
चितवन। अर्थसचिव मधुकुमार मरासिनीले सरकारको आगामी आर्थिक वर्षको बजेट कृषिमैत्री आउने प्रतिबद्धता जनाएका छन् । बुधबारबाट चितवनको भरतपुरमा सुरु भएको कृषि कर्जा मेलालाई सम्बोधन गर्दै उन्ले आगामी आर्थिक वर्षको बजेटको पहिलो प्राथमिकता कृषि क्षेत्र हुने बताएका हुन् ।
“अर्थ मन्त्रालय बजेट तयारीमा जुटेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षको पहिलो छलफल कृषि क्षेत्रबाट सुरु गरेको छ, आगामी बजेटको पहिलो प्राथमीकता कृषि हुनेछ,” उनले भने, “कृषि प्रधान देश ६१ प्रतिशत कृषक रहेको भन्ने र वर्षमा अरबौँको कृषिजन्य वस्तु आयात हुने र युवाहरू रोजगारी नपाएको भन्दै विदेश जाने, यो भन्दा दुर्भाग्य के होला ?”
उनले सरकार कृषिका लागि अनुकूल वातावरण बनाउन तयार रहेको बताए । “सरकार अनुकूल वातावरण तयार गर्ने निकाय हो । निजी क्षेत्र, बैंक, कृषकले काम गर्ने हो,” उनले भने, “अनुकूल नीति बनाउन अर्थमन्त्रालय प्रतिबद्ध छ । अगामी बजेट कृषिमैत्री आउँछ ।”
कृषिको मूल्य शृङ्खला जोडेर उत्पादनले उच्च मूल्य पाउने अवस्था रहँदा पनि कृषि क्षेत्र पछाडि परेको उनले बताए । “हामीले अन्यत्रको बजार नभए पनि मध्यपूर्वको बजार क्याप्चर गर्न सक्छौँ,” उनले भने, “कृषिका लागि केही कानुनी सुधार गर्नुपर्ने भए त्यसका लागि सरकार तयार छ ।”
उनले किसानमा वित्तीय साक्षरताको अभावलाई समस्याको रूपमा औँल्याए । “किसानले सहुलियत कर्जाको बारेमा जनकारी नपाएर वञ्चित भएको अवस्था छ । राज्यको नीति वित्तीय साक्षरताको कमीले गर्दा किसानसँग पुग्न सकेको छैन,” उनले भने ।
पूर्वमन्त्री गणेश शाहले वाटर, इनर्जी र फुडको कनेक्सन जोड्ने अपरिहार्य रहेको बताए । “किसानलाई उत्पादन गर्न मात्रै नभई बिक्री गर्न पनि सिकाउनुपर्छ । उत्पादक र उपभोक्तालाई कसरी जोड्न सकिन्छ त्यसमा ध्यान दिऔँ,” उनले भने, “किसानको लागि कर्जा त छँदै छ कसरी शिक्षा दिने त्यसमा ध्यान पनि दिऔँ ।
तीन दिनसम्म चलेको मेला र त्यसमा भएको बहसको समीक्षा गर्दै नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले किसानमा वित्तीय साक्षरताको कमी बैंकले पनि किसानलाई बुझाउन नसकेको देखिएको बताए ।
“सबैले सम्भावनाको पहिचान गरौँ । पहिचान भएका सम्भावनालाई मात्रै कार्यन्वयन गरौँ,” उनले भने, “पहिचान भएका सम्भावनालाई कार्यान्वयनमा लैजान सक्छौँ भनेर आफू पनि विश्वस्त हुनुपर्छ र स्टेकहोल्डरलाई पनि आश्वस्त पारौँ ।”
कृषि कर्जा मेलामा शुक्रबार साना किसानको वित्तीय पहुँचमा विकास साझेदारको भूमिका सम्बन्धी सम्वाद भएको थियो । सम्वादमा इजारयलका लागि पूर्व राजदूत डा. अन्जान शाक्यले निजी क्षेत्रले पनि कृषिमा लगानी गर्नुपर्नेमा जोड दिइन् ।
“किसानलाई निजी क्षेत्रले स्टेक होल्डर बनाएर अगाडि बढाउनुपर्छ,” उनले भनिन्, “किसानलाई उद्यमीको रूपमा अगाडि बढाउन सके कृषिको विकास हुन सक्छ ।”
आधुनिक कृषिबाट इजरायल समृद्ध बनेको उदाहरण दिँदै उनले नेपालमा पनि इजरायलबाट सिकेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । “विश्वमा इजरायल ‘मोर्डन एग्रिकल्चर’को रोलमोडल बनिसकेको छ,” उनले भनिन्, “इजरायलले पुष्प, च्याउ, स्ट्रबेरीमा एग्रो टुरिजमका लागि प्रयोग गरेको छ । जुन हामीले पनि गर्न सक्छौँ ।”
कृषि क्षेत्र विकास भए सबै औद्योगिक विकास हुन सक्ने भन्दै उनले राजनीतिज्ञले पनि सपना देखाउने मात्रै नभई त्यसलाई पूरा पनि गर्नुपर्ने उनले बताइन् । उनले इजायललले आधुनिक कृषिमा गरेको प्रयोगहरूको प्रस्तुतीकरण गर्दै नेपालमा पनि त्यसको लागि रिसर्चलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।