ललितपुर। धानपछिको मुख्य अन्नबालीमा पर्ने मकैको उत्पादनका पनि मुलुक निकै पछि परेको छ। आन्तरिक उत्पादनले मागको आधा पनि धान्दैन, अझ बीउको आयात ग्राफ निरन्तर उकालो लागेको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन्। खेतीको मौसम सुरु हुनै लाग्दा उक्त परिमाणमा बीउ आयात भएको हो।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा अर्जेन्टिना, ब्राजिल, भारत, क्यानडा दक्षिण अफ्रिका, टर्की, र अमेरिकाबाट ६ अर्ब ९१ करोड ९८ लाख ६६ हजार रुपैयाँ मूल्य बराबरको बीउ आयात भएको हो।

सबैभन्दा बढी भारतबाट ६ अर्ब २५ करोड ५७ लाख बराबरका १८ करोड ५५ लाख ८५ हजार ९५० किलो आयात भएको छ। त्यसपछि सबैभन्दा बढी मकैको बीउ आयात हुने मुलुकमा अर्जेन्टिना हो। सोही अवधिमा त्यहाँबाट ६५ करोड ४१ लाख ३४ हजार मूल्य बराबरका ७७ लाख ३२ हजार ५० किलो मकैका बीउ आयात भएको छ।

केही वर्षदेखि मकैको बीउको आयात बढ्दै गएको तथ्यांकले देखाएको छ। बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बालीविज्ञ प्रकाश आचार्यले तीन तहका सरकारबीच समन्वय हुन नसक्दा मकैको बीउको आयात बढेको भन्दै चिन्ता जनाए।

मकैको मूल बीउ अर्थात् प्रजनन बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र उन्नत बीउको उत्पादन निजी तथा सामुदायिक क्षेत्रमा हुने गरेका थिए। मुलुक संघीयतामा प्रवेश गरेसँगै तीन तहका सरकारबीच समन्वय र सहकार्य हुन नसकेकाले सामुदायिक क्षेत्रमा उन्नत जात ९हाइब्रिड० मकैका बीउ उत्पादन हुन लगभग बन्द भएकाले परनिर्भरता ह्वात्तै बढेको हो।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा दक्षिण अफ्रिकाबाट मात्रै १० करोड ९७ लाख ७० हजार मूल्य बराबरका १२ लाख ७४ हजार केजी मकैको बीउ आयात भएको छ। यसैगरी उक्त अवधिमा ब्राजिलबाट ७ लाख ९२ हजार २४० केजी, टर्कीबाट ३ लाख ४५ हजार केजी, अमेरिकाबाट ३ लाख आठ हजार ४२० केजी र क्यानडाबाट सात हजार ८०० केजी मकैको बीउ आयात भएको भन्सार विभागले जनाएको छ।

मकैको बीउवापत नेपालले ब्राजिललाई ६ करोड ४३ लाख ७० हजार, टर्की र अमेरिकालाई २ करोड ९६ लाख ९७ हजार र क्यानडालाई रु ६६ लाख २४ हजार भुक्तानी दिनुपरेको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा मकैको बीउ आयातबाट सरकारले ३७ करोड चार लाख ४२ हजार भन्सार असुली गरेको छ।

नेपालीको प्रमुख आहार धानपछि मकै भए पनि स्थानीय जातलाई बहुराष्ट्रिय कम्पनीका बीउले विस्थापित गर्ने सम्भावना बढेर गएको छ। मकैबाट पिठो बनाएर ढिडो, रोटी, पुवा एवं अन्य परिकार खाने चलन छ। मकै पोलेर, उसिनेर र कलिलोको तरकारी पनि खाने गरिन्छ।

पछिल्लो समय पशुपन्छीको दाना बनाउन धेरै प्रयोग हुन थालेको छ। नेपालले वार्षिक झण्डै पशुपन्छीको दानाको लागि चार लाख मेट्रिक टन मकै आयात गर्दै आएको छ।

किसानले भने सहजरुपमा अझैसम्म गुणस्तरीय बीउ पाउन सकेका छैनन्। उनीहरुले उन्नत जातका बीउ सरलरुपमा प्राप्त गर्ने हो भने उत्पादन बढाउन सकिने विभिन्न अनुसन्धानले देखाएको छ। नेपालमा मकैको उत्पादन झण्डै २२ लाख मेट्रिक टन छ। रासस