इलाम। सूर्योदय नगरपालिका–७ का चिया किसान डम्बर कटुवाललाई आजकाल किसान भएकामा ठूलो ग्लानी छ । एउटै विषयलाई लिएर पटक–पटक आन्दोलन गर्नुपरेकामा र चियाको उचित मूल्य नपाएकामा धुरुधुरु रुन मन लाग्छ । बन्दाबन्दीको समयमा घरमा नुनतेल साट्ने चियाको मूल्य नै ‘कौडीको भन्दा कम परेपछि’ उनलाई अहिले चिया बेच्नु न नबेच्नु भएको छ ।

“खासमा दुःख गरेअनुसारको भाउ पाउनु त पर्छ नि । आखिर किन हामीलाई लागत नै नउठ्ने मूल्य लिन बाध्य बनाइन्छ”, कटुवाल भन्छन, “घरमा साग रोप्ने करेसाबारीमा पनि चिया नै लाइयो, अहिले चकलेटको मूल्यमा चिया दिनु पर्दैछ । कहिलेचाहिँ हामीले यो विषयबाट मुक्ति पाउँछौँ ।”

बन्दाबन्दीको समयमा पनि हरियो चियापत्तीको सोचेजस्तो मूल्य नपाएपछि डम्बर यतिबेला के गर्ने र कसो गर्ने अवस्थामा पुग्नुभएको छ । स्थानीय सूर्योदय नगरपालिका (सूनपा) ले पनि चियाको भाउ प्रतिकिलो ४० रुपैयाँ भन्दा कम नकिन्नु भनेर कार्ययोजना नै बनाएको छ । तर पनि उद्योगीहरूले त्यही मूल्य पनि नदिने ‘अड्डी’ कसेपछि डम्बरको मन पिरलिएको हो । “स्थानीय सरकारले पनि कानून मात्र बनाएको छ । कार्यान्वयन गराउने पक्षमा छैन । उद्योगीहरू पनि आफ्नै भलो मात्र चाहन्छन्”, डम्बर भन्छन, “हाम्रो पक्षमा कसले पो बोलिदिन्छ र रु”

डम्बर मात्र होइन, सूनपाकै अर्का किसान ज्ञानु राईलाई पनि यस्तै लाग्न थालेको छ । चियाको उचित मूल्य पाउन छाडेपछि एकातिर बन्दाबन्दीमा घरमा आर्थिक सङ्कट आइलागेको छ भने अर्कातिर बालीको मूल्य नै राम्रो नपाएपछि उकुसमुकस भएको छ । ज्ञानुलाई आफ्नो चित्त दुखाइ स्थानीय सरकार र उद्योगीसँग मात्र नभई चिया किसानसँग पनि हो । “आखिर हामी पनि एकजुट हुन नसकेकाले यो समस्या आएको हो”, ज्ञानु भन्छन, “हाम्रा लागि लड्ने त हामी नै त रहेछौँ, हामीले त २० वर्षअघि जति मूल्यमा चियापत्ती बेच्थ्यौँ अहिले पनि त्यही मूल्यमा दिनुपरेको छ ।”

हरियो चियापत्तीको उचित मूल्य नपाएपछि यतिबेला चिया किसान सडकमा छन् । बन्दाबन्दीको समयमा अन्तर्राष्ट्रिय बजारमा हरियो चियापत्ती नबिकेको भन्दै उद्योगीले मूल्य घटाएपछि किसान सडकमा आउन बाध्य भएका हुन् । किसानले आन्दोलनस्वरुप नगरपालिकाभरिका किसान मिलेर सङ्घर्ष गर्ने योजना पनि बनाएका छन् तर एक हुन नसक्दा समस्या आएको छ । “हामी विस्तारै एक हुने क्रममा छौँ । तीन-चार वडाका किसान त एक भइसक्यौँ”, अर्का चिया किसान डम्बर प्रधान भन्छन, “हामी चिया किसानले चियामा सुधार ल्याउनुपर्ने छ भने हामी ल्याउन तयार छौं तर उद्योगीले उचित मूल्यचाहिँ दिउन् ।” प्रधान भने नगरले तोकेको मापदण्डानुसार उद्योगीले चिया नलिए चिया नै नदिने जिकिर गर्छन् । किसानको उत्पादनको मूल्य कम पारेर उद्योगीले नाफा मात्र कमाएको दाबी गर्दै प्रधानले भने, “हो बन्दाबन्दी छ, चियाको मूल्य उद्यागीले धेरै दिन सक्दैनन् तर नगरपालिकाको मापदण्डमा त टेक्नैपर्छ । नगरको मापदण्डभन्दा धेरैमाथिको मूल्यसमेत हामीले विगतमा पाएका हौँ ।”

उद्योग बन्द भए पनि चिया दिँदैनौँ’ :

सूनपाले तोकेको मापदण्डमा टेकेर चिया उद्योगले हरियो चियापत्तीको मूल्य नदिए उद्योगलाई कुनै हालतमा चिया नदिनेसम्म किसानले बताएका छन् । विषम परिस्थितिको फाइदा उठाउँदै उद्योगले कम भाउ तोके चिया घरमै राख्नेसमेत किसानले बताएका छन् । “हाम्रो पनि श्रमको मूल्य हुनुप¥यो”, चिया किसान साधना फागो भन्नुहुन्छ, “हाम्रो वस्तुको उचित मूल्य नै दिइँदैन भने हामी किन झुक्ने ?”

फागोका अनुसार धेरैजसो चिया किसानलाई उद्योगले चियापत्ती ल्याउन अनुरोध गरेको र पछि निर्धारित मूल्यसमेत दिएका छन् । “हामीले पनि त कर तिर्नुपर्छ, घर चलाउनु पर्छ”, फागोले भने “चिया किसानलाई सहुलियत ऋण र तालिम दिनुको सट्टा हाम्रै उत्पादन पनि सस्तो खोज्ने ?”

आर्थिक अभावपछि शिथिल बन्दै आन्दोलन :

आन्दोलन चर्काउनकै लागि भनेर पछिल्लो समय नगरभरका किसानको ‘सङ्घर्ष समिति’ समेत कोसिसमा लागेको छ । किसानहरूले नगरका तीन वडामा ‘समिति’ नै गठनसमेत गरेका छन् तर किसानसमेत एकजुट हुन नसक्दा समस्या आएको उनीहरू नै बताउँछन् ।