जाजरकोट। निरन्तरको ताकेतापछि उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी कार्य शुरु भएको छ । सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको छ ।

उक्त परिमाणमध्ये ४४० क्विन्टल चामल दुनै पुगेको छ । छार्काताङसोङ गाउँपालिकाको ढारगाउँमा १०० क्विन्टल चामल पुगिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए । उनका अनुसार झण्डै एक हजार क्विन्टल चामल बाटोमा जाँदैछ । सदरमुकाम दुनैसम्म यातायातका साधन हुँदै सोभन्दा माथि खच्चडमा ढुवानी गरिएको उनको भनाइ छ ।

चीनको बाटो हुँदै खाद्यान्न ढुवानी हुँदै आएकामा यो वर्ष नेपाली भूमिबाट नै खाद्यान्न ढुवानी कार्य भएको हो । कोरोनाका कारण चीनले नाका बन्द गरेपछि सुर्खेतबाट चामल ढुवानी गरिएको छ । दिनेश निर्माण सामग्री सप्लायर्स बाँकेले चामल ढुवानीको जिम्मा लिएको छ । सप्लायर्सले सुर्खेतबाट डोल्पोबुद्धको धो, छार्काताङसोङको ढारगाउँ र शेफोक्सुण्डोको साल्दाङसम्म चामल ढुवानी गर्नेछ । धोसम्म आठ हजार ४८०, ढारगाउँसम्म नौ हजार ४९० र साल्दाङसम्म १० हजार ९९५ प्रतिक्विन्टल चामल ढुवानी भइरहेको हो ।

माथिल्लो डोल्पाका स्थानीयवासीले अनुदानको मोटो चामल चार हजार ९०० र जिरामसिनो चामल रु छ हजार ६०० मा किन्न पाउने कम्पनीले जनाएको छ । यसअघि स्थानीयवासी बजारबाट महङ्गो मूल्यमा चामल खरिद गरी उपभोग गर्न बाध्य थिए । डोल्पाका ग्रामीण बजारमा प्रतिक्विन्टल रु १२ देखि २० हजारमा चामल बिक्री भइरहेको छ ।रासस