यतिबेला विश्व नै संक्रमणको घडीमा गुमिरहेको बेला छ तर मानो रोपेर मुरी फलाउने किसानहरु भने यति बेला धानको बिउ राख्ने, जमिनको तयारी गर्ने र असार महिना लागे लगत्तै धान रोप्ने तयारीको चटारोमा ब्यस्त छन् । क्षेत्रफल र उत्पादनको हिसाबले धान नेपालको प्रमुख खाधान्न बालीको रुपमा चिनिन्छ । तर, धान बालीमा लाग्ने बढ्दो उत्पादन लागत, विभिन्न रोग किराको प्रकोप, समयमै मल तथा बिउको अभाव र बालीको राम्रो बजार भाउ नपाउदा यसमा संलग्न हुदै आएका किसानहरु आफ्नो परम्परागत खेति प्रणालीमा सन्तुष्ट देखिदैनन । यही कुरालाई मध्यनजर गरि धानबाट बढी उत्पादन लिन सकियोस भनि नेपालमा पनि सघन धान खेति प्रणाली भित्रिएको हो ।

एक दशक अगाडी बाटफ्रान्सको मेडागास्कर मा सुरुवात भएको यो प्रणालीमा हामीले धानलगाउने तरिका भन्दा केहि फरक छ । यो प्रबिधि नेपालमा भित्रियपनि प्रचारप्रसारको अभावले गर्दा किसानहरुले कम अपनाएको पाइन्छ । ८–१२ दिनको कलिलो बेर्ना, २५–३० सेन्टिमिटरको फरकमा एउटा एउटा बेर्ना रोपेर गोठको मल वा कम्पोष्टको बढी प्रयोग तथा कम पानी लगाएर धान खेति गरिने तरिका हो एस.आर.आइ. ।

सघन धान खेती प्रणालीका आधारहरु :
१. धान जलीय विरुवा होइन । धानका बोट पानी भएको अक्सिजन रहित वा अक्सिजनको कमी भएको वातावरणमा पनि बाँच्न सक्छन । तर, त्यस्तो वातावरण भएको माटोलाई तिनीहरु रुचाउँदैनन र मौलाउन सक्दैनन । आंशिक रुपमा डुबेको अवस्थामा रहेका धानका विरुवाका जरा जमिनको माथिल्लो तहमा मात्र रहन्छन । अधिकांश जरा धानको फूल खेल्ने बेलासम्म कमजोर भइसक्छन । अधिकतम पानी सोस्न सक्ने अवस्थाको चिस्यान भएको (संतृप्त) माटोमा भन्दा सामान्य चिस्यानमात्र भएको (आर्द) माटोमा जराहरु प्रशस्त बढ्ने हुँदा विरुवाले वढी मात्रामा पोषक तत्वहरु लिन र बढी गाज हाल्न सक्छ ।

२. बढी उमेरका वेर्ना रोप्दा रोपाईँदेखि फूल्ने बेलाको समय कम हुने हुँदा राम्ररी बढ्ने र गाँज हाल्ने समय कम पाउछन, त्यसैले उत्पादन कम हुन्छ । तर, कम उमेरको बेर्ना लगाउदा गांज हाल्ने क्षमता बढी हुन्छ ।

३. बेर्नालाई चोटपटक नपुर्याई उखेलेको १५ देखि २० मिनेटभित्र रोपिसक्नु पर्छ ।

४. मल, ठाउँ र प्रकाशका लागि धानका बोटहरुमा प्रतिस्पर्धा नहोस् भनेर टाढा टाढा रोप्नु पर्छ ।

५. माटोमा वायु सञ्चार बढाउन र सूक्ष्म जीवहरुका क्रियाकलापमा बढाउन रोटेटरि विडर (हातले चलाउन सकिने सानो औजार)ले गोड्नु पर्छ ।

६. माटोमा प्राङ्गारिक पर्दाथको मात्रा प्रशस्त छ र हावाको आवागमन भइरहेको छ भने जरा फैलन सजिलो हुन्छ ।

७. धान रोपेपछि केही समय पानी सुकाउने र केही समय डुबाउने गर्दा पानीमा हुने र सुख्खामा हुने दुवै किसमका सुक्ष्म जीवका क्रियाकलाप बढ्छ । यस्तो दुईखाले परिस्थितिले गर्दा त्यसबाट माटोले खाद्य तत्व बढी पाउँछ ।

