ललितपुर। समयमा रासायनिक मल नल्याएको भन्दै कृषि सामग्री कम्पनीले शैलुङ र मुक्तिनाथ कृषि कम्पनीलाई कारवाही गरेको छ । तोकिएको समयभित्र मल खरिद नगरेपछि सोमबार बसेको कम्पनी सञ्चालक समितिले शारदाप्रसाद अधिकारी सञ्चालक रहेको शैलुङ इन्टरप्राइजेज कम्पनी र मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनी कारवाही गर्ने निर्णय गरेको हो ।
सोमबारको बैंठकले मल खरिदमा दुवै कम्पनीले राखेको धरौटी रकम जफत गरेर कालोसूचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय भएको कम्पनीका सञ्चालक नेत्रबहादुर भण्डारी बताए । उनका अनुसार २५ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिदगर्न दुईवटा ठेक्का पाएको उक्त कम्पनीले सम्झौता अबधि गत मंसिरमा सकिए पनि केही समय थप गरिएको थियो ।
‘सम्झौता अबधिपछि हामीले अतिरिक्त ५४ दिन थप गरेका थियौँ, थपिएको समयमा मल खरिदको प्रक्रिया नै सुरु नभएपछि धरौटी रकम जफत गरेर कालोसूचिमा राख्न सिफारिस गरिएको हो’, उनले भने ।