
वालिङ। आवस्यकता र महत्वलाई ख्यालराख्दै स्याङ्जाका युवाहरुले जागिर छाडेर कृषि पेशा अपनाउन थालेका छन् । अर्जुन चौपारी गाउँपालिका वडा नम्बर १ थापाथोकका पिताम्बर अर्याल ४ वर्ष शिक्षण र ४ वर्ष सहकारी संस्थामा व्यवस्थापकको जागिरको अनुभव पछि कृषि पेशामा लाग्नुभएको हो । अर्यालले २०७४ सालदेखि सुन्तला, कुखुरा र माछा समेत समेटेर दाजुभाई एकिकृत कृषि फर्म सञ्चालन गर्दै आउनु भएको छ ।
बुवाले सहायक बालीकारुपमा बारीको छेउछाउमा लगाउनु भएको सुन्तलालाई मुख्य नगदे बालीकारुपमा अर्यालले व्यवस्थापन गर्नुभएको हो ।
जागिरमा सीमित तलवमा काम गरेर प्रगति गर्न मुश्किल हुने सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि अर्याल कृषिकर्ममा आकर्षित हुनुभएको हो । आफ्नै बारीमा यति धेरै सुन्तलाका बोट छन्, तिनैलाई व्यवस्थित गरें भने स्वतन्त्रसँग आम्दानी गर्न सकिने देखेपछि व्यवसायमा लागेको अर्याल बताउनुहुन्छ ।
अर्याल भन्नुहुन्छ—सुरुमा केहि असजिलो महसुस भएपनि विस्तारै काम गर्दैजाँदा सहज र खुसी लाग्दै आयो । किनकि विक्रि गरेपछि तत्काल पैसा बुझन पाउने भएपछि मजा लाग्न थाल्यो । अरुले सामाजिक सञ्जालमा राख्नका लागि डोको बोकेको फोटो खिच्ने गर्छन् भने आफैंले वास्तवमै डोको बोकेर सामान विक्रि गर्दा छुट्टै आनन्द र गर्व लाग्छ ।
अर्यालको सुन्तला बगानमा अहिले ६ सय ४० फलदिने बोटहरु छन् भने तयारीमा १ सय ७० बिरुवा छन् । गतवर्ष १८ टन सुन्तला विक्रि गर्दा झण्डै १५ लाखको आम्दानी गर्नुभएका अर्यालले अहिले केहि कम भएकाले १० लाखको आम्दानी हुने अनुमान छ ।
आफूसंगैंका साथीहरु विदेश जाने गरेको र उनीहरुले बोलाए पनि कहिल्यै विदेश जान मन लागेन अर्याललाई । अर्याल भन्नुहुन्छ—शिक्षण र सहकारीको व्यवस्थापक भएपछि समाजमा एक खालको पहिचान बन्यो । त्यसपछि झन विदेश जान मन लागेन । तर अरुको दवावमा जागिर खाएर निर्वाह मात्रै हुने र आफ्नो व्यवसायमा कसैको दवाव पनि नहुने, परिश्रमको आधारमा कमाई पनि हुने भएपछि सुन्तला सहित कृषि व्यवसायमा लागेको हो । काम सुरु गरेपछि लिएको एक हप्ते तालीमले अर्याललाई सजिलो र आत्मबल बढायो । यसका साथै सुन्तला सुपरजोनमा सहभागी अवसर मिल्यो । यसपछि सुन्तलामा लाग्ने रोग किराका लागि कृषि ज्ञानकेन्द्रबाट प्राविधिक सहयोगका साथै आवस्यक औजारहरु प्राप्त हुँदै आएको छ, जसले गर्दा काम गर्न सहज बनाएको छ ।
थापाथोकमा अर्याल सहित ३२ घर परिवार सुन्तला सुपरजोनमा सहभागी छन् । गतवर्ष यो गाउँबाट मात्रै एक करोड भन्दा धेरैको सुन्तला विक्रि भएको थियो भने यसवर्ष ४० प्रतिशत घट्ने अनुमान छ ।
स्थानीय फणिनारायण अर्यालको बगानमा २२ सय बोट छन् र आफ्नो समेत गर्दा गाउँमा ५ हजार भन्दा धेरै सुन्तलाका बोटले फल दिएका छन् ।
अन्य पालिकाहरुमा किसानलाई सहयोगका साथै विभिन्न प्रोत्साहनका कार्यक्रममा सहभागिता गराएको सुन्ने गरेपनि अर्जुन चौपारी गाउँपालिकाबाट अहिलेसम्म कुनै साथ नपाएको अर्यालको गुनासो छ । किसानलाई मान्छै नै होइन जस्तो गर्ने र किसानहरुका लागि पालिकाले सरोकारको कुनै कार्यक्रम नल्याएको अर्यालको भनाई छ ।
गतवर्ष गण्डकी प्रदेशबाट अर्याललाई साढे सातलाख अनुदान मिलेको थियो । तर कृषकहरुमा अनुदान परेपनि मन खिन्न हुने र नपरे पनि मन खिन्न हुने अर्यालले सुनाउनुभयो । किनकि नपर्दा परेन भन्ने चिन्ता र परेपछि लिनका लागि झन्जटिलो हुने अर्यालको दुखेसो छ । आफूसँगै अर्जुन चौपारीका अरु तीन जनालाई अनुदान परेको थियो, यस क्रममा आफ्नोमा ११ पटक अनुगमन भयो तर अरु साथीहरुकोमा एक पटक पनि भएन । ११ पटकको अनुगमनले १ लाख कटौती भएको तितोसत्य अर्याल सुनाउनुहुन्छ ।
व्यवसाय गर्छु भनेर प्रस्तावनाका आधारमा अनुदान नमिल्ने, आफूले आधा लगानी गर्नुपर्ने, यसले पनि किसानहरुमा व्यावसायमा वाधा पुगेको अर्यालको विचार छ ।
कृषि व्यवसायमा वृद्धि गर्न सबैभन्दा पहिला जनचेतना ल्याउनुपर्छ भन्नुहुन्छ अर्याल । अझै पनि धेरै किसानहरु परम्परागत पद्धतिमा रहेका छन् उनीहरुका लागि तालीमको व्यवस्था गर्ने, व्यवसायिक कृषि सम्बन्धी चेतनामूलक कार्यक्रमहरु गर्ने, उत्पादित वस्तुको बजारीकरणको व्यवस्थापन गरिदिने हो भने कृषि पेशाले गतिलिन सक्छ । अनुदानले कृषकलाई केहि प्रोत्साहन त मिल्छ तर यो पनि अहिलसम्म पहुँँचका आधारमा वितरण हुने गरेको पाइन्छ, यसले वास्तविक किसान पछि पर्ने काम भएको छ ।
अनुदान भन्दापनि सस्तो व्याजमा कर्जा उपलव्ध गराउनसके किसानहरुलाई धेरै राम्रो हुने विचार अर्यालको छ । लगानी गरेपछि छिटो आम्दानीको अपेक्षा गर्ने सोंचका कारण युवाहरु कृषि पेशामा लाग्न नसकेको अर्यालको धारणा छ । आफू विदेश नगएपनि साथीहरुले भनेको सुन्दा विदेशमा गरिने मेहनत यहाँ गर्ने हो भनै धेरै गुना फाइदा लिन सकिन्छ । बाहिर जाने भनेपछि जतिपनि लगानी गर्न तयार हुने तर यहाँ केहि गर्छु भन्नेलाई समाजले विश्वास गर्न नसक्नुले पनि युवाहरु विदेश होमिने क्रम बढेको अर्यालको तर्क छ ।