सघन धान खेती प्रणालीका मुख्य सिदान्त :
१. कलिलो बेर्ना रोप्ने : सकेसम्म कलिलो अवस्थामा धानको बेर्ना रोप्नु पर्छ । सामान्यतया ८ देखि १२ दिनको अथवा २ पात, एक सुइरो हुँदा नै धानको बेर्ना सार्नु राम्रो हुन्छ । धानको बेर्नाले गाँज हाल्ने क्षमता ४ दिनदेखि बिस्तारै बढ्दै गएर ८ देखि १० दिनमा सबै भन्दा बढी भएको पाइएको छ । त्यसपछि बिस्तारै घटदै गएर २१ दिनको हुँदा यस्तो क्षमता निकै कम भइसकेको हुन्छ । त्यसै कारण अरु तरिका अपनाएर धान खेती गर्दा पनि सकेसम्म २१ दिनभित्र धान सारिसक्नु राम्रो हुन्छ ।

२. एउटामात्र बेर्ना रोप्ने : एक ठाउँमा एउटामात्र बेर्ना रोप्नाले त्यसका जरा चारैतिर समानरुपले फैलन्छन । बोटलाई जमिनमा राम्रोसँग अड्याउने काम गर्छन । यसो गर्दा प्रतिकुल परिस्थितिमा पनि धान बाली ढलेर नष्ट हुनबाट जोगिन्छ । एउटामात्र बेर्ना रोप्दा धानको बीउ निकै कम भए पुग्छ । त्यसैले यो तरिका अपनाई खेती गर्दा प्रति हेक्टर ५० देखि ७० किलो बीउ लाग्ने ठाउँमा ५ देखि ७ किलो मात्र बीउ भए पुग्छ ।

३. टाडा टाडा रोप्ने : सामान्यत यो तरिकामा बेर्नाको दुबैतर्फ कम्तीमा २५ सेन्टिमिटरको दूरी हुनु पर्छ । तर, धानको जात, माटोको उर्बरा शक्ति, माटोमा रहेको चिस्यान र अन्य ब्यवस्थापनका आधारमा यस्तो दूरी बढाउन पनि सकिन्छ । छोटो अवधिका (९० देखि ११० दिनमा पाक्ने)  धानका लागि २० सेन्टिमिटर, मध्यम अवधिका (१२० देखि १४० दिनमा पाक्ने) धानका लागि २५ सेन्टिमिटर तथा कान्छी मन्सुली-बासधान,मन्सुली तथा राधा– १२ जस्ता पाक्न लामो समय लाग्ने जातहरुलाई ३० सेन्टिमिटरको दूरीमा लगाउँदा बढी उत्पादन हुने देखिएको छ ।

४. कम पानी लगाउने : सामान्यतया हामी धान रोपेदेखि पाक्ने बेलासम्म लगातार पानी जमाएर राख्ने गर्छौँ । यसो गर्दा धानको जराको बिकास माटोको माधिल्लो भागमा मात्र सिमित भएर धान पसाउने बेलातिर ती जरा पनि सुकेर जान्छन । सघन तरिकाबाट खेती गर्दा धान रोपेदेखि पसाउने बेलासम्म माटोमा चिस्यान रहने तर पानी नजमाउने गरिन्छ । यसका साथै धानको गाँज आउने अवस्थामा २–३ पटकसम्म माटो फुट्ने गरी पानी सुकाउन सिफारिस गरिन्छ । यसो गर्दा धानका जराको विकास राम्ररी हुन्छ ।

धानको बोट बलियो भएर माटोको तल्लो भागबाट आफूलाई चाहिने खाद्यतत्व सोसेर लिन सक्छ । यसो हुँदा खडेरी वा पानीको कमी
रहेको अवस्थामा पनि खडेरी सहँदै राम्रो उत्पादन भएको पाइएको छ । तर, धान पसाउने बेलामा भने धान खेतमा हल्का पानी जमाउनु राम्रो हुन्छ । पहिलेका बोटमा धान पसाउने बेलामा पनि विरुवाको गाँज आउने क्रम रहिरहन्छ । त्यसरी पछि आएका गाँज वा सरा ढिलो पसाएर ढिलै
पाक्छ । यसरी पहिले पसाएको धान एकातिर पाकी सकेको हुन्छ भने पछि पसाएको पछि पाक्दा धान काट्न असजिलो हुन्छ । फेरि पछि पसाएको गाँजमा कहिले काहीँ दाना नलाग्न पनि सक्छ । त्यसैले पहिलेका गाँज पसाउने बेलामा अरु गाँज आउन नदिन पनि वा गाँज आउँनबाट रोक्नका लागि पनि पानी जमाई दिनु उपयोगी हुन्छ ।

