
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीका कृषकले बाँझिएको पाखोबारीमा केरा खेती गरेर हराभरा बनाएका छन् । तीन कृषकले कोरोना भाइरसको महामारी फैलिएपछि दुई वर्षअघि भएको बन्दाबन्दीको समयमा २७ रोपनी झाडी फाँडेर व्यावसायिकरुपमा केरा खेती सुरु गरेको हो ।
रघुगङ्गा–२ रिसिन चौतारीका बलबहादुर सुनार, रमेश कटुवाल र बुद्धिबहादुर कार्कीले केरा खेतीबाट आम्दानी गर्न थालेका छन् । न्यू कालीगण्डकी कृषि फर्मका सञ्चालक सुनारले पछिल्लो याममा एक लाख ५० हजार बराबरको केरा बिक्री गरेको बताए । “बन्दाबन्दीको फुर्सदमा झाडी फाँडेर ९०० केराका बिरुवा लगाएको थिए,” उनले भने,“सुरु गरेको डेढ वर्र्षमै आम्दानी हुन थालेको छ ।” करिब २० वर्र्षदेखि खेती हुन छाडेको पाखोबारीको झाडी फाँडेर तीनैजनाले केरा खेती सुरु गरेका थियो ।
कटुवालले आरम्भ र कार्कीले कालीगण्डकी कृषि फर्म सञ्चालन गरेका छन् । उनीहरुले केरा खेतीका साथै बाख्रा, बङ्गुर, कुखुरा र माछापालनसमेत गर्नुभएको छ । एकजनाले कृषि फर्ममा रु १५ लाखदेखि रु २० लाखसम्म लगानी गरेका छन् । बजार नजिक, यातायात सुविधा, अनुकूल भूगोल र हावापानी भएकाले केरा खेती गरेको कटुवालले बताए । “बाँझिएर खेर गएको पाखोबारी केराका बिरुवाले हराभरा बनेको छ,” उनले भने, “रोजगारी सिर्जना र आयआर्जनको अवसर पनि मिलेको छ ।” कटुवालले केरा खेतीसँगै व्यावसायिक कुखुरापालन समेत गरेका छन् ।
उनीहरुले स्थानीय बाइसे, मुङग्रे, धुस्रे र नङग्रे जातको केरा खेती गरेका छन् । “धान, कोदो, मकै, गहुँ खेती नहुने पाखोबारीमा बदामको मात्र खेती हुन्थ्यो,” कार्कीले भने, “बदामभन्दा केरा खेतीबाट चाररपाँच गुना बढी आम्दानी भएको छ ।” सो क्षेत्रमा यसअघि घरायसी प्रयोजनका लागि केरा खेती हुँदै आएको थियो ।
बैसरी, बेनी, पोखरेबगर र मुस्ताङमा केरा बिक्री हुन्छ । बैसरी हुँदै रिसिनचौतारी जोड्ने सडक बनेकाले व्यापारी केरा किन्न गाडी लिएर गाउँमै पुग्छन् । रघुगङ्गा गाउँपालिका–२ भगवतीका वडाध्यक्ष रिम कटुवालले बैसरी, रिसिनचौतारी, राममन्दिर र माझखर्कमा केरा खेतीको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गरिएको बताए । सिँचाइका लागि गाउँपालिका, कृषि ज्ञान केन्द्र र सिँचाइ कार्यालयमा पहल गरेको उनले बताए । रासस