दमौली। तनहुँको देवघाट गाउँपालिका–३ ल्हुङ्ग्रीङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । उक्त गाउँबाट मात्रै यस वर्षको मौसममा रु. तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । सुन्तला बिक्री गरेर यहाँका एक कृषकले मात्रै रु. २२ लाख आम्दानी गरेका छन् । स्थानीय भीम रानाले यस वर्ष सुन्तला बिक्रीबाट उक्त आम्दानी भएको बताए ।
“सुन्तलाखेती नै यहाँका कृषकको मुख्य आम्दानीको स्रोत हो”, उनले भने, “सुन्तला बिक्री गरेर कृषकले मनग्य आम्दानी गरिरहेका छन् ।” रानाले एउटा बगैँचाबाट रु १५ लाख र अर्को बगैँचाबाट रु सात लाख बराबरको सुन्तला बिक्री गरेका छन्। “सुन्तला बिक्रीका लागि समस्या छैन”, उनले भने ।
स्थानीयवासी कर्णसिं गुरुङले रु. १८ लाख, नवराज गुरुङले रु. १५ लाख, रामबहादुर रानाले रु. १२ लाख बराबरको सुन्तला बिक्री गरेका छन् । “सुन्तला बिक्री गरेर आम्दानी नगर्ने कुनै घर छैनन्, विगतमा अन्य खेती गरेका पनि अहिले व्यावसायिकरुपमा सुन्तलाखेतीमा आबद्ध छन्”, उनले भने । उनका अनुसार यस ठाउँबाट मात्रै करिब रु तीन करोड बढीको सुन्तला उत्पादन भएको अनुमान छ ।
देवघाट गाउँपालिकाका कृषि तथा पशु शाखाका प्रमुख पूर्णचन्द्र अधिकारीले ल्हुङ्ग्रीङ गाउँ देवघाटकै सुन्तलाको पकेट क्षेत्र रहेको जानकारी दिए । उनले यहाँका कृषकले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएको जानकारी दिँदै उनले भने, “हरेक घरमा सुन्तला छ, कति बिक्री भयो भन्ने चाँही तथ्याङ्क आउन बाँकी छ ।”
कृषि ज्ञान केन्द्र तनहुँका अनुसार गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष आठ हजार ५ सय मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष आठ हजार मेट्रिकटन मात्रै सुन्तला उत्पादन भएको केन्द्र प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।
“उपयुक्त मौसम नभएकाले यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ”, उनले भने, “१५ प्रतिशत कम उत्पादन भएको प्रारम्भिक तथ्याङ्क छ ।” तिवारीका अनुसार यस वर्ष करिब रु २३ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लाको एक हजार ५ सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ ।
जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ मा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । व्यास नगरपालिका–११ तनहुँसुर, वडा नम्बर १३ बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमति लगायतका ठाउँमा व्यावसायिकरुपमा सुन्तला उत्पादन हुँदै आएको छ । रासस