५. गोठे मल वा कम्पोष्ट मलको प्रयोग सघन धान खेती प्रणालीमा बढी भन्दा बढी प्राङ्गारिक वा गोठे मलप्रयोग गर्ने सल्लाह दिने गरिन्छ। यस्ता मलबाट बिरुवाले सन्तुलित खाद्यतत्व पउँछन । विरुवा राम्ररी सप्रेर धेरै उत्पादन दिन्छन ।

सघन धान खेती गर्ने तरिका :
जात छनौट :
सघन धान खेती प्रणालीबाट खेतीका लागि उन्नत, वर्णशङ्कर वा स्थानीय सबै किसमका जात प्रयोग गर्न सकिन्छ । तर, ११० देखि १४० दिनमा पाक्ने, बढी गाँज आउने, प्रशस्त जरा फैलाउने जातलाई रोज्नु पर्छ । नेपालका विभिन्न ठाउँमा प्राप्त अनुभवहरुले सावित्री, चैते– २, राधा– ४, सुनौलो सुगन्ध, सर्जु– ५२, मन्सुली, राधा– १२, वासमती आदि जातमा राम्रो सफलता पाइएको छ ।

बीउदर :
सघन धान खेती प्रणालीका लागि प्रति हेक्टर ५ देखि १० किलो बीउ चाहिन्छ ।

बीउ छान्ने तरिका :
उम्रने बीउमात्र छान्नका लागि बाल्टी वा भाँडोमा पानी भरेर त्यसको पिँधमा कुखुराको नबिग्रेको अण्डा राख्ने । त्यो पानीमा खाने नुन थप्दै जाने । अण्डा पानीमा उत्रेपछि नुन थप्न बन्द गर्ने । बीउलाई पानी भरिएको भाँडोमा राखेर हातले राम्ररी चलाएर २ देखि ५ मिनेट जति त्यतिकै छाडी दिने । उत्रेको बीउ हटाउने र पिँधमा थिग्रिएको बीउलाई तुरुन्तै सफा पानीमा २ देखि ३ पटक राम्ररी सफा गर्ने ।

बीउको उपचार :
बीउलाई उपचार गर्न प्रति किलो बीउमा २ ग्राम बेभिष्टिन नामक बिषादि राम्ररी चलाएर सबैतिर मिलाउनु पर्छ । यसरी उपचार गरिएको बीउलाई १२ घन्टा राखेर भिजाउनुपर्छ । २४ देखि ४८ घण्टासम्म ढड्याउँदा बीउमा अङ्कुरण भइसकेपछि मात्र ब्याड (नर्सरी)मा छर्नुपर्छ ।

ब्याडको तयारी :
सघन धान खेती प्रणालीमा हिले भन्दा धुले ब्याड राख्नु राम्रो हुन्छ । धुले ब्याडको माटोलाई रोगकीराबाट मुक्त गर्न सोलराइजेसन प्रविधि प्रयोग गर्न सकिन्छ । अङ्कुरण भएको बेर्नालाई ब्याडमा राख्नु भन्दा एक महिना अघिनै ब्याडको माटो तयार पारेर एकदेखि डेढ मिटर चौडा तथा आवश्यकता अनुसार लम्बाई भएको केही उठेको ब्याड तयार गर्नुपर्छ । टुसाएको बीउ पातलो गरी छरेर माटोले हलुकासँग छोपेर हलुका सिञ्चाई गरिदिए ८—९ दिनभित्रै १४—१५ सेन्टिमिटर अग्लो बेर्ना तयार हुन्छ ।

