
म्याग्दी। म्याग्दीको बाँस्कुना गाउँमा उत्पादन गरिएको कलमी सुन्तला बजारमा आएको छ ।
म्याग्दीको बेनी नगरपालिका–४ बाँस्कुना गाउँको सुन्तला बगैँचामा यतिबेला कलमी सुन्तला खरीद गर्न व्यापारी आउने क्रम शुरु भएको त्यहाँका अगुवा किसान तिलक गुरुङले बताए ।
उनका अनुसार किसानले बोटबाट नै प्रतिकिलोग्राम रू. ६५ मा सुन्तला विक्री गरिरहेका छन् । सुन्तला उत्पादनको मौसम आगाडि नै बाँस्कुनाका केही किसानले बजारमा ताजा सुन्तला विक्री गर्ने उद्देश्यले कलमी गरिएको १ हजार ८०० केजी सुन्तला सदरमुकाम बेनी, पोखरा, काठमाडौं लगायतका बजारमा विक्री गरेका छन् ।
बजारमा अत्याधिक माग रहेको सुन्तलाको सिजन आगाडि नै उत्पादनमा जोड दिएको किसानले प्रतिकिलोग्राम रू। ९५ देखि १०० सम्म पर्ने गरी बजारमा विक्री गरेको सुन्तला किसान सन्दिप केसीले बताए ।
बाँस्कुनाबाट केसीसहित अगुवा किसान भीम थापा, रुपा गुरुङ, दलबहादुर कार्की, तिलक गुरुङलगायतको बगैँचाबाट कलमी सुन्तला विक्री भइरहेको छ । कलमी सुन्तला पोखरामा प्रति किलोग्राम रू. १५० र काठमाडौंमा रू. १८० मा विक्री हुने गरेको व्यापारी बताउँछन् । रासस