी मैत्री वातावरण बनाउन सक्ने भएकोले त्यस्ता व्यक्ति लक्षित गरि मौरीको महत्वको बारेमा जनचेतना मुलक कार्यक्रम संचालन गर्नुपर्ने । जसले गर्दा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा मौरीपालन व्यवसायलाई टेवा पुराउछँ ।

अतः दिर्धकालिक रुपमा चरन क्षेत्रको विकास गरि बैज्ञानिक ढंगवाट चरन क्षेत्रको विस्तार तथा व्यवस्थापन गरेमा मौरीपालन व्यवसायलाई दियो बनाई मौरीपालकहरुको आम्दानीमा वृद्धि गर्न सकिन्छ ।

चितवन जिल्ला, कालिका नगरपालिकाको पहाडी भेग रन्तेस क्षेत्र, मजवाङ् मा राखिएको मौरीगोलf तथा चिउरीपाखा