
दैलेख। चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ चाल्ने चौताराका भगिराम विकको घरमा उत्पादित दूध बिक्न थालेको छ ।
यसअघि सके खाने नभए घ्यू उत्पादन गर्ने गरेका विकले अब सोझै दूध बेच्न थालेका छन् । सोही ठाउँ बस्ने तुलाराम कँडेलले पनि दूधबाट आम्दानी गर्न थालेका छन् ।
यसअघि घरमै खाएर सकिने दूध अब बजार जान थालेको छ । घरमा उत्पादन भएको दूध घरबाटै बिक्री हुन थालेपछि कँडेल उत्साहित छन् ।
विक र कँडेल मात्रै होइन, त्यहाँ ५ सय किसानको दूध घरबाटै बिक्री सुरु भएको छ । नजिक बजार नभएका कारण दूध बिक्री गर्न नपाएका किसानले अब दूध बिक्री गर्न थालेका छन् ।
टाउकोमा घ्यूको कन्टर बोक्दै खाली खुट्टा नेपालञ्ज र बर्दियाको राजापुरसम्म पुगेर विक्री गरी नुन र लत्ताकपडा ल्याउँदै गरेका ५२ वर्षीय विक अहिले घरमै दूध लिन गाडी आएपछि निकै खुशी छन् ।
आफ्नो पालामा यसरी दैलोमै गाडी आएर अन्त जिल्लामा विक्री होला भनेर कल्पनासमेत नगरेका विक अहिले आफूले पालेको भैँसीको दूध दिनहुँ डेरीमा विक्री गर्छन् महिनाको १५ दिन पुग्ने बितिकै हातमा नगद पाउँदा उत्साहित छन् ।
चाल्नेचौताराका ५ सय घरपरिवारले बाउबाजेको पालादेखि दूध विक्री नभएपछि घ्यू बनाउने र विक्री गर्ने चलन थियो । त्यहाँका किसानले दूध विक्री गरेर मासिक १० लाख रुपैयाँभन्दा बढी गाउँ भित्र्याउन सफल भएका छन् ।
अहिले दैनिक एक सय जना किसानले मात्र दूध ल्याउने गरेको चामुण्डामाई सहकारी संस्थाका अध्यक्ष भीमबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार सृजन सहकारी र सुर्खेत डेरी मर्जभएर स्थापित चामुण्डा माई सहकारी संस्थाले यहाँको किसानको दूध किन्न सुरु गरेको छ ।
चिलिङ भ्याट स्थापना गरेको सहकारीले गाडीमार्फत गाउँगाउँको दूध बजार सङ्कलन गर्न थालेको हो । परम्परागत रुपमा भैँसी पालन गर्दै आएका ५ सय परिवारमध्ये विपन्न परिवारको छनौट गरी एक सय भैँसी प्रदेश सरकारको सहयोगमा वितरण गरेको छ ।
स्थानीय पालिका र कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्र्तगत दैलेखको पशुसेवा तथा पशु अस्पताल, सृजन सहकारी र सुर्खेत डेरीको संयुक्त साझेदारीमा भकारो सुधारलगायतका काम सुरु भयो ।
पशुसेवा कार्यालयको १ करोड रुपैयाँ तथा पशु अस्पताल दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिकाको ३१ लाख, सुर्खेत डेरीको ६ लाख र स्थानीय सहकारीको ३० लाख रुपैयाँको साझेदारीमा यो काम सुरु गरिएको हो ।
काम सम्पन्न भएको २ महिनाबाटै प्रतिफल प्राप्त भएको छ । अहिले दूध विक्रीबाट गाउँमा १० लाख रुपैयाँ आएको अध्यक्ष रावतले बताए ।
रासस