ललितपुर। केन्द्रिय दुग्ध सहकारी संघले सरकारलाई तत्काल दूधको मूल्य वृद्धि गर्न माग गरेको छ । संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आत्मनिर्भर हुन लागेको दुग्ध क्षेत्र धरासायी बन्दा समेत सरकारले कुनै चासो नदेखाएको आरोप लगाएको हो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा डीडीसी, पशु सेवा विभाग, डेरी उद्योग संघ, डेरी एसोसिएसन र किसानको प्रतिनिधित्व रहनेगरी नयाँ मूल्य सिफारिस गर्न गठित समितिले मूल्य निर्धारण गरी सरकारलाई पेश गरिसक्दा पनि सरकार मौन रहेको संघले आरोप लगाएको छ ।

नयाँ मूल्य सिफारिस गर्न गठित समितिले प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउन बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्त मार्फत कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवलाई भेटेर प्रस्ताव गरी सकेको छ ।

दैनिक उपभोग्य वस्तु लगायत पशुआहारा, दाना, चोकर र कृषि श्रमिकको निरन्तर मूल्यवृद्धि भएपनि विगत लामो समयदेखि कच्चा दूधको मूल्यमा वृद्धि नहँदा नेपालभर छरिएर रहेका १८७२ सहकारीमा आवद्ध ५ लाख किसान पशुपालनबाट पलायन बन्ने संघले जनाएको छ ।

संघको आंकलन अनुसार अहिले फ्लस सिजन (धेरै दूध उत्पादन हुने ) मा दैनिक ६० लाख लिटर दूधको उत्पादन छ । जसको ५० प्रतिशत दूध बजारमा बिक्रीका लागि जाने गरे पनि औपचारिक च्यानलमा १७ प्रशित मात्रै दूध रहेको छ । यस अघि २०७६ साल भदौमा सरकारले दूधको मूल्य लिटरमा ६ रुपैयाँले बढाएर ७६ रुपैयाँ पु¥याएको थियो ।

प्रेस विज्ञप्ति :