
कृषि बनस्पतिक परिभाषामा बीउलाई परिपक्क बीज अण्ड भनिन्छ । बाली उत्पादन गर्नको लागी बीउ एउटा प्रमुख लागत सामाग्री हो । गुणस्तरहीन बिउको कारण उत्पादनमा गिरावट भैरहेको छ। नेपालको कृषि अनुसन्धान प्रणाली फितलो भएको कारण हाम्रो देशमा बिउको परनिर्भरता झन बढ्दो छ। बिगतमा आयातित हाइब्रीड बिउमा भर पर्दा नेपाली कृषकले पटक पटक दुष्परिणामहरु भोगिसकेका छन् ।अरुको भर पर्दा बीउ महँगो हुन जानुको साथै बीउ समयमा उपलब्ध नहुन पनि सक्दछ।आजभोलि कृषि फर्म , बीउ कम्पनी र बीउ व्यवसायिहरुकोबाट उन्नत जात र हाइब्रीड बीउ खरिद गरेर लगाउने चलन बढ्दो छ। उन्नत जातको बीउ उत्पादन र आपूर्ति गर्ने समुदायिक बीउ बैंक र बीउ उत्पादक कृषक समुहको संख्या पनि बढ्दो छ।
बीउ एउटा जिवित बिरुवाको सानो रुप हो। त्यसमा बिरुवाका सम्पुर्ण गुणहरु समेटिएको हुन्छ। उन्नत प्रविधिको बिउबाट डेढ देखि दुईगुना सम्म उत्पादन बढाउन सकिन्छ। उन्नत प्रविधिको बिउका गुणस्तरहरु उम्रने क्षमता , शुद्धता , झारपातको बीउ तथा चिस्यान प्रतिशत निर्धारण गरे अनुसार हुन्छ । उन्नत प्रविधिको बीउ गुणस्तरीय हुने भएकाले कृषकहरुको आक्रशण पनि बढ्दो छ।
गुणस्तरीय बिउका गुणहरु :
१. दानाहरुको रङ्ग , आकार र प्रकारमा समानता हुनुपर्छ।
२. उत्पादित बिउको तौल र अनुसन्धानबाट प्राप्त भएको बिउको तौल एकै नासको हुनुपर्दछ।
३. उमारशक्ति र जिवितपन उच्च हुन जरुरी छ यदि कुनैपनि बिउमा जिवितपन छैन भने उत्पादन लिन सकिदैन।
४. कुनैपनि रोग तथा किरा नलागेको हुनुपर्छ।
५. दानाहरुको आकार , रङ्ग र प्रकारमा समानता हुनुपर्छ।
६. बिउको जातीय एवम् भौतिक शुद्धता, झारपात , अरुबालिको बिउ, ढुंगा, माटो आदि मिसिएको हुनुहुदैन ।
७. बिउको परिपक्वता राम्रोसंग पाकेको बीउ हुनु पर्दछ।
८. बिउको उमेर एक बर्ष वा एक सिजन हुनपर्दछ।
बीउ उत्पादन प्रविधि :
१. हावापानी छ्नौट : निश्चिति क्षेत्र सिफारिस गरिएको जात मात्र लगाउनु पर्दछ। सिफारिस क्षेत्रमा नलगाएमा बिस्तारै जातीय गुणमा परिवर्तन हुन जान्छ ।
२. जग्गा छ्नौट : जग्गा तराईमा कम्तीमा १ हेक्टर प्लटमा हुनुपर्दछ। सिचांई सुबिधा तथा पानी नजम्ने र दोमट माटोमा गर्न सकिन्छ ।
३. श्रोत बीउ तथा स्तर छनौट : कृषक स्तरमा प्रमाणित प्रथम पुस्ताको बीउ उत्पादनको लागि मूल बीउ कृषि फार्म , केन्द्रबाट लिनुपर्दछ ।
४. जात छनौट : त्यस क्षेत्रमा कृषकले मन पराएको जात लगाउने ।सिफारिस गरेको नया जातको छ्नौट गर्नुपर्दछ ।
५. पृथकता दुरि : बीउ उत्पादनको लागि वरिपरि अरु बाली लगाएको भन्दा कम्तीमा ३ मिटर सम्म दुरि फरक र कालो पोको रोगको लक्षण देखापरेकोमा १५० मिटरसम्म दुरि फरक राख्नु पर्छ। हार देखि हार २०-२५ से.मि. र बोट देखि बोट लगातार रोप्दा राम्रो हुन्छ ।
