वीरगञ्ज। वीरगञ्ज सिरहा, महोत्तरी तथा रौतहट जिल्लाका किसानले व्यावसायिकरुपमा खेती गरेका तरबुजा बजारसम्म पुर्याउन नसक्दा समस्यामा परेका छन् ।

कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा ती जिल्लाका करिब रु पाँच करोड मूल्यबराबरको खरबुजा खेतमै कुहिएको बताइएको छ ।

सिरहा नगरपालिका वडा नं १७ का करिब ५०० भूमिहीन किसानले कमलानदीको बगरमा करिब ५०० व्यावसायिकरुपमा तरकारी तथा तरबुजाखेती गर्दै आएकामा थिए । लकडाउनका कारण बजारसम्म लैजान नसक्दा सो जिल्लामा करिब रु दुई करोडभन्दा बढीको क्षति भएको किसान कारिचरण सदाले जानकारी दिए ।

उनी भन्छन् “ऋण काढेर कमलानदीको बगरमा हरियो तरकारी तथा तरबुजाको खेती गरेका थियौँ ।
बजारसम्म लैजान नसक्दा ऋण पनि थपियो । परिश्रम पनि खेर गयो ।”

बेमौसमी वर्षा र लकडाउन जारी रहँदा उत्पादित तरकारी बजारसम्म लान नसक्दा किसान मेहनत खेर गएको छ । प्रदेश नं २ सरकारले त्यस्ता किसानको पहिचान गरी क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।

महोत्तरी जिल्लाको उत्तरी भेग भङ्गहा, गौशाला, बलुवा, लोहारपट्टिलगायत गाउँका किसानले सयौँ बिघामा व्यावसायिकरुपमा लगाएका तरबुजा समेत बजारसम्म पुर्याउन नसक्दा समस्यामा परेका बताइएको छ ।

पाकेको तरबुजा बजारसम्म पुर्याउन नसक्दा आर्थिक मारमा परेको गौशालाका किसान हजारी साहको गुनासो गरे । उनले लकडाउन अझै थपिए किसानले उत्पादन गरेको तरबुजा खेतमा सड्ने र परिश्रम र लगानी खेरजाने बताए ।

तरबुजा स्वास्थ्यको दृष्टिकोणले ज्यादै फाइदाजनक मानिन्छ । उत्पादित तरबुजा बजारसम्म जान नसकेको अर्का किसान रामकृष्ण यादवको गुनासो छ ।
यहाँ उत्पादित तरबुजा स्थानीय बजार, काठमाडौँ, हेटौँडा, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज, गोलबजार सिरहा, धरान, विराटनगरसम्म जाने गर्दथ्यो ।

रौतहट जिल्लामा उत्पादित तरबुजा बजारसम्म पु¥याउन नसक्दा क्षति बेहोर्नुपरेको किसानले गुनासो गरेका छन् ।

यसवर्ष डेढ बिघामा तरबुजाखेती गरेका स्थानीय जिँगडियास्थित किसान राजाराम साहले भने “अघिल्लो साल तरबुजा बिक्रीबाट राम्रो आम्दानी गरेको तर यो वर्ष लकडाउनपछि बजारसम्म पुर्याउन नसकेका कारण घाटा व्यहोर्नु पर्यो । ”

बैंकबाट रु चार लाख ५० हजार ऋण लिएर सो खेतीमा लगानी गरेको तर यो वर्ष समयमै बजार पुर्याउन नसकेका कारण गोदाम तथा खेतबारीमै कुहिन थालेको उनले चिन्ता व्यक्ति गरे ।

यसपटक उत्पादन भएको १० क्विन्टलभन्दा बढी तरबुजा गोदाममै रहेको उनको भनाइ छ ।

प्रतिकट्ठा १५ क्विन्टलसम्म तरबुजा फलेको भए पनि लकडाउनका कारण बजार नपाउँदा आर्थिक भार व्यहोर्नु परेको उनले दुखेसो पोखे ।