नेपालको अर्थतन्त्रमा झण्डै एक तिहाई हिस्सा कृषि क्षेत्रले ओगटेको हुनाले कुल ग्रार्हस्थ उत्पादनको वार्षिक वृद्धिदर कृषि क्षेत्रको उत्पादनमा निर्भर रहदै आएको छ । कुल ग्राहस्थ उत्पादनमा अझै पनि कृषि क्षेत्रको योगदान ३४ प्रतिशतको हराहरीमा रहेको छ । जबकि कृषिमा निर्भर जनताको प्रतिशत कुल जनसँख्याको ६५ प्रतिशत छ । सरकारले वर्षेनी कृषिका लागि विभिन्न कार्यक्रमहरु ल्याए तापनि त्यस्ता कर्याक्रमहरुको प्रभावकारी कार्यन्वयन हुन नसक्दा सोचे जस्तो प्रतिफल हासिल हुन सकेको छैन । कृषि पेशामा आश्रित जनताको आय आर्जनमा खासै परिवर्तन भएको देखिदैन । मूलतः कृषि कार्य जनजिविकाको परिपुर्ति गर्नेभन्दा बढी हुन सकेको छैन ।

कृषकहरुलाई आत्मनिर्भर, व्यवसायमुलक र निर्यातमुलक बनाई दिगो आर्थिक विकासमा टेवा पुग्न सकोस् भन्ने अभिप्रायले कृषकहरुलाई केन्द्रविन्दुमा राखेर देशको आर्थिक नितिको तर्जुमा गर्नुपर्छ । देशको आर्थिक निती तर्जुमा गर्दा कृषि प्रणालीको विशेषता बुझ्नु जरुरी छ । हाम्रो देशको कृषि प्रणाली मनसुनमा आधारित छ । कृषि पेशा व्यवसायिक भन्दा निर्वाहमुखी छ । कृषि क्षेत्रमा पूर्ण रोगारी छैन । परम्परागत कृषि प्रणाली अवलम्बन गरिएको छ । कृषि भूमीको खण्डीकरण भएको छ ।

कृषि खाद्यान्नको उत्पादनको प्रमुख श्रोत, उद्योगका लागि कच्चा पदार्थको स्रोत, औद्योगिक उत्पादनको उपयोग, निर्यातको मुख्य स्रोत, व्यापारमा सहयोग, रोजगारीको सिर्जना र देशको अर्थतन्त्रको मेरुदण्ड हो । तर परम्परागत कृषि प्रणाली, विउ विजनको अभाव, कृषि औजारको अभाव, आवश्यक बाजारको अभाव , सिंचाईको असुविधा, अध्ययन अनुसन्धान नभएको, कृषि प्राविधिकहरुको अभाव, भूमीको असामान वितरण, अत्यधिक जनसंख्याको भार, यातायातको असुविधा, कृषि ऋणको अभाव जस्ता समस्याहरुबाट प्रभावित छ ।

नेपालको कृषि प्रणालीलाई विकसित पार्ने योजना बनाउन सरकारले कृषकहरुका लागि प्राविधिक तथा ब्यवसायिक कृषि शिक्षा र तालिमको पर्याप्त व्यवस्था, उन्नत कृषि औजार, बीउबिजन, मलखाद आदिको सर्वसुलभ व्यवस्था, कृषिमा आधारित उद्योगधन्दाको स्थापना र विस्तारमा जोड, कृषि क्षेत्रमा यातायातको सुविधाको पहुँच विस्तार, कृषि भूमीको न्यायोचित र वैज्ञानिक वितरणका लागि प्रगतिशील भुमिसुधार योजनाका साथै आवश्यक अनुसन्धानात्मक कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।

