महेन्द्रनगर। कञ्चनपुरको बेलौरी नगरपालिका–३ का फुलाराम चौधरी तरकारी खेती गर्न थालेको नौ वर्ष भयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएपछि सरकारले उपलब्ध गराएको जग्गामा तरकारी खेती गरेका चौधरीले अन्नखेती गर्न गाउँमा थप जग्गा समेत भाडामा लिएका छन् ।

“धानगहुँ भन्दा तरकारीमा मुनाफा बढी हुने देखिएपछि हामी चारै जना भाइ तरकारी खेतीमै लाग्यो”, उनले भने, “अहिले हाम्रो परिवारको खर्च चलेकै तरकारीबाट भएको आम्दानीले नै हो ।” यसअघि गाउँमा थोरै सङ्ख्यामा कृषक तरकारी खेतीमा लागेको भए पनि केही समयअघि गाउँमा दातृ निकायले सोलार सिंचाइ जडान गरिदिएपछि गाउँमा तरकारी खेतीमा आकर्षण बढेको उनको भनाइ छ ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले गाउँमा आयमूलक काममा लाग्न प्रेरित गर्न सोलार सिंचाइ जडान गरिदिएपछि गाउँमा १५ जना कृषक तरकारी खेतीमा आवद्ध भएका छन् । १७ कठ्ठा जमिनमा तरकारी खेती गरिरहेका चौधरीले कुनै पनि सरकारी निकायबाट गाउँमा कसैले पनि कृषि अनुदान नपाएको गुनासो गरे ।

“कृषिबाट अनुदान मिल्न भन्ने त सुन्छौँ तर पाएका छैनौँ”, उनले भने, “तरकारीको कमाइ समूह बनाएर बचत गर्ने बानीको पनि विकास यहाँ भएको छ ।” उनले एनएनएसडब्लुएले सिंचाइका लागि सोलार सेट, जडानका लागि लगानी र बोरिङ उपलब्ध गराएको बताए । यहाँ उत्पादित तरकारी स्थानीय बेलौरी बजार, धनगढी र महेन्द्रनगरसम्म खपत हुने गरेको कृषकको भनाइ छ ।

बेलौरी नगरपालिका–३ का वडासदस्य जगन्नाथ चौधरीले तरकारीका लागि बजारको समस्या नरहेको बताए । उनले स्थानीयवासी तरकारी खेतीलाई आयआर्जनको मुख्य पेशा बनाउँदै गइरहेको बताए । “तरकारी उत्पादन भएको बेला यहाँ टोकरीमा राखेर गाउँघर डुलाउँदै पनि बिक्री वितरण गरिन्छ ।” पाँच कठ्ठा जग्गामा तरकारी खेतीसमेत गर्दै आएका वडा सदस्य चौधरीले भने, “तरकारीको कमाइले घरखर्च चलिरहेको हुन्छ ।”

स्थानीय जनजागृति कृषि सहकारीमा आवद्ध भएर गाउँमा कृषक तरकारी खेती, कुखुरापालन, माछापालनलगायत काममा सक्रिय भएर लागेको चौधरीको भनाइ छ । कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि हाटबजार बन्द हुँदा बिक्री वितरणमा केही समस्या आएको उनको भनाइ छ ।

नेपाल राष्ट्रिय समाज कल्याण संघको सफल परियोजनाअन्तर्गत सोलार सिंचाइ उपलब्ध गराइएको हो । सफल परियोजनाका संयोजक राजकुमार सुनारले रु तीन लाख ८० हजारको लागतमा उक्त सिंचाइ सञ्चालनमा ल्याइएको बताए । उनले बेमौसमी तथा मौसमी तरकारी उत्पादनमा सहजता होस् भनेर सिंचाइ जडान गरिएको जानकारी दिए । “अहिले २५ जना कृषकले समूह बनाएर सिंचाइ उपयोग गरिरहेका छन् ।” उनले भने, “उक्त परियोजनाअन्तर्गत ग्रामीण क्षेत्रका धेरै कृषक लाभान्वित भएका छन् ।” रासस