वाग्मती। कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौंडामा ९१ लाख रुपैयाँ बराबरको गहुँ बीउ विक्री नभई थन्किएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्ष ०७७/०७८ मा १ हजार ४०८ मेट्रिक टन विक्री गरिएको भए पनि हाल करीब १४० मेट्रिक टन गहुँको बीउ विक्री नभई गोदाममा थन्किएको छ ।
पछिल्लो पटक अन्य बीउ बिजन उत्पादक कम्पनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा कार्यालयमा हाल १४० मेट्रिक टन गहुँको बीउ विक्री नभएर थन्किएको कार्यालयका सूचना अधिकारी गणेश जोशीले जानकारी दिए ।
सो विक्री नभएको गहुँको बीउको अनुमानित मूल्य करीब ९१ लाख रुपैयाँ रहेको छ । कार्यालयले गहुँको बीउ प्रतिकेजी ६५ रुपैयाँमा सहकारी संस्था र निजी बीउबिजन विक्री गर्ने आपूर्तिकर्ताहरुलाई विक्री वितरण गर्दै आएको थियो । पछिल्लो पटक निजी बीउ विक्री उत्पादक कम्पनीले प्रतिकेजी ५५ रुपैयासम्म पनि विक्री गरेपछि कृषि सामग्री कम्पनीमा मौज्दात गहुँका बीउ विक्री नभएको कार्यालयको जिकिर छ ।
गहुँको बीउ समयमै विक्री गर्न लिमिटेडको सञ्चालक समितिको बैठकबाट मात्रै रकम घटाउन सकिने अन्यथा कार्यालयले कम मूल्यमा गहुँको बीउ विक्री गर्न पाइने छैन । अब सो गहुँको बीउ विक्री नभएपछि लिलाम गरिने वा सुरक्षित गरी प्रशोधनपश्चात् अर्को वर्ष विक्री गरिने कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए।
कार्यालयको कार्य क्षेत्रअन्तर्गत चालू आवमा वाग्मती प्रदेशको मकवानपुर, चितवन र काठमाडौं तथा प्रदेश नं २ को बारा, पर्सा र रौतहटसहित अन्य जिल्लामा सम्बन्धित कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसका आधारमा गहुँको बीउ उपलब्ध गराउँदै आएको थियो ।
किसानसँग वैशाख महीनासम्म खरीद गरी राखेको गहुँको बीउलाई कम्पनीले प्रशोधनपश्चात् विक्री वितरण गर्ने गर्दछ । त्यसपछि कार्यालयले उचित प्रशोधन गरी हरेक कात्तिक महिनादेखि मंसिर मसान्तसम्म गहुँको बीउ विक्री गर्ने गर्दछ । हरेक वर्षको कात्तिक महीनादेखि पुसको पहिलो सातासम्म गहुँ छर्न उपयुक्त समय मानिन्छ । यस वर्ष विक्री गरिएको १ हजार ४०८ मेट्रिक टन बीउबाट करीब ३८ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान छ ।
हेटौँडामा यसअगावै रहेको साविकको राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड र साविकको कृषि सामग्री संस्थानलाई समावेश गरी सङ्घीय संरचनाअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयको रूपमा स्थापना गरिएको थियो । रासस