कृषिको विकासमा यातायातको ठूलो भुमिका रहेको हुन्छ । यातायातको असुविधा नै कृषि उत्पादन बढाउन नसकिने अरको प्रमुख कारण हो । कृषि र उद्योग बीचको सम्बन्धलाई जोड्ने एक महत्वपुर्ण माध्यम व्यापार हो । व्यापारका लागि यातायातको सुविधा अनिवार्य हुन्छ । यातायातको असुविधा भएको खण्डमा एकातिर कृषि उपजले बजारको पहूँच पाउदैनन् भने अर्कातिर उद्योग निर्मित कृषि औजार, उन्नत बीउबिजन, मल तथा औषधिको पहूँचमा आइपुग्दैनन् । बजारको अभावमा कृषकहरु त्यति उतसाहित हुदैनन् भने आवश्यक मल, बीउ आदिको अभावमा कृषिको उत्पादकत्व समेत घटेर जान्छ । यसर्थ यातायातको असुविधाका कारण पनि कृषि उत्पादन बढाउन सकिदैन ।

सरकारले कृषिको उतपादनमा होईन कृषिजन्य उद्योगमा ध्यान दिनु जरुरी छ । देशको तिव्र आर्थिक वृद्धिदर कायम गर्नका लागी उद्योगको ठुलो भूमिका हुन्छ । विश्वका सबै देशहरुको आर्थिक विकास औद्यौगिक विकासको कारणले गर्दा सम्भव भएको हो । औद्योगिक निति २०६७ ले उद्योगलाई १. उत्पादनमुलक उद्योग २. निकासी मुलक उद्योग ३. उर्जामुलक ४. खानीजन्य ५. पर्यटन उद्योग ६. निर्माणमुलक ७. सेवामुलक ८. सुचना तथा सञ्चार प्रविधियुक्त ९. कृषि तथा वन पैदावरमा आधारित उद्योग गरि नौ प्रकारमा विभाजन गरेको छ ।

उद्योग सञ्चालनका लागि कच्चा पदार्थ, यातायात तथा सञ्चारको सुविधा, विद्युत तथा अन्य उर्जा , दक्ष जनशक्ति, बजार, पूँजी, वित्तीय सुविधा आदि हुनुपर्छ । कृषिसंग सम्बन्धित उद्योग क्षेत्रमा

रोजगारीका अवसरमा वृद्धि, देशको प्राकृतिक स्रोत साधनको सदुपयोग, राष्ट्रिय उत्पादनमा वृद्धि निर्यातमा वृद्धि, आयात प्रतिस्थापन गर्न सकियो भनेमात्र राष्ट्रिय आयमा वृद्धि, आत्मनिर्भरता र राष्ट्रिय सुरक्षालाई सशक्त बनाउन सकिन्छ । त्यसका लागि नेपालमा उद्योगको समुचित विकासका लागि सरल र सहज तरिकाले कम व्याजदरमा ऋण पाउने व्यवस्था, बजारको व्यवस्था, उद्योगहरुलाई प्रोत्साहन, स्पष्ट सरकारी नीति, यातायात र सञ्चारको सुविधा, गोदामघरको सुविधा एवं सरल तरिकाले इजाजत प्रदान गर्ने व्यवस्था हुनुपर्छ ।

देशमा उपलब्ध स्रोत र साधनहरुको सहि र व्यवस्थित रुपमा सञ्चालन गर्न जनशक्तिको आवश्यकता पर्दछ । जुन देशमा दक्ष जनशक्तिको विकास भएको हुन्छ , त्यस देशको आर्थिक विकास द्रुत गतिमा हुन्छ । विभिन्न क्षेत्रमा दक्ष जनशक्तिको योगदानले नै देशको आर्थिक सामाजिक स्थिति सुदृढ हुन जान्छ ।

(लेखक भण्डारी कामको सिलसिलामा करिव दुई दशक भन्दा बढी कर्णालीमा बसी अध्ययन गर्नु भएका कर्णालीसम्बन्धी विज्ञ हुन् । कर्णाली क्षेत्रमा विभिन्न विकाससँग सम्बन्धित सङ्घसंस्थाहरूमा आवद्ध भई कार्य गरेका भण्डारी हाल कृषि तथा वन विश्व विद्यालयमा एडजङ्क्ट प्रोफेसर पदमा आंशिक रुपमा कार्यरत छन् ।)