ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्ने बताएकी छिन् ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘अब सबै मान्छे श्रममा नजोडिइकन पूँजीको विकास गर्न सकिदैन । पूँजीको विकास गर्दै समाजवादमा जोडिने हो । पूँजीको विकास गर्न सबै मान्छे श्रममा अनिवार्य रुपमा जोडिनुपर्छ ।’
श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने अहिलेको आवश्यकता भएको भन्दै उनले किसानलाई सम्मान नगर्ने हिजोको प्रचलनलाई बदलेर अब श्रमलाई सम्मान गर्ने पवबृत्तिको विकास गर्नुपर्ने बताइन् ।
विदेश गएर फर्किएका धेरै युवाहरु अहिले व्यवसायिक रुपमा कृषि कर्ममा लागेको बताउदै उनले अब स्वदेशमै रहेर बेरोजगार रहेका युवाहरुलाई पनि यसतर्फ आकर्षित गर्न आवश्यक रहेको बताइन् ।
कृषकले उत्पादन गरेका वस्तुले बजार नपाउने समस्याको अन्त्य गर्न आफू भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहँदा सहकारीमार्फत सहकारी बजार विकास कार्यक्रममार्फत कृषि बजारहरु सञ्चालन गरिएको स्मरण गर्दै मन्त्री अर्यालले सरकारले केन्द्र, प्रदेश र स्थानीय ३ तहको बजारको परिकल्पना गरेको र छिट्टै लागू गरिने बताइन् ।