ललितपुर। कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानलाई सबल बनाउनुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि को २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक सामाजिक रूपान्तरणका लागि साना किसानलाई सबल बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले गरिबी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पूरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । उनले किसानलाई उत्पादनसँगै उत्पादित वस्तुको सङ्कलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताए । किसानको उत्पादनलाई सिधै वा प्रशोधन गरेर किसान आफैँले बजारसम्म लैजानसक्ने वातावरणको विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि साना किसानले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले सरकारले साना किसान, कृषि सहकारी र पशुपालनमा लागेका किसानलाई सँगसँगै अगाडि बढाए मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्‍ने बताए।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले साना किसानलाई उद्यमसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । नेपाल सरकारले लघु तथा घरेलु उद्यममा विभिन्न कार्यक्रम सञ्चालन गरेको भन्दै उनले यसका लाभग्राही साना किसान नै रहेको बताए । सचिव पोखरेलले उत्पादित कच्चा पदार्थलाई साना तथा मझौला उद्योगबाट प्रशोधन गरेर बजारमा पठाउन सके त्यसको मूल्य बढ्ने र किसानको आर्थिक अवस्था सुधार हुने बताए ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले नेपालका दूरदराजका गरिब किसानको जीवन रूपान्तरणमा विगत २१ वर्षदेखि निरन्तर काम गर्दै आएको बताए । ग्रामीण क्षेत्रमा साना किसानले भोगिरहेको आर्थिक समस्यालाई निदान गर्ने एकमात्र संस्था साना किसान विकास लघुवित्त वित्तीय संस्था भएको उनले जिकिर गरे । उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साना किसानलाई गोलबद्ध गर्दै पूँजीको पहुँच वृद्धि गर्न सफल भएको बताए ।

लघुवित्तको २१औँ स्थापना दिवसका अवसरमा साना किसान विकास अभियानमा सहयोग पुर्‍याउने बाराकी सुगन्धी पासवान र सर्लाहीको लालबन्दीका मानबहादुर खड्कालाई सम्मान गरिएको थियो ।

साना किसान विकास आयोजनाका रुपमा विसं २०३२ देखि कृषि विकास बैंकमार्फत सुरु भएको साना किसान विकास कार्यक्रम विसं २०५८ मा साना किसान विकास बैंकका रूपमा स्थापना भएको थियो । अहिले लघुवित्त वित्तीय संस्थाका रूपमा साना किसान सहकारीलाई सेवा प्रवाह गर्दै आएको यस संस्थामा एक हजार २९१ सहकारी संस्थाको संस्थागत सहभागिता रहेको छ ।

यस वित्तीय संस्थाको सेवा ७६ जिल्लाका ५४० स्थानीय तहसम्म पुगेको छ । १० लाखभन्दा बढी घरपरिवारमा रु ८१ अर्बको कारोबार रहेको अहिलेको अवस्थामा सहकारीमा ७९ प्रतिशत महिला सहभागिता छ । रासस