बेर्नाको तयारी :
धानको बेर्ना टुसाएको ८—१० दिन पछि रोप्नका लागि तयार हुन्छ । यो अवधिमा बेर्नाको दुईवटा पात र एउटा सुइरो आएको हुन्छ । धानको दाना बेर्नामा टासिएकै अवस्थामा हुन्छ । यस्तो अवस्था आउन मौसम अनुसार गर्मीमा ८ दिन लाग्नसक्छ भने ठन्डामा १२ दिन पनि लाग्न सक्छ । चाँडै बेर्ना तयार गर्न हिले ब्याडको साटो धुले ब्याड राख्नु पर्छ । वेर्नाको विकास त्यति राम्रोसँग हुनसकेन भने युरियाको घोल छर्कन सकिन्छ । त्यसका लागि ३०० ग्राम युरियालाई ६० लिटर पानीमा घोलेर छर्कनु पर्छ ।

जग्गाको तयारी :
धान रोप्नु भन्दा ३ देखि ४ हप्ता अगाडि नै राम्ररी खनजोत गरी झारपात कुहाएर माटोमा प्रशस्त पाकेको गोबर वा कम्पोष्ट मल मिसाएर माटोको तयारी गर्नुपर्छ । प्राङ्गारिक मल कम हुने कृषकले प्राङ्गारिक मलको आपूर्तिका लागि हरियो मल वा ढैँचाको प्रयोग गर्न सक्छन । यसो गर्दा प्राङ्गारिक पदार्थका साथै नाइट्रोजनको आपुर्ति पनि हुन्छ । रोप्नुभन्दा दुई साता अगाडि माटो संतृप्त हुनेगरी सिञ्चाइ गर्नु पर्छ । खेतमा सुविधाजनक आकारका गह्रा बनाई आलिमा भएका झारपात हटाउनु पर्छ ।

रोप्नु भन्दा ७२ घण्टा अगाडि फेरि पानी लगाएर माटोलाई हिल्याउनु पर्छ । ५ देखि १० सेन्टिमिटर जमेको पानीमा डल्लाहरु पुरै फुट्ने गरी हिल्याउनु पर्छ । अन्तिम हिल्याउने बेलामा धानका लागि चाहिने जति फस्फोरस र पोटास मिलाएर छर्नुपर्छ त्यस्तै आवश्यक नाइट्रोजन चाहिँ आधा छर्ने । यसरी तयार पारेको जग्गामा पानी कटाएर हिलोमात्र राखेर रोप्न तयार गर्नु पर्छ । बेर्ना सार्ने वा धान रोप्ने बेर्ना उखल्ने अघिल्लो दिन ब्याड (नर्सरी)मा सिञ्चाई गर्नुपर्छ । त्यसो हुँदा बेर्नाको जरालाई क्षति नहुनेगरी माटो सहित बेर्ना उखेल्न सकिन्छ । बेर्ना उखल्ने र रोप्ने काम सँगसँगै गर्नु पर्छ । त्यसका लागि धान रोप्ने खेत नजिकै ब्याड बनाउनु राम्रो हुन्छ ।

नर्सरीबाट माटोसँगै उखलेको बेर्नालाई त्यसको जरामा धेरै नोक्सानी नगरी सार्दा बेर्ना चाडै सरेर बढ्न थाल्छन । बेर्नालाई धेरै गहिरो पारेर रोप्दा तिनको जरा माथितिर फर्केर जरा बढ्ने त्रमm ढिलो हुन्छ वा नकारात्मक असर पर्न सक्छ । त्यसैले तयार गरेको खेतको पानी कटाएर धान रोप्न सुरु गर्नु राम्रो हुन्छ ।

मलखाद ब्यवस्थापन :
सघन प्रणालीबाट धान खेती गर्दा रासायनिक मलभन्दा प्राङ्गारिक वा गोठको मलको प्रयोगलाई बढी जोड दिइन्छ । त्यसकारण यो तरिका अपनाउने कृषकले आफ्नो खेतमा सकेसम्म बढी प्राङ्गारिक वा गोठको मल प्रयोग गर्नु पर्छ । प्राङ्गारिक वा गोठको मल प्रशस्त नहुने ठाउँमा भने सन्तुलित रुपमा रासायनिक मल तथा जिङ्क लगायतका सुक्ष्मतत्वहरुको प्रयोग गर्नु फाइदाजनक हुन्छ । त्यस्तै प्राङ्गारिक मलका लागि कोशेबाली वा हरियो मल पनि प्रयोग गर्न सकिन्छ । यसबाट प्राङ्गारिक पदार्थका साथै नाईट्रोजन लगायतका रासायनिक तत्वको आपूर्ति पनि
हुन्छ ।

