ललितपुर। सरकार र उखु किसानको वार्ता निष्कर्षविहीन सकिएको छ । आइतबार उद्योग मन्त्रालयमा भएको वार्तामा कुनै सहमति नहुन नसकेपछि भोलि सोमबार १२ बजे बस्ने निर्णय भएको उखु किसान संघर्ष समितिका सचिव हरेश्याम यादवले जानकारी दिए ।
“आज वार्ताका लागि मन्त्रालयमा बोलाएको थियो । वार्ता भयो तर कुनै निष्कर्ष निस्किएन । भोलि फेरि १२ बजे बैठक बस्ने भनिएको छ,” उनले भने ।
किसानहरुले वार्तासँगै शान्तिपूर्ण आन्दोलन पनि जारी रहने बताएका छन् । गत वर्ष सरकारसँग भएको वार्ताको सहमति कार्यान्वयन नभएको र ४ वर्षदेखि पाउनुपर्ने उखुको भुक्तानी नपाएकै भन्दै गत आइतबारदेखि उनीहरु आन्दोलनमा छन् ।