वर्तमान अवस्थामा मानवजतिको अस्तित्वमाथी नै चुनौती खडा गर्दै अदृश्य भाइरसले सारा बिश्वलाइ नै आक्रान्त पारिरहेको छ भने उत्पादन र अर्थतन्त्रलाई डामाडोल  बनिरहेको छ । सन् २०१९ डिसेम्बरमा चिनको वुहान सहरबाट सुरु भएको कोभिड-१९ कोरोना भाइरस हालसम्म २१५ देशमा फैलिसकेको र करिब ६० लाख मानिस यसबाट सङ्क्रमित भएका छ्न भने तीन लाख पचास हजार भन्दा बढी मानिसले आफ्नो ज्यान गुमाइसकेका छन् ।

सिमित देशलाइ छोडेर धेरैजसो देशमा कोरोना भाइरस नियन्त्रण बाहिर छ । बिश्वजगतलाइ नै सताएको यस भाइरसबाट नेपाल पनि अछुतो रहन सकेको छैन, नेपाली जनता , देशको उत्पादन , पर्यटन र अर्थतन्त्रमा नराम्रो सङ्ग प्रभाव पारेको छ । देशभित्र मात्रै करिब आठ सय सङ्क्रमित र चार जनाले ज्यान गुमाइसकेका छ्न र बिदेशमा हजारौं नेपाली सङ्क्रमित छन् ।

लामो समयको बन्दाबन्दीले गर्दा शैक्षिक संस्था , उद्योग, कलकारखाना, यातायात, पसल, तरकारी मन्डिहरु बन्द भएका छन् भने पर्यटन ब्यवसाय अनिश्चितकालका लागि थला परेको छ । विद्यालय बन्दले गर्दा विद्यार्थीहरुमा मनोबैज्ञानिक समस्या देखा पर्न थालेका छ्न भने कतिपय शिक्षकले जागीर गुमाउन पुगेका छन् । यातायात ब्यवसाय, उद्योग , कलकारखाना, होटल ब्यवसाय, पर्यटन ब्यवसाय लगायतका अर्थतन्त्रका खाबोहरुमा नराम्रो असर परेको छ, त्यहाँ काम गर्ने कामदार हरुले आफ्नो जागीर गुमाउनु परेको छ, दैनिक ज्यालादारीमा काम गर्नेहरुको रोजिरोटी बन्द भएको छ, हातमुख जोर्न गाह्रो भैरहेको अवस्था छ र यहि अवस्था लम्बिएमा खान नपाएर धेरै मानिसले ज्यान समेत गुमाउनुपर्ने छ।

यसका अतिरिक्त देशमा अन्य समस्या तथा चुनौतीहरु पनि उत्तिकै खडा भैरहेका छन् । देशको आर्थिक वृद्धिदर ओरालो लाग्दै छ र यस बर्ष ऋणात्मक तर्फ जाने देखिन्छ । देशभित्रै हजारौं मानिसले रोजगारी गुमाएका छन् भने केही महिनामा वैदेशिक रोजगारीमा गएका लाखौं नेपालीहरु आफ्नो जागीर गुमाएर स्वदेश फर्कनेवाला छन् ।रेमिट्यान्स ठप्प छ, औद्योगिक उत्पादन घट्दो छ, सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दो छ र अबका दिनमा थप चुनौतीपूर्ण र दर्दानाक अवस्था आउन सक्ने पुर्वानुमान गर्न सकिन्छ।

कृषि क्षेत्रमा मात्रै भारत र चीन लगायतका देशहरूबाट खाद्यान्न आयात गरिरहेको अवस्थामा ती देशहरू आफै कोरोना भाइरसबाट अत्यन्त ग्रसित भएको हुँदा अबका दिनमा खाद्यान्न आयात समेत अनिश्चित बनेको छ। देशको अर्थतन्त्र घट्दो, उत्पादन घट्दो, सङ्क्रमण बढ्दो , पर्यटन ब्यवसाय धरासायी भएको यस अवस्थामा चरम बेरोजगारी, खाद्यसङ्कट र भोकमरीले देशलाई नराम्रोसङ्ग पिरोल्न सक्छ।

यसरी एकातिर देशको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्स त घट्ने देखिन्छ नै, त्यसै गरि बिदेशबाट फिर्ता भएका युवाशक्तिलाई आर्थिक बिकासका लागि देशभित्रै परिचालन गर्न नसकिने हो भने देशको अर्थतन्त्र दयनीय अवस्थामा पुग्नेमा कुनै शङ्का छैन ।

देशमा अहिले थोरै मात्रामा उद्योग( कलकारखानाहरु संचालित छन् र कतिपय संचालित उद्योग कलकारखानाहरु पनि कच्चापदार्थको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । यसरी बेरोजगार युवा जनशक्तिहरुलाई आर्थिक बिकासमा परिचालन गर्नका लागी र उद्योग कलकारखानाका लागि आवश्यक कच्चापदार्थहरु परिपुर्ति गर्नका लागि अहिलेको अवस्थामा कृषि क्षेत्र नै सबैभन्दा प्रभावकारी उपाय बन्न सक्छ।

