सुर्खेत। यतिबेला जुम्लामा लटरम्म फलेको इटालियन फुजी जातको स्याउले त्यहाँ जाने जो कोहीलाई मोहित बनाउँछ । सानो स्याउको बिरुवा तर फलेको स्याउको ओजन धान्न नसकेर भुइँमा नुगेको डालीले अवलोकन गर्न जाने हरेकलाई हेरिरहुँ बनाउँछ ।

जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफलको जग्गा लिजमा लिएर स्याउ खेती गरिरहेका छन् । जसमा तीन हजार ५ सय फुजी जातको स्याउको बिरुवा लगाइएको छ । स्याउ बिरुवाको बीचमा कोसेबाली सिमी फलाइएको छ ।

जिल्लाभरि लगाइएका अन्य स्याउ नफलिरहेको अवस्थामा फुजी स्याउ लटरम्म फल्दा त्यससँग सम्बन्धित स्याउ किसान यतिबेलो निकै रमाइरहेका छन् । स्याउले रङ्ग, आकार र स्वाद दिइसकेको छ । जुम्ला एग्रो फार्म जुम्लाका व्यवस्थापक रेश्मा श्रेष्ठले मन्दिर परिसरको १० हजार वर्गमिटर क्षेत्रफलमा लगाएको दुई हजार २ सय स्याउको बिरुवामध्ये एक हजार ७ सय बिरुवा फलेको जानकारी दिए ।

“फुजी, गोल्डेन डेलिसियस, रेड चिप, गाला र जोर्डन गरी पाँच प्रकारका स्याउ लगाइएको छ”, व्यवस्थापक श्रेष्ठले भने, “यो वर्ष कम्तीमा १०–१२ टनसम्म उत्पादन हुने अनुमान गरेका छौं ।” २०७३ साल फागुन ६ गते जुम्लामा ल्याई पु¥याउँदा प्रतिबिरुवा रु एक हजार ३ सय परेको जनाउँदै उहाँले इटालियन फुजी स्याउमा लगानीअनुसार अब आम्दानी उठ्ने अपेक्षा गरिएको बताए ।

जुम्ला एग्रो फार्मले रु २८ लाख ६० हजार र हाम्रो सहकारी प्रालिले रु १६ लाख ९० हजार लगानीमा लगाएको स्याउले निरन्तर आम्दानी दिइरहेको छ । यद्यपि जरा धेरै गहिरो नजाने भएकाले भिरालो जमीनमा यो स्याउको खेती त्यति सजिलो नहुने उनको भनाइ छ । व्यवस्थापक श्रेष्ठका अनुसार एउटा बिरुवामा १० देखि १५ केजी स्याउ फल्ने गर्दछ । गत वर्ष ‘ए’ ग्रेड स्याउको प्रतिकेजी रु १ सय ५० र ‘बी’ ग्रेडको प्रतिकेजी १ सयका दरले बिक्री वितरण भएको स्याउबाट उक्त फार्मले यो वर्ष रु १२ देखि १८ लाख आम्दानी गर्ने देखिन्छ ।

हाम्रो सहकारी प्रालि जुम्लाका व्यवस्थापक सरोज शाहीले पोटिलो एवं त्यसको ओजन बढाउनका लागि असोज महिनासम्म स्याउ भण्डारण नगरिने जानकारी दिए । “हामीले पाँच हजार वर्गमिटर क्षेत्रफलको जमीनमा एक हजार ३ सय फुजी जातका स्याउ लगाएका छौँ,” व्यवस्थापक शाहीले भने, “त्यसमध्ये ८ सय बिरुवामा स्याउ फल्दा आठ टन स्याउ उत्पादन हुने अनुमान गरेका छौँ ।”

गत वर्ष नै ‘ए’ ग्रेडको स्याउको बजार मूल्य प्रतिकेजी रु १ सय ५० थियो । यस वर्ष जुम्लामा अन्य स्याउ राम्रोसँग नफलेकाले फुजी स्याउको मूल्यमा वृद्धि भएर राम्रै आम्दानी हुने उनको भनाइ छ । उनका अनुसार सातरआठ टन स्याउ फलेमा यस वर्ष रु आठ लाखदेखि ११ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

लगाएकै वर्ष केही आम्दानी लिन सकिने विशेषताको स्याउ लगानी गर्नमै महँगो हुने भएकाले सामान्य किसानको पहुँच भने यो जातको स्याउसँग छैन । यसबाट व्यावसायिक तर साना लगानीका किसान निकै मर्कामा पर्दै आएको व्यवस्थापक श्रेष्ठले बताए । उनका अनुसार चालू आवदेखि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन जुम्लाले किसानलाई प्रतिबिरुवा रु ५ सय अनुदान उपलब्ध गर्ने योजना बाहिर ल्याएको छ ।

रासस