ललितपुर। यस वर्ष धान उत्पादनामा १.२८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको थियो भने यसवर्ष ५६ लाख २१ हजार ७१० मेट्रिकटन धान उत्पादन भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

गतवर्षको तुलानामा ७० हजार ८३१ मेट्रिकटन बढी धान उत्पादन भएको हो । गत वर्षको तुलनामा यसपटक धान खेतीको क्षेत्रफलमा पनि वृद्धि भएको मन्त्रालयले जनाएको छ । यसपटक १४ लाख ७३ हजार ४७४ हेक्टरमा धान उत्पादन भएको हो । मन्त्रालयको अनुसार यसवर्ष हालसम्मकै सबभनदा बढी उत्पादकत्व दिएको हो ।यसपटक ३.८२ प्रतिशत पुगेको छ जुन गत वर्ष भन्दा ०.२८ प्रतिशत बढी र हालसम्मकै उच्च उत्पादकत्व रहेको मन्त्रालयले जनाएको छ । विगत पाँच वर्षका धान उत्पादन विश्लेष्ण गर्दा आर्थिक वर्ष २०७३/०७४ को तुलनामा यो उत्पादन करिब ७.४८ प्रतिशतले बढी अर्थात ३ लाख ९१ हजार मेट्रिकटनले बढी भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार सातवटै प्रदेशमध्ये प्रदेश २ मा सवैभन्दा बढी धान उत्पादन भएको छ । त्यहाँ १४ लाख ३२ हजार ८१९ मेट्रिकटन धान उत्पादन भएको छ भने प्रदेश १ मा १२ लाख ७५ हजार ५५४, बागमती प्रदेशमा ५ लाख ९ हजार ५९०, गण्डकी प्रदेशमा ३ लाख ९७ हजार ९४, लुम्बिनी प्रदेशमा १२ लाख २४ हजार ४९७, कर्णाली प्रदेश, एक लाख ३७ हजार १६५ र सुदूरपश्चिम प्रदेशमा ६ लाख ४४ हजार ९९१ मेट्रिकटन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।