हाम्रो देश कृषिप्रधान देश, हरेक प्रकारको हावापानी देशमा भएकाले हरेक प्रकारका उत्पादनहरुको प्रचुर सम्भावना रहेको छ। बजारमा त झन् अर्गानिक तरकारी, फलफूल , माछामासुहरुको अधिक माग र मुल्य रहेको छ।सरकारले कृषि कार्यमा लाग्नेहरुका लागी अनुदान , बाली बिमा, पशु बिमा जस्ता सुबिधाहरु दिएको छ।

देशका स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले कृषि क्षेत्रमा विभिन्न अवसर तथा सहयोगका प्याकेजहरु ल्याइरहेका हुन्छन् । अझै पनि हाम्रो उत्पादनले हामीलाई नै पुगेको छैन र अन्य देशहरु बाट आयात गर्न परिरहेको छ। लाखौं पौरखी हातहरु आफ्नै माटोमा दशनङ्ग्रा खियाउन आत्तुर छन् , हजारौं शिक्षित बेरोजगार छन् , हजारौं कृषि बिज्ञहरु उत्पादन भैरहेका छन्, तिनीहरुको सहि ब्यवस्थापन गर्ने सकेमा कृषि क्षेत्रमा जनशक्तिको कमि हुदैन र कृषि क्षेत्र पनि अघि बढ्ने छ।

देशमा बढ्दो बेरोजगारी, भबिष्यमा आउन सक्ने खाद्यसङ्कट र खस्कदै गइरहेको अर्थतन्त्र लगायतका समस्या समाधानको निर्बिकल्प र सर्बोत्तम उपाय भनेकै कृषि क्षेत्र हो, तर यसका लागि कृषि क्षेत्रमा व्यापक सुधार, परिवर्तन र आधुनिकीकरणको जरुरत छ। कृषि क्षेत्र जति चर्चा र बहसमा आइरहेको हुन्छ, त्यति सहज भने छैन, यहाँ व्यापक समस्याहरु बिद्दमान छन् , जसलाइ समाधान गर्न नसकेमा देशले कृषिमा फड्को मार्न सक्नेवाला छैन, कृषिप्रधान देश नारामा मात्रै सिमित हुन्छ र हामी कृषिजन्य सामाग्रीहरुमा सधैं परनिर्भर भइरहनु पर्ने अवस्था आउन सक्छ।

हामीले बर्सेनि खर्बौं रकमको कृषिजन्य उत्पादन बिदेशबाट आयात गरि देशको खर्बौं अर्थतन्त्र बाहिर पठाइरहेका छौँ । सर्वप्रथम त्यो अर्थतन्त्र बाहिर जान नदिन र कृषिजन्य उत्पादन आयात रोक्न हामी उत्पादनमा आत्मनिर्भर हुनुपर्ने हुन्छ। कृषिमा आएका अनुदान वास्तविक किसानले पाउन सकिरहेका छैनन् , बजारको अनिश्चितता छ, ढुवानिमा समस्या, सिचाइको अभाव, पशुपङ्छी तथा चौपायाहरुका लागि दानापानीको समस्या, प्रशोधन केन्द्र तथा भण्डारण केन्द्रहरुको अभाव छ। सबै ठाउँमा दक्ष प्राविधिकहरु नहुनाले किसानहरूले परामर्श पाउन सकेका छैनन्।

बजार नपाएर किसानका उत्पादनहरु बारीमा कुहिएका छ्न, सडकमा पोखिएका छन् , फालिएका छन्, चल्लाहरु गाड्नुपरेको पीडा छ। अझ प्रमुख समस्या त बिचौलियाहरुको रहेको छ, जसले बजार समेत अनिश्चित बनाइरहेका छन् । प्राबिधिकहरु औपचारिकताका लागि मात्र सिमित किसानहरुकोमा जाने गरेको तथा अनुगमन गर्ने निकायका ब्याक्तिहरु सबै किसानका उत्पादन स्थल तथा फार्महरुमा नपुगेको, अनुदान पहुँचवाला ब्याक्तिले मात्र पाएको तथा अनुदानका नाममा चरम लापरबाही तथा भ्रष्टाचार भएको गुनासाहरु समेत किसानबाट आउने गरेको पाइन्छ। यसको समाधानका लागि कृषक र सरकारले आ(आफ्नो क्षेत्रबाट कदमहरु चाल्नुपर्ने देखिन्छ।

