डोटी। किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले एक गैरसरकारी संस्थाले शिखर नगरपालिकामा हाते ट्याक्टर वितरण गरेको छ ।

मानवीय सेवामा अनेकौं प्रयास नामक गैरसरकारी संस्था साइन नेपालले नगरपालिकाका पाँच वटा कृषक समूहलाई निःशुल्क रूपमा हाते ट्याक्टर वितरण गरेको हो ।

साइन नेपालद्वारा सञ्चालित केयर एण्ड रिलिफ परियोजनाअन्तर्गत किसानको आयआर्जनमा वृद्धि गर्ने र व्यावसायिक कृषिमा लाग्न प्रेरित गर्ने उद्देश्यले ट्याक्टर वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।

नगरपालिकाको सिफारिसमा भागेश्वर किसान समूह, रानीढंगा, तल्लिसैन, कैलपाल र डडिया किसान समूहलाई ती हाते ट्याक्टर उपलब्ध गराएको साइन नेपालका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए ।

ट्याक्टर पाएपछि आफूहरुको कामको बोझ घट्ने र आयआर्जनमा वृद्धि हुने भागेश्वर किसान समूहका अध्यक्ष राधिका शाहीले बताइन् । उनले भने, ‘गोरुबाट खेती किसानीको काम गर्दा समय बढी लाग्ने र दुःख पनि बढी थियो । अहिले हाते ट्याक्टर पाउँदा किसानलाई कामको बोझमा पनि कमी र छिटोछरितो काम हुनेछ ।’

समूहगतमा वितरण गरिएका ट्याक्टरको समुदायमा सही सदुपयोग भएमा आवश्यकता अनुसार अझ थप्न सकिने संस्थाले जनाएको छ । उक्त संस्थाले जिल्लामा शिक्षा, स्वास्थ्य, पोषण, आयआर्जन, सीपमूलक तालिमलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

यसैगरी जाडो बढ्दै गएपछि उक्त संस्थाले नगरपालिकाभित्र बसोबास गर्ने विपन्न, एकल महिला तथा वृद्धवृद्धा गरी करिब ३०० जनालाई कम्मल वितरण गरेको छ ।रासस