ललितपुर। भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले पुस १७ गते अर्थात् अङ्ग्रेजी नयाँ वर्षबाट हटाएको हो । प्रतिबन्ध हटाउँदा बढेको प्याजको मूल्य अहिले घट्न थालेको हो ।

प्याज निर्यातमा प्रतिबन्ध हटाएसँगै शुरुआती चरणमा प्रतिकिलो रु १० सम्म मूल्य घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको तथ्याङ्कअनुसार आज प्रतिकिलो रु ६० देखि ६५ सम्ममा कारोबार भइरहेको छ । यसअघि पुस १५ गते प्रतिकिलो रु ६० देखि ७० मा कारोबार भइरहेको थियो । यसैगरी पुस १० गते प्रतिकिलो रु ७० देखि ८० सम्म कारोबार भएको थियो ।

कालीमाटीको तथ्याङ्कअनुसार प्रतिबन्धमा समेत विभिन्न नाका हुँदै पर्याप्त मात्रामा प्याज आयात भएको पाइएको छ । प्रतिबन्धको शुरुआती दिनमा प्याज आयातमा केही कमी आए पनि पछिल्ला दिनहरुमा पर्याप्त मात्रामा आयात भएको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गत असोज महिनामा मात्र ७७६ मेट्रिक टन प्याज आयात भएको थियो । भदौको अन्तिम साता प्रतिबन्ध लगाए पनि असोजमा उल्लेख्य मात्रामा प्याज भित्रिएको तथ्याँङ्क छ ।

यसैगरी गत कात्तिकमा एक हजार २९८ टन र मङ्सिरमा सबैभन्दा धेरै एक हजार ६९० टन प्याज भित्रिएको हो । यसैगरी पुस १ देखि १९ गतेसम्म एक हजार २५९ टन प्याज कालीमाटी तरकारी बजारमा भित्रिएको छ । जसमा एक हजार १७७ टन प्याज भारतबाट, ३० टन प्याज चीन तथा बाँकी ५२ टन नेपाली प्याज भित्रिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रतिबन्धको शुरुआती दिनहरुमा केही व्यापारीले चीनबाट प्याज आयात गरेपछि पछिल्ला दिनमा भारतबाट नै आयात भइरहेको थियो । पर्याप्त मात्रामा भारतबाट प्याज आयात भएपछि पछिल्लो समय यसको मूल्य विस्तारै घट्न थालेको छ ।

हाल नेपालमा खपत हुने प्याज ९० प्रतिशतभन्दा बढी भारतबाट आयात हुने गरेका छन् भने बाँकी चीन र नेपालमा नै उत्पादित प्याज प्रयोग हुने गरेको छ । रासस