सिमकोट। आज बिहानदेखि हिमपात हुँदा किसान खुसी भएका छन् । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुसी भएका हुन ।

सोमबार बिहानै हिमपात भएपछि किसानमा खुसीयाली छाएको स्थानीय भक्त रोकायाले बताउनुभयो । लामो समय पानी नपरेको कारण जमिन सख्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने बिस्वास किसानलाई छ । हिमपातले किसानका लागि जेठासी बाली छर्न सहज भएको धुलो हराएर जिल्लामा फैलिएको रुघाखोकी पनि बिसेक हुने उहाँले बताउनुभयो ।

हुम्लामा रुघाखोकी बिरामी बढेका छन् । त्यो संगै यो हिमपात हुम्लामा दोस्रो पटक हो । उत्तरी हुम्लाका उच्च स्थानमा पहिलो हिमपात कात्तिक १८ गते भएको थियो । हिमपातले चिसो भने बढेको छ । बिहान तापक्रम माईसन सात डिग्री पुगेको छ । उत्तरी हुम्ला सेताम्मे भएको छ भने तिहारका टिका लगाउन केही कठिनाई हुनेछ ।

स्रोत : गोरखापत्र