वालिङ। कृषि प्रधान देश भएर पनि नेपाल कृषि उत्पादनमा आत्मनिर्भर हुन नसक्नु विडम्वना नै मान्नुपर्छ । किसानहरु परम्परागत खेति प्रणालीमै अल्झिनु र आधुनिक प्रविधियुक्त खेति प्रणाली अवलम्वन नहुनुले उत्पादनमा वृद्धि गर्न नसकिएको विज्ञहरु बताउँछन् । तर पछिल्लो समयमा आएर कृषिले विस्तारै व्यावसायिकता पाउने सङकेत देखिएको छ । फलस्वरुप नेपाली किसानहरुको उत्पादनले एकपछि अर्को गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पुग्न थालेको छ । देशबाट विभिन्न कृषिजन्य उत्पादनले अन्तर्राष्ट्रिय बजार बनाउने क्रममा स्याङ्जा पनि एक हो । स्याङ्जाका कृषि उपजहरुले विगत केहि वर्षयता क्रमिकरुपमा अन्तर्राष्ट्रिय बजार बनाइरहेका छन् ।

सुन्तला, कफि, अदुवा लगायतका वस्तुहरु विगत केहि वर्षदेखि विदेशको बजार पुग्ने गरेको स्याङ्जाबाट अब दुग्धजन्य उत्पादन पनि निर्यात हुन थालेको छ । साना किसान कृषि सहकारी संस्थाहरुको सक्रीयताले पनि आज धेरै कृषकहरुलाई व्यावसायी बन्नमा प्रेरित गरेका छन् । जसका कारण कृषि पेशा आर्थिक उपार्जनमा जोडिन थालेको छ । यसका साथै साना किसान कृषि सहकारी संस्थाहरुले बजारीकरणमा समेत भूमिका खेलेको छ । यसैक्रममा वालिङस्थित अकला साना किसान कृषि सहकारी संस्थाले स्थानीय किसानहरुले उत्पादन गरेका दूध संकलन र बजारीकरण गर्दै आएको छ ।

सहकारीले डेरी सञ्चालनमा ल्याएर दूध खरिद गरी दुग्धजन्य पदार्थ उत्पादन गरी बजारीकरणमा लागेको हो । संकलित दूधबाट विगत एक वर्षदेखि दूध, दहि, घिउ, पनिर उत्पादन गर्दै आएको डेरीले अब छुर्पी बनाएर निर्यात गर्न थालेको छ । गत वर्षदेखि छुर्पी उत्पादन गरी अमेरिकाको बजारमा निर्यात गर्न थालेको संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताउनुहुन्छ । भैंसीको तुलनामा गाईको दूधको मूल्य केही कम पर्नेहुँदा किसानहरुलाई चिन्तित बनाएको थियो । यसरी बजार नपाउने चिन्ता परेका बेला डेरीले सहजै खरिद गर्ने भएपछि व्यवसायीहरुलाई उत्साही बनाएको छ । अध्यक्ष अर्याल भन्नुहुन्छ—स्थानीय बजारमा दिएर बँचेको दूधलाई छुर्पी बनाएर बिक्रि गर्न थालेको र यसले किसानहरुमा थप हौसला मिलेको छ ।

कृषि मध्येमा पशुपालनलाई दुःखी पेशाको रुपमा हेरिन्छ तर तत्काल आम्दानी लिन सकिने पेशा हो । त्यसैले किसानहरुलाई आय आर्जनमा लाग्न प्रेरित गर्दै अगाडि बढेको अध्यक्ष अर्यालको भनाई छ । उहाँका अनुसार सहकारीले डेरी सञ्चालनमा ल्याएपछि वालिङ आसपासका धेरै किसानहरु लाभान्वित भएका छन् । किसानले उत्पादन गरेका दूध बजारमा विक्रि गर्नपनि सक्नुहुन्छ, यदि बाँकि रहेमा डेरीले किनिदिन्छ भने दूध विक्दैन कि भन्ने चिन्ता हटेको छ । व्यवसायीलाई ढुक्क र आत्मनिर्भर बनाउने उद्देश्यले पनि डेरी सुरु गरिएको हो भने गाउँका किसानलाई समृद्ध बनाउने अभियानमा लागिएको अध्यक्ष अर्यालले थप्नुभयो ।

दूधको बजार अझ पनि व्यवस्थित हुन सकेकोे छैन र त्यसमा पनि गाईको दूधको लागि धेरै समस्या भैरहेका बेला डेरीले खरिद गर्ने भएपछि धेरै सजिलो भएको छ । डेरीले छुर्पी बनाएर विदेशको बजारमा विक्रि गर्नु धेरै राम्रो भएको युवा किसान विष्णुप्रसाद भट्टराई बताउनुहुन्छ । सदावहार भैंसी फर्म सञ्चालन गर्दै आउनुभएका वालिङ १० भूम्रेका भट्टराईलाई अब गाई समेत पाल्ने उत्साह जगाएको छ ।

डेरीले दूध किनिदिने गरेपछि बजारीकरणमा सहज हुनुका साथै आफ्नो पौरख अमेरिकाको बजारसम्म पुग्नुले थप खुशी लागेको वालिङ ११ डौंवाका अग्रज किसान श्यामप्रसाद अर्याल बताउनुहुन्छ । यसलाई निरन्तरता दिनसके पशुपालक किसानहरुमा वृद्धि हुनुका साथै दुग्धजन्य उत्पादनमा आत्मनिर्भर हुन सकिन्छ र स्थानीय उद्यमशिलतामा टेवा पुग्ने अर्यालको धारणा छ ।

अहिले आएर गाउँ गाउँमा पशुपालनले व्यवसायिकता पाउन थालेको छ तर धेरैलाई बजारीकरणको चिन्ता भैरहेका बेला यसरी अन्तर्राष्ट्रिय बजार पाउनुले वालिङ १ मन्साङ्कोटका युवा कृषक कमल काफ्लेलाई पनि गर्व महसुस गराएको छ । उहाँ भन्नुहुन्छ—आफू जस्ता युवा किसानहरुलाई व्यावसायी बन्न अवस्य पनि हौसला मिल्ने छ ।

यस्तै अर्का युवा किसान भगवान काफ्लेले भन्नुहुन्छ—हाम्रो ठाउँमा भैंसीको दूधको बजार छ, त्यहि परिश्रममा गाईपाल्ने हो भने धेरै उत्पादन लिन सकिन्छ तर बजारको समस्या छ । किसानहरुको समस्यालाई मध्यनजर गरेर दूग्धजन्य पदार्थको विक्रि वितरणलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने कदमले काफ्लेलाई पनि उत्साही बनाएको छ ।

गतवर्ष दुई क्वीण्टल छुर्पी विक्री गरेको डेरीले यो वर्ष पाँच क्वीण्टल विक्रि गर्ने लक्ष्य छ ।