आफ्नो परिवारको फलफूल र तरकारीजन्य बस्तुको दैनिक मागलाई परिपुर्ति गर्न घर वरिपरिको जग्गालाई सदुपयोग गरि वर्षैभरि तरकारी र फलफूल उत्पादन गरिने सानो क्षेत्रलाई करेसाबारी भनिन्छ । करेसाबारी निर्माणको मुख्य उद्देश्य भनेको प्रत्येक परिवारलाई स्वस्थ, ताजा र बिशादिरहित तरकारी र फलफूल निरन्तर रुपमा प्रदान गर्नु हो । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वस्थ खानपान र स्वस्थ जिबनशैली अपनाउन महत्वपूर्ण भुमिका खेल्ने गर्दछ । हामीले करेसाबारी निर्माण गरी मौसम अनुसारका तरकारी फलफूल उत्पादन तथा सेवन गर्न सकिन्छ ।

करेसाबारी निर्माण गर्दा निम्नलिखित कुराहरूमा ध्यान दिनुपर्दछ :
क) जग्गाको छनोट :

सकेसम्म करेसाबारी बनाउने जग्गा घरबाट नजिकै, भलबबाढि नआउने, पानि लगाउन र खनजोत गर्न सहज हुने साथै सम्म हुनुपर्दछ । नमिलेको भुगोल र टाढा भएमा राम्रो हेरचाह र उत्पादन गर्न गाह्रो हुन्छ । जग्गाको छनौट गर्दा पानि नजम्ने र सकेसम्म १˗२ फिटको गहिराइसम्म पत्थर नभएको हुनुपर्दछ ।

ख) बालीपात्रो निर्माण :

बालीपात्रो भनेको सिजन अनुसार लगाउन सकिने बालीहरूको लगाउने समय, मलखाद व्यबस्थापन, सिंचाई व्यबस्थापन तथा उत्पादन आदि समेटिएको बाली उत्पादन तालिका हो । करेसाबारी निमार्णपश्चात कृषि प्राविधिकको सहयोगमा बालीपात्रो तयार गरी राखेमा कुन समयमा कुन बाली लगाउने र कसरी व्यबस्थापन गर्ने भन्ने अन्योल हटाउन सकिन्छ साथै करेसाबारीको वैज्ञानिक ढङ्गले उपयोग गर्न सकिन्छ ।

ग) बालीको छनौट :

करेसाबारीमा सिजन अनुसार फरक फरक बालीहरुको छनौट गरी लगाउनु पर्दछ जसले गर्दा वर्षैभरि हाम्रो शरिरलाई आवश्यक पर्ने पोषण व्यवस्थापनमा समेत सहयोग पुग्दछ । वर्षा, जाडो र गर्मी याममा हुने तरकारीहरु सिजन अदलबदल भएमा उत्पादन नहुने साथै भएमा पनि कम उत्पादन हुने हुन्छ । वर्षा, जाडो र गर्मी यामको लागि केहि तरकारी बालीहरुको उदाहरण यसप्रकार छन् ।

 वर्षा यामको लागी (असार˗असौज) ˗ फर्सि, घिरौला, काक्रो, तितेकरेला, चिचिण्डो, साग, आदि ।
 जाडो यामको लागी (कार्तिक˗फागुन) ˗ काउली, वन्दा, ज्ञाठकोवी, व्रोकाउली, गाँजर, पालुङ्गो, रायो, आदि ।

घ) सिंचाई व्यवस्थापन :

करेसावारी निर्माणको अर्को महत्वपुर्ण कुरा सिंंचाई व्यवस्थापन हो । सामान्यतया करेसावारीमा सुख्खायामको लागि सिंचाई व्यवस्थापन चुनौतीपुर्ण रहन्छ । सिंचाईको लागि आफ्नै घरको छानाबाट झर्ने वर्षायामको पानीलाई प्लाष्टिक पोखरीमा संकलन गरी उपयोग गर्न सकिन्छ। वर्षाको पानीलाई संकलन गरी प्रयोग गर्न सकेमा सिंचाईमा हुने खर्च समेत वचत हुन्छ ।

ङ) मलखाद व्यवस्थापन :

करेसावारी निर्माणपश्चात करेसावारी वरिपरि उम्रेका झारपातहरुलाई उखेलेर सानो खाडल बनाई कम्पोष्ट मल बनाउन सकिन्छ प्रागांरिक मल जस्तैः कम्पोष्ट प्रयोग गरेमा स्वस्थ तरकारी उत्पादन गर्न सहयोग पुग्दछ ।

च) रोगकिरा व्यबस्थापन :

करेसाबारीको उत्पादन आफै खपत गरिने साथै स्वस्थ बााली र बिषादीरहित बाली उत्पादन करेसाबारीको मुलभुत सिद्धान्त रहेकाले रोगकिरा व्यबस्थापनमा जैविक वा प्रागांरिक तरिका नै सर्वोतम तरिका हो । जैविक बिधिमा गाइको गहुँत, घरपरिवारमा पाइने सिस्नो, टिमुर, तितेपाती, हात्तीबार, बकाइनो, सुर्ती, आदिको प्रयोगबाट बनाइएको झोलमोल अति उत्तम मानिन्छ । झोलमोलको प्रयोग साना नर्सरीका बिरुवाहरूमा १ः१० को अनुपातमा (१ भाग झोलमोल र १० भाग पानी) साथै ठुला विरुवाहरूमा १ः५ को अनुपातमा (१ भाग झोलमोल र ५ भाग पानी) गर्न सकिन्छ ।

छ) छिटो बढ्ने र फल्ने फलफूल र तरकारी बालीको छनौट गर्दा राम्रो हुन्छ । फलफूल बालीमा मेवा, केरा, आदि छनौट गर्ने र फलफूल बालीलाई सकेसम्म सिमा  लगाउने ।
ज) एक ड्याङ देखि ड्याङ सम्मको खाली जग्गामा जरे बालीहरू रोपेर प्रयोग गर्न सकिन्छ ।
झ) ढिलो बढ्ने बालीहरू बिचमा छिटो बढ्ने बालीहरू लगाउन सकिन्छ । जस्तैः काउली वा बन्दाको बिचमा साग वा पालुङ्गो ।

करेसाबारीका फाइदाहरूः
 करेसाबारीले बर्षैभरि ताजा र स्वस्थ तरकारी साथै फलफूल उपलब्ध गराउने हुँदा स्वस्थ जिवनयापनमा सहयोग पुग्छ ।
 फुुर्सदको समयको सदुपयोग हुनुका साथै शारीरिक व्यायम पनि हुन्छ जसले गर्दा शारीरिक स्फुर्ती र तन्दु्ररुस्ती मिल्छ ।
 कुहिएको, सडेगलेको, बासी र बिसादि हालेको तरकारी खानपर्ने बाध्यताबाट मुक्ति मिल्छ ।
 बाझो जग्गा र स्थानिय श्रोत साधनको सहि परिचालन हुन्छ ।
 समय र पैसाको बचत हुन्छ ।
 घरायसी सौन्दर्यतामा बृद्धि हुन्छ ।

लेखक : सुवास वाबु घिमिरे कृषि प्राविधिक हुन् ।