चितवन। केन्द्रमा राजनीति गर्ने पूर्णकालीन हुने भए पनि स्थानीयस्तरका नेता कार्यकर्ताको आफ्नो पेशा नहुँदा टिक्न कठिन हुन्छ । पारिवारिक व्यवस्थापनसँगै राजनीति उनीहरुको बाध्यता हुने गर्दछ । विगतमा राजनीति मात्रै गर्दै गर्दा धेरैले आफ्नो सम्पत्ति सकेको गुनासो गर्ने गरेका छन् ।

यस्तै माडीमा गएको स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजय भोग्नुभएका नीलकण्ठ काफ्ले यतिबेला राजनीतिसँगै बाख्रापालनमा लागेका छन् । माडी नगरपालिका–७ का काफ्लेले सोही वडामा पराजय बेहोरेपछि व्यावसायिक बाख्रापालनमा लागेका हुन् । ५७ वर्षीय काफ्ले अहिले माडी एग्रोफार्ममार्फत बोयर जातका बाख्रा पालेर पाठापाठी बिक्री वितरण गर्दै आएका छन् । स्थानीय तहको निर्वाचनमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका काफ्ले अहिले आफ्नै व्यवसायमा रमाउँदै आएका छन् । उनले गएको एक वर्षमा रु १० लाखभन्दा बढीको बोयर जातका पाठापाठी बिक्री गरेको बताउनुभयो ।

भारतको तामिलनाडु पुगेर शुद्ध बोयरको पाठा ल्याएर उनले व्यवसाय शुरु गरेका हुन् । आफ्नो चाहना पूरा गर्नका लागि रु ५४ हजारमा १७ किलोको तीन महिने पाठो ल्याएर हुर्काउन थाले । तर छ महिनामै खोरभित्रका अन्य बाख्रा मर्न थाले । उनले भने, ‘५५ बाख्रामध्ये १५ वटामात्रै बाँचे ।’ बाख्राका पाठा मर्न थालेपछि बाख्रापालन नै छाड्ने स्थितिमा पुगेका काफ्लेले हार खाएनन् । बिरामी परेको बोयरको पाठोपछि तङ्ग्रिन थाल्यो । विगत सुनाउँदै भने, ‘अर्को वर्ष खोरमा ५० बाख्रा पुगे, बोयर क्रस गरेर पाठापाठी जन्मिन थाले ।’ त्यही बोयरमार्फत उन्नत जातका पाठापाठी जन्मिन थालेको उहाँको भनाइ छ । जसले खोर भरिन थाल्यो ।

उनले विसं २०७५ मा रु १२ लाख बराबरका बोयरका पाठा बेचे । गत वर्ष करिब रु १० लाख बराबरको बचे । विसं २०७६ को असारमा उनले अष्ट्रेलियाबाट २४ वटा बोयरका पाठी र छ वटा पाठा किनेर ल्याए । अहिले फार्ममा ६० वटा बाख्रा छन् । जसमध्ये ४० वटा माउ छन् । शुरुमा रु एक लाखको बाख्रा किनेर फार्म दर्ता गराएका काफ्लेले हालसम्म फार्ममा करिब रु एक करोड लगानी गरिसकेका छन् । उनले भने, ‘यो वर्ष २० लाखका बोयरका पाठापाठी बेच्ने लक्ष्य छ ।’ बोयर उन्नत जातको बाख्रा हो, यसबाट उत्पादन लिन सजिलो हुने रहेछ उनको भनाइ छ । छिटो हुर्कंने, तौल बढ्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले बोयर जातका बाख्राको माग बढ्दो छ । शुद्ध बोयर पाठा रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म बिक्री हुन्छ भने पाठी रु एक लाख ८० हजारसम्म बिक्री हुने गर्छ । दुई वर्षमा बोयरका बोका १०० किलो बढी तौलका हुन्छन् । शुद्ध बोयर बोका र स्थानीय बाख्राबीच क्रस गराएर जन्मने पाठापाठी चार महिनामा ४० किलो बढी तौलका हुन्छन् । अर्खाखाँची, स्याङ्जा, बुटवल, धनकुटा, पोखरासम्मबाट बोयरका पाठापाठी लिन आउने गरेको उनले बताए ।

व्यावसायिकरुपमै अघि बढ्ने सोचका साथ उनले केही स्थानीयलाई लिएर धादिङ, गोरखा, तनहुँ, पोखरासम्म पुगेर उत्कृष्ट गाई, बाख्रा फार्म अवलोकन गरे । उनका तीन छोरामध्ये जेठो छोरा मनोरोग विशेषज्ञ डा खगेन्द्र र माइलो छोरा हरि इञ्जिनीयर छन् । कान्छो छोरा हिम भारतमा विद्यावारिधि गर्दै छन् । छोरासँगै नभए पनि श्रीमतीको प्रत्यक्ष साथ छ उनलाई । बाख्रा उत्पादनमा नश्ल सुधार अतिआवश्यक रहेको उनको भनाइ छ । यस फार्मलाई नमूना स्रोत केन्द्रका रुपमा विकास गर्ने योजना रहेको छ । फार्ममा शुद्ध बोयर, बोयरका ५० प्रतिशत क्रस, ७५ प्रतिशत क्रस गरेका पाठापाठी उत्पादन हँुदै आएको छ । फार्मबाट अहिले पाठापाठी मात्रै बेच्ने गरिन्छ । बाख्रापालनका लागि चार बिघा जमिनको व्यवस्था गरिएको छ । जसमध्ये दुई बिघामा अहिले घाँसखेती छ । बाख्रापालनबाट भविष्य राम्रो भएको भन्दै उनले सीप र लगानी गरेर निरन्तरता दिएमा व्यवसायमा सफल बन्न सकिने बताए । उनले भने, ‘मिहिनेत ग¥यो भने विदेश जानुपर्दैन । स्थानीयस्तरमा राजनीति पनि छोडनु पर्दैन ।’
रासस