
गुणस्तरीय बीउको प्रयोग कृषि उत्पादन बृद्धिको प्रमुख कारक भएकाले गुणस्तरीय बीउको उपलब्धता कृषि कार्यमा संलग्न सबै किसानहरुको माग र राष्ट्रको आवश्यकता हो । किसानले प्रयोग गर्ने बीउ गुणस्तरीय हुनको लागि बीउ मुल्य श्रृङ्खलाका सबै तहमा बीउको गुणस्तर सकेसम्म बढाउने नसकिए घट्न नदिने खालका क्रियाकलापहरु सञ्चालन गर्नुपर्छ । खाने अन्नको उत्पादन र बिक्री वितरणका क्रममा गरिने क्रियाकलापहरुको तुलनामा बीउ उत्पादन र वितरणमा केही अतिरिक्त कामहरु गर्नुपर्ने भएकाले खाने अन्नको भन्दा बीउको बजार मूल्य बढी हुने गरेको हो । गुणस्तरीय बीउ उत्पादन र बिक्री वितरणको लागि निम्नलिखित कार्यहरु गर्नुपर्दछ ।
१. बीउ बाली खेत निरीक्षण
बीउ बाली लगाईएको खेत कम्तिमा २ देखि ५ पटकसम्म निरीक्षण गर्नुपर्दछ । प्रमाणीकरण पद्धति अनुसार बीउ उत्पादन गरिएको छ भने निरीक्षणको काम बीउ प्रमाणीकरण निकायमा कार्यरत कर्मचारीबाट हुन्छ तर बीउ यदि यथार्थ सङ्केत–पत्र पद्धति अनुसार उत्पादन गरिएको छ भने खेत निरीक्षणको काम उत्पादक आफैले वा बीउ उत्पादनको विषयमा जानकार व्यक्तिबाट गराउनु पर्छ । खेत निरिक्षणको काम जसले गरे पनि खेतमा हेर्नुपर्ने र गर्नुपर्ने कार्यहरु भने उही हुन् । बी बाली खेत निरीक्षण्को क्रममा निम्न कुराहरु हेर्नुपर्छ ।
क. पृथकता दुरी कायम भएको छ कि छैन – भौतिक दुरी वा समय पृथकता
ख. स्वेच्छिक बोट बिरुमा देखा परेको वा नपरेको
ग. बेजात बोटको सङ्ख्या
घ. निषेधित रोग र निषेधित झारपातको अवस्था
निरीक्षणको क्रममा खेतमा देखिएका रोग तथा किराले आक्रमण गरेका विरुवा र बीउ बाली बाहेकका सम्पूर्ण बिरुवा हटाउनु पर्छ । यो कार्यलाइ रगिङ्ग भनिन्छ र बीउ बाली लगाएको खेतमा गर्नुपर्ने यो सबैभन्दा महत्वपुर्ण कार्य हो । यसरी हटाइएका बोट बिरुवा खेतबाट अलि टाढै पु¥याई नष्ट गर्नु पर्दछ । खेत निरीक्षणबाट त्यहाँ लगाईएको बीउ बाली नेपाल सरकारले निर्धारण गरेको स्तर भित्र पर्छ वा पर्दैन भन्ने कुरा निक्र्याैल गर्नुपर्छ ।
२. प्रयोगशाला परीक्षण :
बीउ गुणस्तरीय छ वा छैन भनि थाहा पाउने अर्काे महत्वपुर्ण तरिका बीउको प्रयोगशाला परीक्षण हो । प्रयोगशालामा बीउको गुणस्तरीयताका बारेमा जानकारी लिन प्राय सबै किसिमका परीक्षण गर्न सकिने भएता पनि प्रशोधित बीउको लटबाट विधिपूर्वक नमूना लिई भौतिक शुद्धता उमार शक्ति र चिस्यान परीक्षण गराउनु पर्छ । यी तीनवटा परीक्षणमा बीउ स्तर भित्र रहेको पाइयो भने ट्यागमा भौतिक शुद्धता, उमार शक्ति र चिस्यान प्रतिशत जनाई बिक्रि बितरणमा लैजानु पर्छ ।
