बलेवा। स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेतमा रोपाईं, गोडाई र उठाउने बेला लाग्ने खेतालाको खर्च समेत धान र परालले उठाउन बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजाललाई हम्मेहम्मे हुन्थ्यो । उहाँले परम्परागत खेती नै गर्दै आउनुभएको थियो । झण्डै पाँच रोपनी जमीन जोत्न दुई दिन लाग्थ्यो । पछि उहाँले छोरा महेन्द्रको आग्रहमा घर छेउको त्यस पाखो खेतमा किबी खेती गर्न थालेपछि भने मनग्गे आम्दानी गर्न सक्नु भएको छ ।

वर्षमा एक बाली धान खेती पनि राम्रो नहुने त्यस खेतमा अहिले किबीले लटरम्म फल दिएको छ । हिजो धान फल्ने खेतमा किबी लगाउँ भन्दा छोराको आग्रह मान्न हिच्किचाउनुभएका भोलानाथ अहिले खेतबाटै धमाधम बिकी बिक्री गरेर पैसा लिन थालेपछि खुशीले गद्गद बन्नुभएको छ ।
पैंयुपाटामा महेन्द्रले तीन वर्ष पहिले करिब रु पाँच लाख खर्चेर ८० बिरुवा भाले पोथी लगाउनुभएको छ । बजारीकरणको समस्या नहोस भनेर ‘रिजाल कृषि तरकारी तथा फलफूल फर्म’ नाम दिएको कम्पनी छ । “अहिले झण्डै पाँच क्विन्टल फलेको छ”, महेन्द्र भन्नुहुन्छ, “६०-६२ बिरुवा मात्रै फल्दा त एकै बर्षमा लगानी उठ्ने देखियो ।” खेतबाटै प्रति किलो ४०० रुपैयाँमा बिक्री भएको भोलानाथ बताउनुहुन्छ ।

माटोअनुसारको खेती गर्न नजान्दा खर्च अनुसारको आम्दानी गर्न नसकेको महसुस भोलानाथले गर्न थाल्नुभएको छ । “कस्तो राम्रो फलेको, बजार उचित भए त आम्दानी गर्न बिदेश जानु पर्दैन”, उहाँ भन्नुहुन्छ । उहाँको किबी खेतीकालागि कृषि ज्ञान केन्द्र पर्वतले दुई लाख ५० हजार रुपैयाँ अनुदान दिएको थियो । किबीसँगै रिजालले अदुवा, प्याज, लसुन, खुर्सानी, बेसार लगायतका अन्य नगदेबाली समेत लगाउनुभएको छ् । झ्याल प्रजातीको किवीको रुखमुखी लगाएको नगदे बालीहरुले समेत घर खर्च चलाउने आम्दानी दिने गरेको रिजालले सुनाउनुभयो ।
रासस