सरकारले नेपालको कृषि उत्पादन र कृषि क्षेत्रलाई माथी उकास्नको लागि एक गाउँ-एक उत्पादनु,  एक स्थानीय तह- एक कृषि पकेट क्षेत्रु जस्ता अवधारणा अघि सार्ने , उत्पादनमा आधारित कृषि अनुदानमा जोड दिने, नयाँ उद्दमीको लागि बीउ पूजी उपलब्ध गराउने, हरेक स्थानीय तहमा दक्ष प्राबिधिकहरु राख्ने, किसान कल सेन्टर स्थापना गर्ने, ब्यवसायिक कृषि खेती तथा पशुपालन सम्बन्धि तालिमहरु संचालन गर्ने, किसानका लागी आवश्यक बीउबिजन, मल तथा औसधिहरु सर्बसुलभ गराउने, मल्चिङ तथा टनेल निर्माणका लागि प्लास्टिक उपलब्ध गराउने,बजारको सुनिश्चितता गर्ने, सिचाइ तथा ढुवानीको उचित ब्यवस्था मिलाउने, बिचौलियाका गतिविधिहरु नियन्त्रण गर्ने, कृषिमा पर्याप्त बजेट तथा अनुदानको ब्यवस्था गर्ने र ती अनुदानको सदुपयोग भएको छ कि दुरुपयोग भैरहेको छ भन्नेबारे स्थानीय तहबाट अनुगमन गर्ने, कृषि औजारहरुको बितरण गर्ने, आधुनिक खोर, घारहरुको प्रयोगमा प्रोत्साहन तथा सहयोग गर्ने, उत्पादन सङ्कलन केन्द्रहरुको स्थापना गर्ने, स्थानीय स्तरमा बीउ बैंक हरुको स्थापना गर्ने, धेरै मात्रामा कृषि उत्पादन गर्नेलाई प्रोत्साहन अनुदान दिने , पुरस्कृत गर्ने अनि जग्गा बाझो छोड्नेलाइ कारवाही गर्ने जस्ता कदमहरु सरकारले चाल्नुपर्ने देखिन्छ।

त्यस्तै गरि उत्पादित बस्तुहरु खेर जान नदिन बाली भित्र्याइसकेपछिको ब्यवस्थापन प्रबिधि, मुल्य अभिवृद्धि प्रबिधि , प्रशोधन प्रबिधि जस्ता कुराहरू बारे किसानलाइ जानकारी दिने, शिक्षित बेरोजगारहरुको उचित ब्यवस्थापन गर्ने अनि पर्याप्त प्रशोधन केन्द्र तथा शीत भण्डारणको पनि ब्यवस्था मिलाउनुपर्ने हुन्छ। साथै अहिलेको बन्दाबन्दीको अवस्थामा कतिपय किसानहरु बजार जान नसक्ने अवस्था रहेकाले किसानहरुका घरघरमै बिउ तथा कृषि मल उपलब्ध गराउने अनि किसानका उत्पादन किसानकै फार्मबाट किनिदिने ब्यवस्था स्थानीय सरकारले गर्नुपर्ने हुन्छ।

किसानहरु, देशभित्रका युवा हरु र वैदेशिक रोजगारबाट फर्केका युवाहरुले एकल रुपमा वा कृषक समूह बनाएर अथवा कृषि सहकारी मार्फत कृषि कार्य गर्दा दक्ष प्राबिधिकको सल्लाह र स्थानीय सरकारसङ्गको सहकार्यमा कृषिसङ्ग सम्बन्धित विभिन्न ब्यवसायहरु जस्तैः पशुपालन, पङ्क्षीपालन, तरकारी खेती, मौरीपालन , मत्स्यपालन , फलफूल खेती, तरकारी तथा फलफूल नर्सरी , बेमौसमी तरकारी खेती लगायतका विभिन्न पेशाब्यवसायहरु गर्ने, उर्वर भुमी खेर जान नदिने र अन्य पेशामा आवद्ध हुने तथा सहरमा बस्नेहरूले पनि आफ्नो घर वरिपरिको करेसाबारी अथवा घरको छतमा पंक्षिपालन तथा कौसीखेती गरि कम्तिमा आफू र आफ्नो परिवार आत्मनिर्भर हुनेगरी उत्पादन गर्ने र बढी उत्पादन गरेमा बजारमा बिक्रीवितरण गर्ने गरेमा यसले भबिस्यमा आइपर्न सक्ने आर्थिक अभाव, बेरोजगारी , गरीबी, भोकमरी , खाद्यसङ्कट लगायतका बिकराल समस्या टार्न महत्वपूर्ण टेवा मिल्नेछ।

देशलाई आत्मनिर्भर बनाउने, देशको अर्थतन्त्रलाई माथी उकास्ने अनि बेरोजगारीको समस्या समाधान गर्नका लागि अबको गन्तव्य भनेको आधुनिक र ब्यवसायिक कृषि प्रणाली नै हो, यसलाई ब्यवस्थित बनाउन र प्रबर्द्धन गर्न सबै क्षेत्रको उल्लेख्य भुमिका अनिवार्य रहन्छ।

लेखक : त्रिभुवन विश्वविद्यालय पक्लिहवा कृषि क्याम्पसमा स्नातक तहमा अध्ययनरत हुनुहुन्छ ।।