पर्वत। पर्वत र बागलुङमा ‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु गरिने भएको छ । कृषि ज्ञान केन्द्र पर्वतले दुबै जिल्लाका १७ स्थानीय तहमा विशिष्ट क्षेत्र पहिचान गरी अर्गानिक कृषि उपज उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले सामूहिक रुपमा गरिने कृषि फर्ममा ६० र एकल फर्ममा ५ रोपनी क्षेत्रमा उक्त खेती विस्तार गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

अहिले कार्यक्रम कार्यान्वयन पूर्व सम्भावित क्षेत्रको पहिचान गर्न शुरु गरिएको रेग्मीले बताउनुभयो । उक्त खेतीप्रति किसानको आकर्षण बढाउन कार्यालयले अनुदान, तालिम र बजारीकरणको व्यवस्था गर्ने भएको छ ।

कार्यक्रमका लागि कार्यालयले रु. १ करोड भन्दा बढी अनुदान वितरण गर्ने रेग्मीले बताउनुभयो । पछिल्लो समय तरकारी, फलफूल, नगदेबाली आदिमा विषादीको अत्यधिक र अनधिकृत प्रयोग बढ्दै गएपछि अर्गानिक खाद्यान्नको महत्व बढ्दै छ ।

गाउँ गाउँमा खुलेका होमस्टे र विदेशी पर्यटक आउने होटलमा स्थानीय उत्पादनको माग बढ्न थालेको छ । त्यस्तो खानाको माग बढ्दै गएपनि उत्पादन नगन्य रहेको छ । गतवर्ष देखि गण्डकी प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले शुरु गरेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रमले पनि अर्गानिक उत्पादनलाई बढवा दिएको छ ।

सो खेती विस्तारका लागि कृषि प्राविधिक, कृषक, कृषि उद्यमी लगायतलाई दुईदिने तालिम पनि कार्यालयले दिएको छ ।

तालिममा ३५ जना सहभागी भएका थिए । तालिम पश्चात अव क्षेत्र निर्धारण गरेर सो खेती विस्तार सम्बन्धी कार्यक्रम शुरु गरिने कृषि विकास अधिकृत रामकृष्ण अर्यालले जानकारी दिनुभयो ।