६. मल र बिउको प्रयोग : मलको मात्र नाईट्रोजन १०० केजि प्रती हेक्टर , फस्फोरस ५० केजि प्रती हेक्टर , पोटास ५० केजि प्रती हेक्टर र जिन्क सल्फेट २५-३० केजि प्रती हेक्टर ,राम्ररी पाकेको २ टन गोबर तथा कम्पोस्ट मल प्रति हेक्टरको दरले हल्नुपर्छ र बीउ १२० केजि प्रती हेक्टर आवश्यक पर्ने हुन्छ।
७. सिचांई : मुकुट जरा अवस्था २१ दिनमा अनिवार्य रूपमा सिचांई गर्नु पर्छ। अत्यधिक चिस्यान माटो भए निकासको व्यवस्था मिलाउनु पर्दछ । सिचांई गर्दा माटो र बालिको अवस्था हेरि २-४ पटक सिचांई दिनु उपयुक्त हुन्छ ।
८. गोडमेल : चोडा पातको आक्रमण देखिएमा गहुँ रोपेको १ महिनापछि २ ग्राम २,४-डि प्रती लिटर र सानो÷रगते झार पातको आक्रमण देखिएमा टोल्कान ५० डब्लु.पि. ५ ग्राम प्रती लिटर पानीमा मिसाइ पात भिज्ने गरि छर्नु पर्दछ ।
९. रोगिङ्ग : बेजातको बोट , रोगी र अन्य बालिको बोट ,झरपातको बोट हटाउन पर्छ । कालो पोको लागेको बोट उखेलेर खेत बाहिर जलाइ दिनु पर्दछ ।
१०. बीउ बाली कटानी : बाली पुर्ण रुपमा पाकेपछी मात्र काट्नु पर्दछ । बाली सुकेर पंहेलो भएपछि र दाना दातले टोक्दा दानाबाट दुध नआएपछि मात्र पाकेको उपयुक्त मानिन्छ ।काटेर थ्रेसर मेसिनमा चुट्ने ।
११. बीउ प्रसोधन : बिउलाइ सफा गर्ने, सुकाउने र चिस्यान १२ प्रतिशत कायम गर्ने , मेसिनमा प्रशोधन गर्ने ।प्रशोधन गर्दा एकनासको बीउ मात्र छुट्याउनु पर्दछ ।
१२. बीउ प्रमाणीकरण : बीउ प्रमाणीकरणको लागि सर्वप्रथम बीउ बाली पुर्व जानकारी निवेदन बीउबिजन प्रयोगशालामा पेश गर्नु पर्दछ। बालीमा फुलफुल्ने बेला वा काट्नु पुर्व निरिक्षण गर्नु पर्दछ, त्यसको प्रतिवेदन कृषकलाई पनि एक प्रती दिनु पर्दछ।बीउ नमुना लिन, परिक्षण गराउन प्रयोगशालामा पठाउनु पर्दछ।निर्धारित स्तर अनुसारको बिउको गुण पुगेमा बिउको लागि सिफारिस हुन्छ ।
१३. बीउ उपचार , प्याक गर्ने, भण्डारण : बीउ प्रमाणीकरण पछि बीउ उपचार गरि ट्याग लगाएर बोरा बन्द गरि भण्डारण गर्नु पर्दछ । भण्डारण गरिएको कोठामा भेन्टिलेसनको व्यवस्था हुनुपर्छ।यदि बन्द कोठामा भण्डारण गरियो भने बिउको उमारशक्ति कम हुन्छ।
उन्नत प्रविधिको बीउ प्रयोग गर्नुका केहि फाइदाहरु :
१. उन्नत प्रविधिको बीउको प्रयोगबाट मात्र उत्पादनमा १०–१५ प्रतिशत बृद्धि आएको पाइएको छ ।
२. उन्नत प्रविधिको बीउ अक्सर रोग र कीराका आक्रमणबाट सुरक्षित राख्न उपचारित हुने हुनाले उत्पादन रोग र कीराबाट नोक्सानी हुन पाउंदैन ।
३. उन्नत प्रविधिको बीउको प्रयोगबाट उत्पादनमा बृद्धि हुन्छ भने कृषकहरुको आय बृद्धि भई जीवनस्तर उकास्न मद्दत मिल्दछ ।
४. उन्नत प्रविधिबाट उत्पादित बीउमा बेजात, अन्य बाली तथा झारपात आदिको मात्रा न्यूनतम हुने हुनाले झारपात र अन्य बाली आदि उखेल्न लाग्ने श्रम तथा खर्च कम हुन जाने हुन्छ ।
५. प्रविधिको बीउको प्रयोगबाट उत्पादनको मात्रा बढ्ने हैन ,उत्पादित उपज एकनासको भई बजारमा बढी मूल्य पाउन सकिनेछ।