पाल्पा। पाल्पाको हावापानीमा किवी खेतीको सफल परीक्षणपछि यस खेतीतर्फ किसानको आकर्षण बढेको छ । पहाडी जिल्ला पाल्पामा पहिलोपटक परीक्षणका रूपमा किवी खेती खरिएको हो ।

परीक्षणकै लागि रोपिएको किवीले प्रशस्त फलसँगै आम्दानीसमेत बढेपछि किसान यसको व्यावसायिक खेतीतर्फ लम्किन खोजेका छन् । पूर्वखोलास्थित जल्पा र माथागढीको ओलेसमा किवी खेतीको सफल परीक्षण भएको छ ।

चार वर्षअघि जल्पाको ढोलीमारा र माथागढीको ओलेसमा परीक्षणकै रूपमा रोपिएको किवीबाट राम्रो फल फल्न थालेको छ । किवीको उत्पादन हुन थालेपछि किसान बिरुवाको खोजीमा भौंतारिएका हुन् ।

व्यावसायिक खेती गरी प्रशस्त आम्दानी हुने सम्भावना रहेको पूर्वखोला–२, ढोलीमाराका स्थानीय बासिन्दा भीमबहादुर सारुले बताए । चार वर्षअघि रोपिएको एक भाले र नौ पोथी किवीको बिरुवाले गत वर्षदेखि उत्पादन हुँदै आएको उनले बताए ।

‘चार वर्षअघि कबुलियती वन कार्यक्रममार्फत एक सेट हेवार्ड जातको किवीको बिरुवा पाएका थियौं’, उनले भने, ‘गत वर्ष फल देखिएको थियो, यो वर्ष राम्रै फलेको छ ।’

नेपालको पूर्वी भेगका पहाडी जिल्लाहरूमा किवीको व्यावसायिक खेती गरिए पनि पश्चिम नेपालमा किवी व्यावसायिक खेती गर्न थालिएको भर्खरै हो । ‘किवी खेतीका बारेमा सुन्दै आए पनि पाल्पामा खेती सफल हुन्छ भन्ने लागेकै थिएन’, ढोलीमाराका स्थानीय बासिन्दा भुवन बाह्रघरेले भने । अहिले राम्रो फलेको देख्दा खुशी लागेको उनले बताए ।

किवीको खेती सफल भएपछि गाउँपालिकाले समेत जल्पाको ढोलीमारा, मैदान र साठीकोललाई पकेट क्षेत्र बनाउने योजना अघि सारेको छ । गाउँपालिकाले किवी खेतीसम्बन्धी तालीमसमेत सञ्चालन गरी किसानलाई थप प्रोत्साहन गरेको छ ।

पूर्वखोला गाउँपालिकाले जल्पाको तीनवटा गाउँलाई किवीको पकेट क्षेत्र बनाउन बजेट विनियोजन गरेर काम अघि बढाएको गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिए ।

पछिल्ला वर्ष नेपालमा किवी खेतीप्रति किसानको आकर्षण बढेको छ । अहिले प्रतिकिलो रू।५०० देखि ८०० सम्म किवीको कारोवार हुँदै आएको पाइन्छ ।

गाउँपालिकाले चालू आव २०७६/ ७७ मा किवीको पकेट क्षेत्रका रूपमा विकास गर्न रू।२ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले १० सेट हेवार्ड जातको किवीको बिरुवा वितरण गरिसकेको छ ।

खाल्डो खन्न, मल किन्नसमेत किसानलाई अनुदान दिइने गाउँपालिकाका कृषि प्राविधिक सन्तोष कँडेलले बताए ।

किवी खेतीका लागि उत्तरतर्फ फर्किएको जग्गा उत्तम हुन्छ । १ हजार २०० देखि २ हजार मिटर उचाइको जग्गामा राम्रो फल फल्ने गर्दछ । पाल्पाको पूर्वखोला गाउँपालिका, माथागढी र बगनासकाली गाउँपालिकाको चापपानीमा समेत किवी खेती गरिएको थियो । कम मिहिनेतमा राम्रो आम्दानी हुने भएपछि किसानको नजर किवीमा गएको छ ।