ललितपुर। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ।
मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबार आज (बुधबार) भएको छलफलमा नेपाल–इजरायल सहयोग कार्यक्रम ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’कोे विषयमा छलफल गरिएको थियो।
इजरायल सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रम २०७७ असोज १४ गते नेपाल र इजरायलबीच सम्झौता भएको थियो।
उक्त कार्यक्रम सञ्चालनका निम्ती नेपालका तर्फबाट सह-सचिवको नेतृत्वमा स्टेरिङ कमिटी गठन भइसकेको छ। यस्तै, इजरायलले पनि आफ्नो प्रतिनिधि छनोट गरिसकेको छ।
कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नेपाली कृषकहरूलाई इजरायली प्रविधिको तालिम/प्रशिक्षणको व्यवस्था गर्न सके नेपाली कृषि उत्पादनमा पनि वृद्धि हुने अपेक्षा व्यक्त गरिन्।
इजरायल सरकारले ‘कमाउ र सिक’को अवधारणाअनुसार पाँच सयजना बढी नेपाली विद्यार्थीहरूलाई हरेक वर्ष इजरायलमा ११ महिने तालिमको अवसर प्रदान गर्दै आएको छ।
यस्तै, इजरायली राजदूत गोडरले इराजयलको प्राविधिकि सहयोगमा सञ्चालन हुन गइरहेको नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स कार्यक्रम सफल बनाउन आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने बताए।
नेपाल र इजरायल सरकारद्वारा संयुक्त रूपमा सञ्चालन हुने उक्त कार्यक्रमले नेपालको कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायिकरणको लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ।
यसमा नेपाली कृषकहरूले आधुनिक प्रविधिको प्रयोग गर्दै नेपालको कृषि क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने लक्ष्य रहेको छ।