धान रोप्नु अघि हिल्याउँदा फस्फोरस र पोटास हालिसकिएको हुन्छ । त्यसपछि यी तत्व हाल्नु पर्दैन । आधा नाइट्रोजन हिल्याउँदा नै हालिएको हुन्छ । बाँकी रहेको आधा भाग नाइट्रोजनलाई फेरि आधा आधा गरेर धान गाँजिन थाल्दा र पसाउँन थाल्दा गरी दुई पल्ट छर्नु पर्छ ।

पानी ब्यवस्थापन :
सघन धान खेती प्रणालीमा पानी व्यवस्थापनमा विशेष ध्यान दिनु पर्छ । बालिको वानस्पतिक बृद्धि अर्थात गाँजिने अवधिभरि निम्न दुई तरिकाले सिञ्चाई गर्न सकिन्छ्र ।
१. माटोमा चिस्यान (आर्दता) राख्न दिनहुँ न्यूनतम पानी लगाउनु पर्छ । पानी धेरै हालेर माटो संतृप्त हुन दिनु हुँदैन । खेतमा पानी जम्न दिनु हुँदैन । यसो गर्न साँझतिर थोरै मात्र पानी पटाएर भोलिपल्ट विहान खेतमा जमेको पानी हटाइ दिनुपर्छ । त्यसपछि ६ देखि ७ दिनसम्म पानी बन्द गरेर खेतमा धाँजा पर्न सुरु हुने अवस्था बनाउनु पर्छ ।

२. वानस्पतिक वृद्धिको अवधिमा (३ देखि ६ दिनसम्म) खेतमा पानी जमाएर राख्ने र त्यसपछि ३ देखि ६ दिनसम्म पानी निकास गरेर माटो सुख्खा राख्ने । धान पसाउने बेलादेखि काट्नुभन्दा १५ दिन अगाडिसम्म खेतमा छिपछिपे (१ देखि २ से.मि) पानी जमाउनु पर्छ ।
झारपात ब्यवस्थापन वा गोडमेल सघन तरिकाबाट खेती गर्दा धान खेतमा पानी जमाएर नराखिने हुँदा गोडमेल गरेर सबै झार हटाउनु पर्छ ।
रोटेटरि विडर मेसिनको सहायताले रोपेको १५ दिनपछि पहिलो गोडाइ र त्यसको १० देखि १५ दिनको फरकमा २ देखि ३ पल्ट अनिवार्यरुपले गोड्नु पर्छ ।

सघन धान खेती प्रणालीबाट हुने फाइदा :
♦ धानको उत्पादन बढ्छ अर्थात धेरै धान पल्छ,
♦ पानी कम चाहिन्छ,
♦ राम्रो माटो र पानी व्यावस्थापन भएर
– रोगकीरा कम लाग्छ,
– बढी गुणस्तरका दाना फल्छन
– माटो बढी मलिलो हुन्छ,
♦ बीउ कम चाहिन्छ,
♦ किसानले यतिबेलासम्म खेती गर्दा जे जे साधन प्रयोग गरिरहेको हो त्यो भन्दा बढी अरु कुरा यसका लागि
चाहिँदैन ।
♦ स्थानीय बीउ प्रयोग गर्न सकिन्छ ।
यसरी धान खेती गरेका ठाउँमा बिरुवा सानो र टाढा–टाढा हुने हुँदा एक महिनापछि धान एकदम नराम्रो जस्तो देखिन सक्छ । तर यसबेला जरामा मुख्य विकास भइरहेको हुन्छ । दोस्रो महिनामा धानले गाँज हाल्न सुरु गर्छ । तेस्रो महिनामा एकदम छिटो गाँजको बृद्धि हुन्छ । उत्पादनको हिसाबमा साधारण किसानले २,३,४ गुणासम्म उत्पादन बृद्धि भएको देखिएको छ । तसर्थ खाध्य सुरक्ष्याको लागि धान उत्पादन मा जोड दिन एस .आर.आइ. प्रणाली अपनाउन किन ढिलो गर्ने ?

लेखक : त्रिभूवन विश्वबिद्यालयमा स्नाकोतर अध्ययनरत हुनुहुन्छ ।