आफूले उत्पादन र प्रशोधन गरेको बीउ गुणस्तरीय बनाउनको लगि सर्वप्रथम आफै सक्रिय हुुनुपर्छ । आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम ठीक ढङ्गले गरियो भने प्रयोगशालाबाट आउने नतिजा पनि राम्रो आउँछ । यसका लागि निम्न कुराहरुमा बिचार पु¥याउनु पर्दछ :
क. बीउलाई राम्रोसँग सुकाउनु पर्दछ । तर लगातार कडा घाममा सुकाउनु हुदैँन । यदि लामो समयसम्म घाममा नै सुकाउनु पर्ने हो भने, केही समय सुकाउने त्यसपछि उठाउने अनि फेरि सुकाउने गर्नुपर्छ । राम्रोसँग सुकेको बीउ दाँतले टोक्दा फुट्छ, किचिक्क गर्दैन ।
ख. बीउमा हुने पानीको मात्रा बढी भयो भने बीउ तुरुन्तै बिग्रिन्छ । त्यसकारण बीउलाई ओस वा सेपबाट जोगाउनु पर्दछ । यसको लागि बीउ उत्पादन समूह वा सहकारी आफैसँग बीउमा हुने पानीको मात्रा नाप्ने यन्त्र (Moisture Meter) हुनु सबैभन्दा उपयुक्त मानिन्छ ।
ग. बीउलाई राम्रोसँग सफा गर्नुपर्दछ । हाल नेपालमा ग्रेडरबाट मात्र प्रशोधन गरेको बीउ बेचबिखन गरिन्छ । ग्रेडरबाट मात्र सफा गदौ भौतिक हिसाबले बीउलाई शुद्ध बनाउन गाह्रो पर्छ र यसको असर उमार शक्तिमा समेत पर्छ । त्यसैले बीउलाई सकेसम्म प्रिक्लिनर, क्लिनर, ग्राभिटी सेपरेटर र ट्रिटर सहितको सेटबाट प्रशोधन गर्नुपर्छ ।
घ. बीउ भण्डारण गर्दा जमिनबाट करिब ६ इञ्च अग्लो काठको संरचना बनाएर राख्न पर्छ । त्यस्तै, बीउलाइ भित्तामा नछुवाई बिच–बिचमा हिड्ने बाटो राखेर भण्डारण गर्नुपर्छ ।
ङ. यति गर्न सकियो भने प्रयोगशाला परीक्षणमा नराम्रो नतिजा आउँदै आउँदैन ।
३. आन्तरिक तथा बाह्य अनुगमन
बीउ उत्पादनको समयमा उत्पादक, प्रशोधनको समयमा प्रशोधनकर्ता तथा भण्डारणको समयमा संचयकर्ता आफैले बीउको गुणस्तर अनुगमन गरी राख्नुपर्छ । यस किसिमको आन्तरिक अनुगमन भण्डारणको समयमा अलि बढी नै गर्नुपर्ने हुन्छ । बीउ भण्डार गरिएको ठाँउमा कतैबाट चिस्यान छिर्याे कि ? मुसा, कीरा वा ढुसीको आक्रमण भयो कि? या यस्तै बीउको गुणस्तर बिग्रने अरु कुनै काम भएको छ कि ? भनी हेर्नुपर्छ र त्यस्तो केही भएको पाइए तुरुन्तै नियन्त्रण गर्नुपर्छ ।
बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, क्षेत्रीय बीउ बिजन प्रयोगशाला, नेपाल कृषि अनुसन्धान परिषद् तथा जिल्ला कृषि विकास कार्यालयहरुबाट बीउ उत्पादनदेखि वितरणसम्मका विभिन्न अवस्थामा गुणस्तर अनुगमन गरी सम्वन्धित पक्षलाई सुझाव दिई राख्न पर्छ । बीउ उत्पादनदेखि वितरणसम्मका कुनै पनि अवस्थामा बीउ विग्रन गयो भने बाली लगाउने समयमा बीउको अभाव हुन गई देशको कृषि उत्पादन घट्न जाने सम्भावना हुने भएकोले बीउको गुणस्तर कायम राख्ने कुरामा मूल्य श्रृङ्खलामा आवद्ध सबै तथा त्यसमा सहयोग पु¥याउने निकाय क्रियाशील भइराख्नु पर्छ ।