हेटौंडा। सरकारले नेपाललाई कृषि प्रधान देशको नाम दिएको छ । तर, समयमा मल नपाउने, बीऊ विजन नपाउने तथा कृषि औजार तथा उपकरण समेत नपाउने अवस्था किसानले विगत वर्षदेखि झेल्दै आइरहेका छन् ।

खेतीपातीको समयमा मल नपाएर किसान हैरान भएको समस्या त आम जस्तै भइसकेको छ । किसानलाई उचित रुपमा उपज उत्पादनका लागि समयमै रासायनिक मलको आवश्यकता पर्दछ । तर धानबालीमा मल हाल्ने समयमा समेत किसानले यूरिया मल नपाउँदाको पीडा छँदैछ त्यसमा पनि यस वर्ष कोरोना कहरले झन् पीडा थपिदिएको छ ।

‘यो वर्ष रसायिनक मल काहीँ कतै पाइएन । मकवानपुरगढी गाउँपालिकाको प्राविधिक टोलीसँगका सल्लाह लिइ यो वर्ष गाउँपालिकाले उपलब्ध गराएको प्राङ्गरिक मल (ओभिफर) हालेको छु,’ मकवानपुर गढी गाउँपालिका–३ का स्थानीय कृषक बद्री तिमल्सिनाले भने,‘रासयनिक मलले भन्दा प्राङ्गरिक मलले धानको बाला राम्रै लागेको छ । अहिले फड्के किराको प्रकोप देखिन थालेको छ । गतवर्षको तुलनामा यस वर्ष धान राम्रै छ ।’ विगत २६ वर्षदेखि खेती गर्दै आइरहेका तिमल्सिनाले ११ विगाह क्षेत्रफलमा धान खेती गर्दै आइरहेका छन् । उनले जीटेन्ट, सीफाइव नाम गरेका धानका बीऊ लगाएका छन् ।

मकवानपुरगढी २ का किसान विष्णु चौरेलले पनि रसायनिक मल नपाएपछि गाउँपालिकाले उपलब्ध गराएको प्राङ्गरिक मल धान खेतीको लागि प्रयोग गरेभने त्यसपछि डिएपी र गाईवस्तुको मल प्रयोग गरेको बताए । ‘रसायनिक मलको लागि धेरै धाएँ । मल नपाएपछि प्राङ्गरिक मल र गाईवस्तुको मल प्रयोग गरे,’ उनले भने,‘गतवर्षको तुलनामा यस वर्ष धानको बाला ठीकै छ । यो वर्ष ठाउँठाउँमा धानको बाला मरेको छ के कारणले हो रोग पत्ता लगाउन सकेको छैन । गतवर्ष फौजी किराले बाली नै सखाप बनाएको थियो ।’ यस वर्ष रसायनिक मल नहाल्दा नि गतवर्षको तुलनामा धानको बाली राम्रै रहेको उनले बताए । उनले ८ कठ्ठा क्षेत्रफलमा हाइव्रीड ३ सय ५ नाम गरेका धानका बीऊ लगाएका छन् ।

रसायनिक मल प्रयोग नगर्दा पनि यसवर्ष धानको बाला राम्रै रहेको मकवानपुरगढी ६ का कृषक दुर्गा खतिवडाले बताइन् । ‘रसायनिक मल नहुँदा यो वर्ष गाईवस्तुको मल मात्र प्रयोग गरौँ,’ उनले भने,‘गाईवस्तुको मलले गर्दा पनि धान बाली राम्रै छ ।’ धान रोप्दा मात्र डिएपी मल प्रयोग गरेको उनले बताइन् । २० कठ्ठा क्षेत्रफलमा उनले हाइव्रिड यूएस ३ सय १२ जातका धानका बीऊ लगाएका छन् ।