ललितपुर। सर्लाही वाग्मतीका एक युवाले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वैदेशिक रोजगारबाट स्वदेश फर्किएका वाग्मती नगरपालिका वडा नं १० शङ्करपुरका ध्रुवप्रसाद चौलागाईंले च्याउको बीउ उत्पादन गरेर नयाँ उदाहरण प्रस्तुत गरेका छन्। उनले च्याउको बीउ बिक्री गरेर मासिक एक लाख २० हजार रुपैयाँ आम्दानी गर्छन् ।

दुई वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आएका उद्यमी चौलागाईँले दुई महिनादेखि आफैँ च्याउको बीउ उत्पादन गर्न शुरुआत गरेका थिए । २५० ग्रामको दैनिक एक हजार कन्य च्याउको बीउका प्याकेट उत्पादन गरिरहेको उनले जानकारी दिए। उनका अनुसार यसअघि च्याउको बीउ लिनका लागि हेटौँडा, काठमाडौँ जस्ता ठूला शहरमा यहाँबाट धाउनुपथ्र्यो ।

अहिले वाग्मतीमै च्याउको बीउ उत्पादन भएपछि यस क्षेत्रका व्यावसायिकरुपमा च्याउखेती गर्ने किसानलाई सजिलो भएको छ । उनले अहिले करिव ३० लाखमा च्याउ उत्पादन गर्ने उपकरण किनेका छन्। उनले भने“ म दैनिक १ हजार च्याउको बीउको प्याकेट उत्पादन गर्छु ।” स्थानीय बजारमा पनि च्याउको माग अत्यधिक रहेकाले च्याउ र बीउ बिक्री गर्न खासै बजारको समस्या नभएको उहाँकोे कथन रहेको छ । करिव ४० रुपैयाँका दरले प्रतिप्याकेट स्थानीय कृषकलगायत सिन्धुली, रौतहट, महोतरीका किसान र कृषि ज्ञानकेन्द्र सर्लाहीलाई बीउ बिक्री गरिरहेको उनी बताउछन ।

उनले च्याउको बीउ उत्पादन गर्ने काममा स्थानीय तीन जना युवालाई रोजगारी दिएका छन । यही व्यवसायको कमाइबाट चार कठ्ठा जमिन जोडिसकेका छन ।

अहिले उनले कृषि फार्म नै दर्ता गरेर च्याउ र च्याउको बीउ उत्पादन गर्दै आइरहेका छन्। स्वदेशमै केही गरौ भनेर २०७४ सालदेखि व्यावसायिक च्याउखेती शुरु गरेको जानकारी दिए। खासगरी चिसो मौसममा च्याउको खेती हुने गर्छ ।

उनले अझ बढी फाइदा लिनका लागि बेमौसमी च्याउखेतीका लागि घरको दुई वटा कोठालाई चिसो बनाई राख्न इयर कन्डिसनसमेत जडान गरिएको बताए। कृषि ज्ञानकेन्द्र मलङ्गवाका प्रमुख देवानन्द राय यादवले भने “रोजगारीका लागि विदेशमै जानुपर्छ भन्ने छैन । मेहनत र सीप भए स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । ”

विदेश जाने मोह बोकका युवाका लागि विदेशभन्दा राम्रो कमाई स्वदेशमै गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् वाग्मतीका ध्रुव चौलागाईं । उनले पछिल्लो समय सर्लाहीमा च्याउखेती गर्ने किसानको सङ्ख्या बढेको छ । च्याउखेती गर्ने किसानको सङ्ख्यामा वृद्घि भएको प्रमुख यादवले जानकारी दिए।